एकै वकिलले तीन घण्टा बहस गर्दा सुनुवाइ लम्बिने संकेत

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमाथिको सुनुवाइमा समयसीमा नतोकिँदा एकै वकिलले लामो समय लिन थालेका छन् । सोमबार प्रतिनिधिसभाविरुद्धको रिटमा अधिवक्ता दिनमणि पोखरेलले तीन घण्टा बहस गरे ।

पोखरेलले बिहान साढे ११ बजेदेखि दिउँसो ३ बजेसम्म अनवरत बहस गरेपछि इजलासले समयमा ध्यान दिन सुझाएको थियो । उनले लामो समय लिएपछि इजलासबाट न्यायाधीश अनिलकुमार सिन्हाले अब कति समय लिनुहुन्छ भनी सोधेका थिए । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस गर्न मात्रै ३६३ वटा वकालतनामा परेका छन् । एउटै व्यक्तिले घण्टौं बहस गर्ने हो भने मुद्दाको बहस सकिनै तीन महिनाभन्दा बढी समय लाग्ने देखिन्छ ।

अधिवक्ताले लामो समय लिएकै कारण कतै कर्नाटकको चुनाव जस्तो हुने त होइन भनी न्यायाधीश सिन्हाले अधिवक्ताहरूलाई प्रश्न गरे । सुनुवाइ गर्दा गर्दै चुनाव सम्पन्न हुने बेलासम्म बहस नसकिने अवस्था आउन सक्ने भन्दै उनले समय व्यवस्थापन गर्न सुझाए ।

‘कर्नाटकको चुनाव जस्तो, यो संसद् विघटन गलत हो तर चुनावको तयारी भइसकेको हुनाले र पब्लिक मतका लागि जागिसकेको हुनाले कतै चुनावलाई रोक्नु नपर्ने भन्ने अवस्था पर्ला,’ उनले भने, ‘यहाँहरूले समयलाई म्यानेज गर्नुस् ।’ यो समाचार आजको राजधानी दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?