सुन्तलाको बगैँचा मासेर ड्रागनफ्रुट खेती शुरु

RSS
0
Shares

तनहुँ । रोगका कारण सुन्तला बगैँचाका रुख मर्दै गएपछि सुन्तलाखेती मासेर यहाँका दुई व्यक्ति मिलेर ड्रागनखेती शुरु गरेका छन् । जिल्लाको व्यास नगरपालिका–११ तनहुँसुर धरमपानीका हिमलाल श्रेष्ठ र देवेन्द्र क्षेत्री मिलेर ड्रागनखेती थालेका हुन् । एचडी ड्रागन फ्रुड एण्ड फर्म दर्ता गरी बाँझो जग्गामा ड्रागनखेतीतर्फ लगाएको कृषक श्रेष्ठ बताउछन् । सुन्तलाखेतीको तुलनामा दुःख कम हुने, बजारमा माग अत्यधिक रहेको र आम्दानी पनि राम्रो रहेपछि यसतर्फ उनीहरु आकर्षित भएका हुन् । “सुन्तला बगैँचाको रुख मर्दै जान थालेपछि यस खेतीतर्फ लागेको हौँ”, उनले भने, “भारतीय सेनाको जागिरबाट अवकाश लिएपछि देवेन्द्रसँग मिलेर यो खेती गरेको हो ।” एउटा ड्रागनको बोटले १० वर्षसम्म फल दिने र बजारमा खेर गएका साना तथा ठूला सवारी साधन टायरको पनि सदुपयोग भएको उनीहरुको भनाइ छ ।

खेर गएको टायरमाथि पैसा फलाउने सपना बोकेर शुरुमा करीब ११ लाख खर्च गरी ड्रागनखेतीतर्फ थालिएको हो । ड्रागनखेतीका बारेमा युट्युबको सहयोग लिँदा पानीको मात्र कम भएको ठाउँमा पनि खेती गर्न सकिने जानकारी पाएपछि ढुक्क भएर लगानी गरिएको उनीहरुको भनाइ छ । पूर्वमन्त्री लोकेन्द्र विष्टले सञ्चालन गरेको फर्म र राजधानीबाट प्रतिबिरुवा ७०० का दरले एक हजार ६०० वटा ड्रागनका बिरुवा ल्याइएको थियो । निर्माण गरिएको सिमेन्टको पिल्लरमाथि थोत्रो टायर राखिने र त्यही टायरमाथि उक्त फल फल्ने गरी व्यवस्थापन गरिएको छ ।

ड्रागन फल मीठो त छँदैछ औषधिको दृष्टिकोणले अति उपयोगी रहेको छ । यो फल खाएपछि मधुमेह र मुटुरोगीलाई लाभदायक हुन्छ भने पेट सफा गरी कब्जियत हुनबाट जोगाउँछ । यसबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिक्स, वाइन र ब्रान्डी बनाउन सकिन्छ । पछिल्लो समय बजारमा यस फलको माग बढ्दै गएको छ ।

कृषकद्वयले ड्रागनखेती गरेपछि स्थानीयवासी पनि यसतर्फ आकर्षित हुन थालेका छन् । खेती गर्ने तरिका सिक्नका लागि स्थानीय बासिन्दा दिनहुँ फर्ममा आउने गरेको कृषक बताउँछन् । ड्रागन सिउडी प्रजातिमा पर्छ । यसको फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ भने २० देखि ३० डिग्री उचाइमा खेती उत्तम हुने गर्दछ । एक रोपनी क्षेत्रफलमा ४० वटा ड्रागनका बिरुवा लगाउन सकिन्छ । एक मौसममा तीनदेखि चारपटकसम्म फलबाट आम्दानी लिन सकिन्छ । नेपालमा ड्रागन फ्रुटको प्रतिकिलो २०० मा बिक्री हुने गरेको व्यापारी बताउँछन् । पछिल्लो समय ड्रागन फु्रट स्वास्थ्य र आर्थिक किसिमले उत्तिकै महत्वपूर्ण भएकाले यसको खेतीतर्फ मानिसको आर्कषण बढ्दै गएको वडाध्यक्ष निरबहादुर खड्काले बताए ।

‘साक्षात् भगवान् भेटे झैँ लाग्यो’

छोरा सन्तोष नेपाली कक्षा छ मा पढ्दै गर्दा श्रीमान्को अकालमा मृत्यु भएपछि कसरी शिक्षादिक्षा दिएर हुर्काउने होला भन्ने चिन्ताले सधैँ सताइरहन्थ्यो जुठीमायालाई । पढ्नका लागि घरको आर्थिक अवस्था पनि कमजोर । बिहान बेलुकाको छाँक टार्न ज्याला मजदूरी गर्नुपर्ने बाध्यता थियो । जिल्लाको व्यास नगरपालिका–१२ भडखालास्थित मत्स्यकन्या आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययन गर्न थालेदेखि सिर्जनशील बाल विकास कार्यक्रम पोखराले पढाई खर्चमा सहयोग गर्दै आएपछि मनै प्रफुल्ल भएको जुठीमाया बताउछिन् ।

कक्षा ३ देखि कक्षा ७ सम्मको उक्त विद्यालयमा अध्ययनपश्चात सन्तोषले एसइईसम्मको अध्ययन सत्यवती माध्यमिक विद्यालयबाट गरेका थिए । एसइई पास गरेपछि अहिले सन्तोषले बुटवलस्थित बुटवल टेक्निकल इष्टिच्युट मेकानिकल विषय लिएर चौबिस महिने कोर्ष अध्ययन गर्दै छन् । प्राथमिक तहदेखि छात्रवृत्ति सुविधा प्राप्त गर्दै आएका व्यास नगरपालिका–१ का सन्तोषलाई उक्त संस्थाले छात्रवृत्तिबापत आइतबार ३० हजारको चेक उनकी आमा जुठीमायालाई आर्थिक सहयोग गरेका छन् । उक्त संस्थाले चौबिस महिनासम्म सहयोग गर्ने प्रतिबद्धता जनाएपछि उनलाई ठूलो राहतको महसुस भएको छ । चेक लिँदै गहभरी आँसु झार्दैै जुठीमायाले भनिन्, “उक्त संस्थाले छोराको अध्ययनका लागि सहयोग गर्छौं भनेपछि साक्षात् भगवान् भेटे जस्तो लाग्यो”, संस्थाका संस्थापक निर्देशक शङ्कर पन्थ, फिल्ड सुपरभाइजर नवराज गिरी, सोही विद्यालयका प्रधानाध्यापक ललित पाण्डेले संयुक्तरुपमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । त्यसैगरी उच्च शिक्षा हासिल गर्दै आएका भरत पन्थलाई पनि सोही अवसरमा छ हजार आंशिक छात्रवृत्ति प्रदान गरिएको छ ।

केन्द्रीय कार्यालय पोखरा रहेको उक्त संस्थाले हाल कास्की र तनहुँलाई आफ्नो कार्यक्षेत्र बनाएर शिक्षा, आयआर्जन र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । विशेषगरी शैक्षिक सामग्री, पोशाक र शुल्क तिर्न नसकेर विद्यालय जान छाडेका गरीब तथा सिमान्तकृत समुदायका बालबालिकालाई सहयोग गर्दै आएको फिल्ड सुपरभाइजर गिरीले बताए । विसं ०६९ चैत १८ गतेदेखि औपचारिकरुपमा काम अघि बढाएको उक्त संस्थाले हालसम्म समुदायमा बसेर अध्ययन गर्ने २५० बढीलाई आंशिक छात्रवृत्ति प्रदान गरिसकेको कार्यक्रमका निर्देशक पन्थले जानकारी दिए ।

अहिले १६० जना बालबालिकाले समुदायमा बसेर आंशिक छात्रवृत्ति सुविधा लिँदै आएका छन् । उनले भने, “हालसम्म पूर्ण छात्रवृत्तितर्फ ३४ जनाले उक्त सुविधा लिइसकेका छन् । संस्थाद्वारा हाल १५ बालबालिका बालगृहमा र चार उमेरहद नाघेका कारण समुदायमा बसेर उच्च शिक्षा हासिल गर्दै आएका छन् ।”

संस्थाले आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित बालबालिकालाई अध्ययनका लागि गरेको सहयोग प्रशासनीय कार्य भएको प्रधानाध्यापक पाण्डेले बताए । छात्रवृत्ति सहयोग गर्दै आएका बालबालिकाको परिवारमा आयआर्जन वृद्धि गराउने उद्देश्यले फलफूलका बिरुवा, कुखुरा, बाख्रापालन कार्यलाई प्रोत्साहन गर्न थालिएको छ । त्यसैगरी समुदायमा बालबिवाह, बहुविवाहसम्बन्धी सचेतना पनि प्रदान गर्दै आएको कार्यक्रमका संस्थापक निर्देशक पन्थले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?