भारतमा कोरोना खोपको साइड इफेक्ट, गर्भवती तथा सुत्केरीलाई नलगाउन आग्रह

एजेन्सी । भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५८० जनामा साइड इफेक्ट (नकारात्मक अस) देखिएको छ। तीमध्ये २ जनाको मृत्यु भएको छ भने ७ जना अस्पताल भर्ना भएका छन् । खोप लगाएपछि कर्नाटकमा एक जना र उत्तर प्रदेशमा एक जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा जारी खोप अभियानमा तीन दिनमा ३ लाख ८१ हजारभन्दा बढीलाई खोप लगाइएको छ। खोप लगाइएकामध्ये ०.२ प्रतिशतमा प्रतिकुल असर देखिएको हो। स्वास्थ्यमा समस्या देखिएपछि खोप उत्पादक कम्पनी बायोटेकले भारतमा खोप लगाउन निश्चित शर्त तोकेको छ । कम्पनीले एलर्जी हुने, ज्वरो आएका, रगत पातलो बनाउने औषधि खाइरहेका र रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका औषधि खाइरहेका व्यक्ति तथा गर्भवती र स्तनपान गराइरहेका आमालाई खोप नलगाउन आग्रह गरेको छ ।

खोप लगाएपछि गम्भीर एलर्जी हुन सक्ने र श्वास फेर्न समस्या हुन सक्ने, रिँगटा लाग्ने, कमजोर महशुस हुने जस्ता लक्षण देखिने पनि कम्पनीलाई उदृत गर्दै समाचारमा जनाइएको छ ।

भारतले दैनिक ३ लाख मानिसमा खोप लगाउने तयारी गरे पनि लक्ष्य अनुसार खोप लगाउन मानिस गएका छैनन् । खोपका विषयमा भएका विभिन्न नकारात्मक प्रचार, जनचेतनाको अभाव लगायतका कारणले मानिसहरु खोप केन्द्रमा नपुगेको ठानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?