नेताहरू हँसाउने, कार्यकर्ता हाँस्ने, जनता रुने कि हाँस्ने ? (भिडियो रिपोर्ट)

रामजी बलामी/काठमाडौं – गत पुस २९ गते नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओली प्रतिनिधि सभा विघटन गरेर खुशी हुँदै हिँडेको टिप्पणी गरे ।

प्रचण्ड माधव समूहको काठमाडौं भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधान नै भाँचकुच गर्दै राष्ट्र नै भाँचकुच पार्न खोजेको आरोप समेत लगाए । यस्तो नराम्रो काम गरेर पनि प्रधानमन्त्री ओली लाज मान्नुको सट्टा रमाउँदै हिडेको उनको भनाइ थियो । प्रचण्डले प्रधानमन्त्री ओलीलाई जोकरको संज्ञा दिँदै ‘भाङ खाएर ताण्डव नृत्य गरेको’ समेत भन्न भ्याए ।

प्रचण्डको यो भनाइ प्रधानमन्त्री ओलीको मनमै बिजेछ क्यार ! गत माघ ३ गते शनिवार काठमाडौंमा आयोजित प्रदेश १ को कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले प्रचण्डलाई जवाफ फर्काए । प्रधानमन्त्री ओलीले देश बर्बाद पार्न नपाएर चिन्ता मानेकाहरुले आफ्नो खुसीलाई देख्न नसकेको भन्दै कटाक्ष गरे । सरकारले सम्पूर्ण जनताको खुसीका लागि अभिभावककको काम गरिरहेकाले जनतालाई रुवाउन खोज्नेहरुको प्रयास सफल हुन नदिने उनले दाबी गरे ।

प्रधानमन्त्री ओली र प्रचण्डबीचको जुहारी यतिमै रोकिएन । प्रधानमन्त्री ओलीको यो भनाइको प्रचण्डले भोलिपल्टै अर्थात् माघ ४ गते नै जवाफ फर्काए । प्रचण्डले आफूहरु ओलीजस्तो बिहेमा जाँदा रुँदै जाने र मलामी जाँदा हाँस्दै जाने मान्छे नभएको भन्दै टिप्पणी गरेका हुन्।आफू निकट राष्ट्रिय युवा संघ केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै प्रचण्डले यस्तो टिप्पणी गरेका हुन्।

देशमा गणतन्त्र स्थापना भएका बेला युवाहरुले उत्सव मनारहँदा ओली रुँदै हिँडेको र अहिले संविधानमाथि प्रहार हुँदा सिंगो देश स्तब्ध भएका बेला हाँस्दै हिँडेको प्रचण्डको भनाइ थियो ।

प्रधानमन्त्री ओली, नेकपा स्थायी समिति सदस्य सुवास नेम्वाङ, अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल, वरिष्ट नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य भीम रावल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्री योगेश भट्टराई लगायतका नेताहरु यतिवेला कार्यकर्ता हसाउँन खप्पिस देखिएका छन् ।

उनीहरुको भाषणमा सिद्धान्त, विधि, प्रक्रिया, योजना होइन विपक्षीलाई दनक दिने, जश लिन खोज्ने, आरोप प्रत्यारोप गर्ने प्रवृति बढी देखिन्छन् ।

विपक्षीको विरोध गर्न नेताहरु कुन हदसम्म पुग्दो रहेछ भन्ने कुरा पूर्वप्रधानमन्त्री झलनाथ खनालको ‘कालिगड अभिव्यिक्त’बाट घाम जत्तिकै छर्लङ हुन्छ ।

खनालको यो अभिव्यक्ति प्रधानमन्त्री ओली पक्षका नेता कार्यकर्ताका लागि निकै स्वादिलो मसला बन्न पुगेको छ । त्यसो त प्रधानमन्त्री ओलीले त आफ्नो हरेक भाषणमा यो विषय उठान गर्दै नेता कार्यकर्ता हसाउँदै आएका छन् । आफूले गरेको विकास निर्माणको कामको प्रसँग आउनासाथ प्रधानमन्त्री ओलीले यो प्रसँग सुनाइहाल्छन् ।

प्रधानमन्त्री ओली मात्रै होइन उनका निकै विश्वास पात्र अर्थात स्थायी कमिटी सदस्य सुवास नेम्वाङले पनि गत शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा यो प्रसँग कोट्याउन भ्याए ।  प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको कटाक्ष सुनेर नेता कार्यकर्ताहरु स्वाद मानीमानी, ताली बजाइबजाइ, पेट मिचिमिचि हाँसीरहेका छन् ।

माघे संक्रान्तिको गोरु जात्रामा भन्दा नेकपामा मच्चिएको भालेजात्रामा बढी हाँसो र ताली गुन्जिएको देखिन्छ ।

सडक, सामाजिक संजालदेखि सभामा समेत नेता कार्यकर्ताहरु एकअर्कालाई आरोपप्रत्यारोप र टिका टिप्पणी गरिरहेका छन् । नेताहरु कार्यकर्ताहरुको यो प्रवृतिले राजनीतिप्रतिको आम सर्वसाधारणको आवेश र आक्रोश थप चुलिएको छ ।

सरकारले गत पुष ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै नेपालमा राजनैतिक सरगर्मी ह्वात्तै बढेको हो । नेकपाको प्रचण्ड-नेपाल समूह प्रतिनिधि सभा पुनः स्थापनाका लागि मरिमेटेर लागि परेका छन् भने प्रधानमन्त्री ओली समूह वैशाख १७ र २७ गते घोषित निर्वाचनको तयारीमा जुटेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पर्ख र हेरको अवस्थामा छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संसद पुनःस्थापनाको पक्षमा खुलेर लागिपरेका छन् भने सभापति शेरबहादुर देउवा निर्वाचनको पक्षमा उभिएको संकेत दिएका छन् ।

प्रतिनिधि सभा विघटन हुँदा कांग्रेसका नेता कार्यकर्ताहरु आत्मैदेखि खुशी छन्, तर उनीहरु आफ्नो धर्म निभाउनकै लागि सरकारको विरोध गरिरहेका छन्।

सत्तापक्षी र प्रतिपक्षीहरुको नाटकीय राजनीति देखेर आम सर्वसाधारण भने आश्चर्यचकित छन् । कसको कुरा सही र कसको गलत भन्ने भ्रमित अवस्थामा पुगेका छन्, आम जनता ।

अस्थिर राजनीतिका कारण विकास र नीति निर्माणका कामहरु प्रभावित भएका छन् । अझ नेताहरू आन्दोलनको आँधिबेहरी ल्याउने चेतावनी दिईरहेका छन् । विशेषतः प्रचण्ड माधव समूहका नेताहरु आन्दोलनबाटै प्रतिनिधि सभा पुनःस्थापना गर्ने ध्याउन्नमा लागेका छन् ।

दिनँहुजसो आयोजना भईरहेको विभिन्न कार्यक्रमहरुमा नेताहरुले दिने भाषणले नेता कार्यकर्ता गडगडाहत तालीका साथ आँखामा आँशु झर्ने गरी हाँसे पनि आम जनता भने रोऊ कि हाँसौं भन्ने किकर्तव्यविमुढको अवस्थामा छन् । सायद राजनीतिक दल र नेताहरूको यस्तै प्रवृतिले होला जनतामा राजनीतिप्रति वितृष्णा जागेको ।

प्रस्तुत छ, नेताहरूले एक अर्कालाई गरेको कटाक्ष समेटिएको भिडियो सामग्री 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?