प्रदेश सरकारका विषयमा कांग्रेसले नीतिगत निर्णय लिने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण केन्द्रदेखि प्रदेशसम्म देखिएको अस्थिरतामा नेपाली कांग्रेसले नीतिगत निर्णय गरेर अघि बढ्ने भएको छ। नेकपाभित्रको आन्तरिक विवादका कारण प्रदेश सरकारमाथि एकले अर्को पक्षमाथि अविश्वासको प्रस्ताव दर्ता गर्ने क्रम जारी रहेका बेला कांग्रेसले प्रदेशहरूमा कोसँग सहकार्य गर्ने वा कसलाई सहयोग गर्ने भन्नेमा पार्टीले नीतिगत निर्णय बनाउने भएको हो।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमका विषयमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच एक मत नदेखिएका बेला कांग्रेसले प्रदेश सरकारमा सहभागिता र सहयोगका विषयमा समझदारी निर्माण गरेर अघि बढ्ने भएको छ। नेता पौडेललाई भेट्न सभापति देउवा सोमबार उनकै निवास बोहोराटार पुगेका थिए।

दुई नेताबीच झन्डै डेढ घण्टा लामो भेटमा नेकपाभित्र देखिएको विवादले प्रदेश सरकारमा पनि उत्पन्न भएको समस्याका विषयमा कसरी अघि बढ्ने भन्नेमा छलफल भएको थियो।

नेता पौडेलसँगको भेटमा सभापति देउवाले प्रदेशहरूको आवश्यकता र अनुकूलताअनुसार सहकार्य गर्न सम्बन्धित प्रदेशलाई नै अधिकार दिएर जाने धारणा राखेका थिए। स्थानीय आवश्यकताअनुसार प्रदेश संसदीय दलले नै निर्णय गर्दा उपयुक्त हुने भन्दै देउवाले सोहीअनुसार गर्नु राम्रो हुने तर्क गरेको स्रोतको दाबी छ। तर नेता पौडेलले भने पार्टीले नीतिगत निर्णय नलिँदा अराजकता बढ्ने तर्क गरेका छन्। केन्द्रीय समिति वा प्रभावशाली नेताहरूको बैठकले भने पनि प्रदेश सरकारमा सहकार्यका विषयमा पार्टीले पोलिसी निर्माण गर्नुपर्ने धारणा पौडेलले राखेका छन्। त्यस विषयमा थप छलफल गरेर अघि बढ्ने दुई नेताबीच समझदारी निर्माण भएको खबर स्रोतलाई उदृत गर्दै नागरिक दैनिकले प्रकाशित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?