सहुलियतपूर्ण कर्जामा कृषि र महिला उद्यमको अंश बढी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले १० शीर्षकका सहुलियतपूर्ण कर्जामध्ये व्यावसायिक कृषि तथा पशुपक्षी व्यवसाय र महिला उद्यमशीलता क्षेत्रमा सबैभन्दा बढी कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत मङ्सिरसम्ममा कुल ५२ हजार ४८ जनाले ब्याज अनुदानमा सहुलियतपूर्ण ऋण उपयोग गरेका छन् । तीमध्ये ३० हजार ८ सय ७ जनाले व्यावसायिक कृषि तथा पशुपक्षी व्यवसायमा कर्जा लिएका छन् । महिला उद्यमशीलतामा १९ हजार ६ सय ३५ जनाले ६ प्रतिशत ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा उपयोग गरेका छन् ।

सहुुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत २०७७ मङ्सिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले विभिन्न ९ शीर्षकका कर्जाबाट लाभान्वित ऋणीहरूमा ८६ अर्ब २९ करोड ९२ लाख कर्जा बक्यौता रहेको छ । गत वर्षको सोही अवधिमा कुल २२ हजार ९६ जनाले ३९ अर्ब ५६ करोड ७२ लाख रुपैयाँ बराबरको कर्जा लिएका थिए । गतवर्ष पनि त्यस अवधिभर कृषि र महिला उद्यमशीलता क्षेत्रमा बढी कर्जा प्रवाह भएको थियो ।

गत चैतपछिका केही महीनामा बन्दाबन्दी तथा निषेधाज्ञाले सहुलियतपूर्ण कर्जा प्रवाह प्रभावित बनेको बैंकरहरूले बताएका थिए । तर, अहिले यस्तो कर्जा लगानीमा समेत राम्रो सुधार हुन थालेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले औंल्याए ।

भट्टका अनुसार समग्रमा चालू आवको ५ महीनामा यस्तो कर्जा करीब रू.२७ अर्ब थप गएको देखिन्छ । ‘यसपटक सरकारले ब्याज अनुदानमा दिने सहुलियतपूर्ण कर्जामा उल्लेख्य बजेट छुट्ट्याएको छ । यस शीर्षकमा बैंकहरूले ऋण लगानी गर्न सके कर्जा उत्पादनशील क्षेत्रतर्पm जाने देखिन्छ । अन्यथा बैंकहरूमा ठूलो रकम पुनर्कर्जामा गइरहेको छ,’ उनले भने । आर्थिक अभियान दैनिकमा ममता थापाले समाचार लेखेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?