दिक्तेल–काठमाडौं फोटन माइक्रो भ्यान सेवा शुरु

RSS
0
Shares

खोटाङ । सुपर खोटाङ–भोजपुर यातायात प्रालिले दिक्तेल–काठमाडौं फोटन माइक्रो भ्यान सेवा शुरु गरेको छ । बस तथा जीप सेवा प्रदान गर्दै आएको यातायात प्रालिले आज (मंगलवार) दिक्तेल बजारस्थित होटल शुभदिनमा औपचारिक कार्यक्रम गरेर दिक्तेल–काडमाडौं फोटन माइक्रो भ्यान सेवा शुरु गरेको हो ।

सर्वसाधारणलाई सुलभ र भरपर्दो यातायात सेवा दिन खोटाङमा पहिलो पटक १९ सिटको सुपर फोटन माइक्रो भ्यान सेवा सञ्चालन गरिएको प्रालिका अध्यक्ष आइतलक्ष्मी राईले बताइन् । “पहिलो चरणमा फुडन कम्पनीका दश वटा सुपर फोटन माइक्रो भ्यान सेवा सञ्चालनमा ल्याएका छौँ”, उनले भनिन्, “स्वच्छ प्रतिस्पर्धालाई आत्मसाथ गर्दै आम यात्रुलाई गुणस्तरीय सेवा दिन हामी प्रतिबद्ध छौँ ।”

सुपर फोटन माइक्रो भ्यान सवारी साधानमा हिटर, कुलरसँगै जीपिएल सिष्टम, एलसिडी मनिटरलगायतका सुविधा रहेको यातायात प्रालिका अध्यक्ष राईले जानकारी दिए । माघ ७ गते अर्थात भोलि बुधवार देखि दिक्तेलबाट दैनिक बिहान ६ बजे र काठमाडौंबाट पनि बिहान ६ बजे फोटन माइक्रो भ्यान छुट्ने जनाइएको छ ।

दिक्तेल–काठमाडौं तथा काठमाडौं–दिक्तेलको एकतर्फी भाडा प्रतिव्यक्ति एक हजार ६०० निर्धारण गरिएको जनाइएको छ । दिक्तेल–काठमाडौं तथा काठमाडौं–दिक्तेलको एकतर्फी भाडा जिल्ला प्रशासन कार्यालयमार्फत प्रतिव्यक्ति जीपमा एक हजार ४५० र बसमा एक हजार २०० निर्धारण गरिएको छ ।

भौगोलिक चुनौती रहेको भए पनि यात्रुहरुलाई प्रभावकारी सेवा दिन नयाँ रणनीतिक योजनाका साथ अघि बढ्ने प्रालिले कार्ययोजना बनाइरहेको अध्यक्ष राईले जानकारी दिइन् । जिल्लामा पहिलो पटक सञ्चालनमा ल्याइएको फोटन माइक्रो भ्यान सेवा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले रिबन काटेर औपचारिक रूपमा उद्घाटन गरेका छन् ।

सो अवसरमा उनले माइक्रो भ्यान सेवा सञ्चालनमा नगरपालिकाको तर्फबाट उपलब्ध गराउनुपर्ने सहयोगमा कुनै कमी नहुने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायमा प्रमुख तथा यातायात व्यवसायीको उपस्थिति रहेको थियो ।

दश स्थानीय तह रहेको जिल्लामा दर्जनभन्दा बढी यातायात प्रालिद्वारा सञ्चालित सयौँको सङ्ख्यामा बस तथा जीप सेवा सञ्चालनमा छन् । मध्यपहाडी लोकमार्गले छोएको खोटाङ जिल्लाबाट राजधानी काठमाडौं तथा तराईका विभिन्न जिल्लासँग सिधा यातायात सेवा जोडिएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडक कालोपत्रको काम भर्खरै मात्र सम्पन्न भएर सञ्चालनमा आएको जिल्लामा पछिल्लो समय यातायात व्यवसायीबीच कडा प्रतिस्पर्धा भएको छ । यातायात व्यवसायीबीच एक अर्कामा प्रतिस्पर्धा हुँदा यात्रा गर्ने सर्वसाधारणलाई भने सहज भएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?