छैन शौचालय र प्राङ्गण : कक्षाकोठाको समस्या उस्तै

RSS
0
Shares

बागलुङ । जिल्ला सदरमुकाम बागलुङ बजारका अधिकांश विद्यालय भौतिक पूर्वाधारका हिसाबले सुविधा सम्पन्न छन् । सदरमुकामका सरकारी विद्यालयमा ठूलाठूला पक्की भवन, खेलकूद मैदानलगायतका पूर्वाधार निर्मित छन् ।

यही सदरमुकामभित्रकै एक पुरानो सामुदायिक विद्यालय भने बत्ती मुनीको अध्यारो जस्तै भएको छ । गाउँगाउँका सरकारी विद्यालयसमेत सुविधा सम्पन्न भइरहेको अवस्थामा जिल्ला सदरमुकामको पुरानो उपल्लाचौर आधारभूत विद्यालयले पूर्वाधारको चरम अभाव खेप्दै आएको छ । विद्यालयका लागि जग्गा अभाव भएका कारण आवश्यक भौतिक संरचना निर्माण गर्न समेत कठिन भएको विद्यालयले जनाएको छ ।

विसं २०१९ मा स्थापना भएको विद्यालयमा अहिले जम्मा चार कोठाको मात्रै विद्यालय भवन छ । पुरानो जीर्ण विद्यालय भवन भूकम्पले क्षति पुर्‍याए पनि पुनर्निर्माणका लागि जग्गा अभाव भएका कारण तत्कालै पुनर्निर्माण गर्न नसकिएको विद्यालयका प्रधानध्यापक शान्ति सापकोटाले बताए । विद्यालयको क्षेत्रफल जम्मा एक रोपनी ७ आना मात्रै भएका कारण आवश्यक भौतिक संरचना निर्माण गर्न समेत नसकिएको सापकोटाको भनाइ छ ।

“अहिले विद्यालय प्राङ्गण, पुरानो भवन र शौचालय समेटेर दुई कोठे पक्की भवन निर्माण थालिएको छ” प्रधानध्यापक सापकोटाले भने “यति सानो जग्गामा दुई वटा पक्की भवन बन्ने भएपछि विद्यालय प्राङ्गणको अभाव हुने भएको छ ।” अहिले दुई कोठे भवन निर्माणका लागि विद्यालयमा भएको शौचालय भत्काइएको छ, विद्यालयको जग्गामा शौचालय समेत छैन ।

विद्यालय नजिकै अर्काको जग्गामा टिनले बारेर अस्थायी शौचालय निर्माण गरिएको छ । विद्यालय भवन निर्माण भइरहँदा विद्यार्थीलाई शौचालय जानै समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद हुसेनले जानकारी दिए । बागलुङ नगरपालिका–४ उपल्लाचौरमा पर्ने उक्त विद्यालयका लागि आवश्यक जग्गा प्राप्तिका लागि निकै पहल गरे पनि नसकिएको हुसेनको गुनासो छ ।

“विद्यालय अन्यत्र लैजाने कुरा भएन, सदरमुकामको जग्गा खरिद गर्न निकै महङ्गो छ, मौजुदा जग्गामा भवन निर्माण गर्दा शौचालय भत्काइएको छ, खेलकूद मैदान छैन” अध्यक्ष हुसेनले भने, “विद्यालयमा अब सानो टुक्रा मात्रै जमिन बाँकी रहेको छ । उक्त जग्गामा शौचालय निर्माण गर्ने योजना छ ।” अहिले चार कोठालाई ८ कोठामा विभाजन गरी कक्षा सञ्चालन गरिएको छ । प्लाइको बार लगाएर कक्षा सञ्चालन गर्दा विद्यार्थीलाई अध्ययन र शिक्षकलाई अध्यापन गर्न समेत सकस भइरहेको गुनासो छ । विद्यालयमा खानेपानीकोसमेत समस्या छ । विद्यालयमा कार्यालय तथा पुस्तकालय मुस्किलले साँघुरो कोठाबाट सञ्चालन गरिएको छ । १२० जना विद्यार्थी रहेको विद्यालयमा अधिकांश विद्यार्थी अति विपन्न, मजदूरका छोराछोरी तथा मुस्लिम समुदायका विद्यार्थी अध्ययनरत छन् । विद्यालयलाई जग्गा आवश्यक भए पनि धेरै पटक प्रयास गर्दा समेत जग्गा प्राप्ति गर्न नसकेको वडाध्यक्ष ध्रुवबहादुर केसीले बताए ।

अहिले उक्त विद्यालयमा दुई कोठे पक्की भवन निर्माण गर्न थालिएको छ । यो भवन निर्माण पश्चात अध्यापनमा केही सहज हुने अपेक्षा गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाईको २३ लाख ९० हजार तथा बागलुङ नगरपालिकाको ८ लाखको लागतमा दुई कोठे भवन निर्माण थालिएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बताए । पुनर्निर्माण प्राधिकरणले चार कोठे विद्यालय भवन बनाउन प्रयास गरे पनि जग्गा नहुँदा दुई कोठे भवन बनाउन थालेको हो । जिल्ला सदरमुकामभित्र स्थापित भए पनि उपेक्षामा परेको विद्यालयमा विद्यालय भवन निर्माणसँगै नगरपालिकाले शौचालय निर्माण गरिदिने नगर प्रमुख पौडेलले प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?