किसानसँग जहिल्यै उधारो सम्झौता, अवधि सकिँदासम्म सवा १९ करोड भुक्तानी बाँकी

काठमाडौँ । सरकार र उखु किसानबीच भएको सहमतिको समय सकिँदा १९ करोड २० लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गृह मन्त्रालयलाई बुझाएको विवरणअनुसार उखु उद्योगीले ७० करोड ५८ लाख रुपैयाँमध्ये ५१ करोड ३८ लाख रुपैयाँ मात्रै भुक्तानी गरेका छन् ।

‘सोमबार दिउँसोसम्मको तथ्यांकअनुसार उद्योगीहरूले ५१ करोड ३८ लाख रुपैयाँ वितरण गरेका छन् । त्यो भनेको ७२.७९ प्रतिशत मात्रै हो,’ गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले भने, ‘अब १९ करोड २० लाख वितरण हुन बाँकी देखियो ।’

झन्डै १६ दिनसम्मको आन्दोलनपछि सरकार र उखु किसानबीच चारबुँदे सहमति भएको थियो । उखुको बक्यौता रकम माग्दै मंसिर २८ देखि माइतीघरमा आन्दोलनरत उखु किसानले पुस १३ मा सरकारसँग सहमति गरेका थिए । सम्झौतापत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी उद्योगीले किसानलार्ई भुक्तानी गर्नुपर्ने बक्यौता रकम सम्बन्धित उद्योगबाट २१ दिनभित्र उपलब्ध गराउने व्यवस्था मिलाउने उल्लेख छ । सहमतिको अवधि सोमबार सकिएको छ ।

यसअघि २०७६ पुस १८ मा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टकै उपस्थितिमा उखु किसानबीच सहमति भएको थियो । सहमतिअनुसार सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीहरूले २०७६ माघ ७ भित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन मन्त्रालयले समन्वय र सहजीकरण गर्ने सहमति जनाएको थियो । मन्त्रीकै उपस्थितिमा गरिएको सहमतिमा भुक्तानी पाउनेमा विश्वस्त किसानले त्यति बेला धोका पाएका थिए । कान्तिपुर दैनिकमा राजु चौधरीले समाचार लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?