वीरगञ्ज नाकाबाट २१० अर्बको आयात हुँदा निर्यात १९ अर्ब मात्र

वीरगञ्ज । मुख्य नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ६ महीनामा २ खर्ब १० अर्ब रुपैयाँबराबर मूल्यको आयात हुँदा १९ अर्ब रुपैयाँको निर्यात व्यापार भएको छ । वीरगञ्ज भन्सार कार्यालय हुँदै भएको आयातनिर्यातमा मात्रै १ अर्ब ९० अर्ब रुपैयाँ व्यापारघाटाको तथ्यांक छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार यो नाकाबाट चालू वर्षको साउनदेखि पुससम्मको अवधिमा कुल व्यापार २ खर्ब २९ अर्ब रुपैयाँबरार भएको छ । यो गत आर्थिक वर्ष २०७६/७७ को समीक्षा अवधिको तुलनामा १० प्रतिशत कम हो । यो नाकाबाट मुख्य रूपमा इन्धन, सवारीका साधन, औषधि र औद्योगिक कच्चा पदार्थ भित्रिएका छन् । कच्चा पदार्थमा भटमासको कच्चा तेल, कोइला, सुर्ती, एचआरसीट, बिलेटलगायत वस्तु आयात भएको भन्सार अधिकृत रमेश सुकमनीले जानकारी दिए ।

वीरगञ्ज नाकाबाट हुने समग्र आयात भने घटेको छ । ‘आयातको आकार अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा करीब १२ प्रतिशतले घटेको छ । गतवर्ष साउनदेखि पुससम्ममा २ खर्ब ३८ अर्ब रुपैयाँको आयात भएको थियो,’ अधिकृत सुकमनीले भने ।

निर्यात ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको पुससम्म १८ अर्ब रुपैयाँबराबरको मालसामान निर्यात भएको तथ्यांक वीरगञ्ज भन्सारसित छ । गतवर्ष यो नाकाबाट प्रशोधित पाम आयल निकासीको शीर्ष स्थानमा थियो । भारतले आयातमा रोक लगाएपछि निकासी ठप्प भएको खबर आर्थिक अभियान दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?