यसै साताभित्र भारतबाट खोप आउने

काठमाडौँ । भारतले निःशुल्क दिन लागेको कोभिड–१९ विरुद्धको खोप एक साताभित्र आइपुग्ने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ। नेपालमा ‘कोभासिल्ड’ नामको खोपले अनुमति पाइसकेको र त्यही खोप भारतबाट आउन लागेको महाशाखाले जनाएको हो। ‘एक साताभित्र आइपुग्छ, अर्को सातादेखि लगाउन सुरु गर्छौं,’ महाशाखा प्रमुख डा. तारानाथ पोख्रेलले  भने।

प्रमुख पोख्रेलका अनुसार सरकारले खोप आउनेबित्तिकै लगाउने मिति घोषणा गर्नेछ। आवश्यक तयारी पूरा भइसकेको हुनाले खोप आउनेबित्तिकै लगाउन सुरु गर्न सकिने उनले बताए। हालसम्म खोपको आपूर्ति तयारी, कोल्डचेन भण्डारण, स्वास्थ्यकर्मीलाई तालिम दिने, प्रचार–प्रसारका लागि पर्चा तथा सूचनाको तयारी र खोपले पार्ने असरका लागि उपचार तयारी पूरा भइसकेको सम्बन्धि खबर नागरिक दैनिकमा प्रकाशित छ । ‘एक साताभित्र जिल्लाजिल्लामा पुर्‍याउने काम सकिन्छ, अर्को साता लगाउन सुरु भइहाल्छ,’ उनले भने।

नेपालमा आउन लागेको खोप पहिलो चरणमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा काम गर्ने अन्य कर्मचारी, सेना तथा प्रहरीलगायतलाई दिइनेछ। यो खोप लगाएकामा विभिन्न असर देखिएको तथ्यांक भारतीय स्वास्थ्य मन्त्रालयमार्फत सार्वजनिक भए पनि एकै पटक धेरैको संख्यामा दिँदा उल्लेखनीय संख्यामा साइड इफेक्ट देखिएको कोभिड–१९ खोप व्यवस्थापनका संयोजक डा. श्यामराज उप्रेतीको भनाइ छ। भारतमा भएको अनुसन्धानपछि मात्र नेपालमा खोप दिने समय तय हुने भएकाले खोप अभियानमा थप सजक हुन सजिलो हुने डा. पोख्रेलको भनाइ छ।

यो खोपले हुने साइड इफेक्टभन्दा कोरोना संक्रमणले हुने जोखिम मृत्युसम्मको भएकाले खोप दिनु उचित भएको उप्रेतीको सुझाव छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?