म्याद सम्झौता अगावै स्वास्थ्य केन्द्रको भवन हस्तान्तरण

RSS
0
Shares

मकवानपुर । मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा ठेक्का सम्झौताको म्याद अगावै आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । बकैया गाउँपालिका–३ हात्तीसुँढेमा निर्माण गरिएको चारकोठे स्वास्थ्य केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

भवन निर्माणको ठेक्का पाएको विवेक विनिता निर्माण सेवाले बकैया–३ को स्वास्थ्य केन्द्रको भवन सम्झौताको म्यादभन्दा एक महिना अगावै निर्माण गरेको थियो । निर्माण कम्पनीका प्रमुख राजनप्रसाद बोलखेले भने, “हामीले पुसको २० गते नै निर्माण सम्पन्न भएको जानकारी दिएका थियौँ, सम्झौताअनुसार भवन निर्माणको म्याद भने माघ २० गतेसम्मका लागि रहेको छ ।”

गत भदौ २९ गते एकै दिन बकैया गाउँपालिका–३ र ७ को आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास गरिएको थियो । यो अवधिमा दशैँ–तिहारजस्ता चाडपर्व परे पनि निर्माण कम्पनीले तीव्ररुपमा काम अघि बढाएको थियो । वडा नं ७ को भवन पनि निर्माणको अन्तिम चरणमा पुगेको बोलखेले बताए ।

बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले गाउँपालिकाका सबै नागरिकलाई आधारभूत स्वास्थ्यको पहुँचमा पुर्याउन प्रत्येक वडामा एक–एक आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भइरहेको बताए । चालु आर्थिक वर्ष २०७७-७८ को गाउँपालिकाको बजेटबाट काम गर्ने गरी सबै भवनको ठेक्का विवेक विनिता निर्माण सेवाले पाएको थियो । गाउँपालिकाको २७ लाख बजेटमा १२ पिलरको चारकोठे भवन निर्माण गरिएको निर्माण सेवाका प्रमुख बोलखेले जानकारी दिए ।

विद्यालयलाई कम्प्युटर सहयोग

सानो उमेरमा आफू अध्ययन गरेको विद्यालयको वर्तमान स्थिति के होला रु ‘खोला तर्यो, लौरो बिर्स्यो’ भनेजस्तो ठ्याक्कै नभए पनि धेरैलाई आफू पहिले पढेको विद्यालयको अवस्थाबारे थाहा नहुन सक्छ । मकवानपुरको थाहा नगरपालिका–२ स्थित सरस्वती आधारभूत विद्यालयबाट २० वर्षअघि ८ कक्षा उत्तीर्ण गरेका तीन युवाले भने विद्यालयको अवस्था मात्र बुझेनन्, तीन थान कम्प्युटर पनि सहयोग गरे ।

थाहा नगरपालिका पालुङका दिनेश कार्की, विजयविक्रम श्रेष्ठ र विशाल ढकाललाई आफू पढेको विद्यालयलाई केही सहयोग गर्न सकिन्छ कि भन्ने लागिरहेको थियो । उनीहरुले २०५७ सालमा सो विद्यालयको सबैभन्दा माथिल्लो कक्षा (८ कक्षा) उत्तीर्ण गरेका थिए । प्रधानाध्यापकसँग विद्यालयको अवस्थाबारे बुझ्दा विद्यालयमा कम्प्युटर शिक्षा लागू भए पनि कम्प्युटरको व्यवस्था हुन नसक्दा समस्या भएको जानकारी पाएपछि यी पूर्व विद्यार्थीहरु विद्यालयलाई कम्प्युटर सहयोग गर्न कस्सिएका थिए ।

दिनेश कार्की हाल अष्ट्रेलियामा कार्यरत छन् । उनले नेपाली सिनेमा र म्युजिक भिडियोमा अभिनयसमेत गर्दै आएका छन् ।

त्यस्तै विजयविक्रम श्रेष्ठ काठमाडौंस्थित एक अन्तर्राष्ट्रियस्तरको निर्माण कम्पनीमा आबद्ध छन् भने विशाल ढकालले बेलायतमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका छन् । तीनै जनाबाट सङ्कलित एकमुष्ट ५१ हजारबाट तीन कम्प्युटर खरीद गरेर विजयविक्रम विद्यालय पुगेका थिए । विद्यालयमा आयोजित एक कार्यक्रमबीच उनले प्रधानाध्यापक महेन्द्र प्रधानलाई सहयोग हस्तान्तरण गरे ।

कार्यक्रममा उनले विद्यालयको शैक्षिक अवस्था सुदृढीकरणका लागि पूर्वविद्यार्थीहरुका तर्फबाट निरन्तर सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे । विद्यालयमा कम्प्युटरको व्यवस्था भएपछि अब विद्यार्थीलाई व्यावहारिकरूपमा पढाउन सहज भएको कम्प्युटर शिक्षक सबिन विष्टले बताए । “पहिले विद्यार्थीहरुलाई ‘माउस’ को चित्र देखाएर पढाउनुपर्थ्यो, अब विद्यार्थीहरुले ‘माउस’ पढ्न पाएका छन्”, उनले भने । कम्प्युटर पाएपछि प्रधानाध्यापक, शिक्षकहरु र कम्प्युटर कक्षाका विद्यार्थीहरु निकै खुशी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?