स्वास्थ्य स्वयंसेविकाद्वारा काम अनुसारको सुविधा नपाएको गुनासो

RSS
0
Shares
साङ्केतीक तस्वीर

पाल्पा । काम गरेअनुसारको सेवासुविधा नपाएको महिला स्वास्थ्य स्वयंसेविकाले गुनासो गरेका छन् । चालू आर्थिक वर्ष २०७७-०७८ को पुससम्म कुनै पनि सुविधा नपाएको उनीहरुको गुनासो छ । कामअनुसारको सुविधा नभएपछि भोकभोकै काम गर्न बाध्य भएको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङ्गकी स्वास्थ्य स्वयंसेविका गोमा कार्कीले दुखेसो सुनाइन् ।

“यातायात खर्च तथा सञ्चार खर्चसमेत आफैँ गर्नुपर्ने बाध्यता छ, महिना–महिनामा प्रतिवेदन बुझाउनुपर्छ, महिनामा एक हजार सुविधा मात्र पाइन्छ”, उनले भनिन् ।

दैनिक एक दुई घण्टा पैदल हिँडेर सेवा प्रदान गर्दै आए पनि सेवासुविधाको अभाव रहेको उनको भनाइ छ । ग्रामीण बस्तीमा दिनभरी हिँडेर काम गरे पनि पुरस्कार पाउने बेला स्वास्थ्यकर्मीले मात्रै पाउने गरेको स्वयंसेविकाको गुनासो छ । महिनाभरी काम गरे पनि यातायात खर्च, सञ्चार खर्च, उचित तलबको व्यवस्था नहुँदा स्वयंसेविकालाई आर्थिक समस्या भएको उनी बताउँछिन् ।

सुविधाका नाममा पोशाक खर्च १० हजार, मासिक एक हजार सुविधा भए पनि चालू आर्थिक वर्षको पुस महिनासम्मको कुनै पनि सुविधा नपाएकोे स्वयंसेविकाको गुनासो छ । स्वयंसेविकाले प्रत्येक महिना आमा समूहको बैठक सहजीकरण गर्ने, गाउँघर क्लिनिक, खोप क्लिनिक, हजार दिनका आमा आइरन चक्की, बालबालिकालाई बालभिटा, जीवनजललगायतका सुविधा प्रदान गर्दै आएको अर्की स्वयंसेविका मीना थापाले बताइन् ।

महिला गर्भवती भएको चार महिनापछि स्वास्थ्य चौकीमा परीक्षणका लागि जान स्वयंसेविकाले परामर्श दिन्छन् । हजार दिनका आमाका लागि पोषणयुक्त आहारा कसरी खाने, कसरी शिशुलाई आहारा खुवाउने भन्ने विषयमा समेत परामर्श प्रदान गर्दै आएको उनी बताउछिन् ।

स्वयंसेविका थापाका अनुसार पालिकामा दुई वर्षदेखि आधारतभूत तालीमको समेत व्यवस्था हुन सकेको छैन । स्वयंसेविकाले मासिक तलबको व्यवस्था गरी काम गर्ने हौसला प्रदान माग गरेका छन् । गाउँपालिकाभित्र ७२ स्वास्थ्य स्वयंसेविका छन् ।

रिब्दीकोट गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक सुनिल अधिकारीले महिला स्वास्थ्य स्वयंसेविकाले सङ्घीय सरकारको सहयोगमा यातायात खर्चबापत वार्षिक छ हजार र गाउँपालिकाको छ हजार गरी वार्षिक १२ हजार प्रदान गरिने गरेको बताए । नेपाल सरकारद्वारा सञ्चालित भिटामिन तथा पोलियो खुवाउने कार्यक्रममा दैनिक ४०० यातायात भत्ता उपलब्ध हुँदै आएको उनले जानकारी दिए । स्वास्थ्य बीमा कार्यक्रममा पनि ५० प्रतिशत रकममा गाउँपालिकाले सहयोग गर्दै आएको बताइएको छ ।

रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाका अनुसार स्वास्थ्य स्वंयसेविका प्रदेश सरकारले वार्षिक तीन हजार र गाउँपालिकाबाट नौ हजार प्रदान गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?