२०७७, ४ माघ आईतवार १५:५६

होमियोपेथिक तर्फ बिरामीको आकर्षण


प्रकाशित मिति : २०७७, ४ माघ आईतवार १५:५६

मोरङ । ऐलोपेथिक उपचारबाट हैरान भएका मानिस होमियोपेथिकतर्फ आकर्षित भइरहेका छन् । दीर्घ किसिमका रोगले ग्रस्त भएका मानिस होमियोपेथिक उपचारबाट निको भएर सामान्य जीवन बिताइरहेको कुरा सुनेर खुशी लागेको होमियो चिकित्सक डा. आविद हुसेनले बताए । उनी लामो समयदेखि विराटनगरस्थित ज्योति होमियो क्लिनिकमा सेवा प्रदान गर्दै आइरहेका छन् ।

ऐलोपेथिक उपचारबाट निराश भएका मानिस आउने गरेका उनले बताए । त्यति बेलासम्ममा रोगले मानिसलाई पूर्णरुपमा च्यापिसकेको हुनाले उपचारमा ढिलाइ हुने डा. आविदको भनाइ छ । उपचारबाट सन्तुष्ट हुने मानिसले आफ्ना छरछिमेकमा कुरा गर्दा यसको प्रचारप्रसार बढी हुने गरेको र उपचार गराउन आउने मानिसकै सङ्ख्या पनि बढ्न थालेको उनको अनुभव छ ।

खासगरी, जाँड, रक्सी, चुरोट, खैनी नखाने मानिसलाई यो औषधिले छिट्टै काम गर्ने उनले बताए । दम, ग्यास्ट्रिक, पित्तथैली तथा मिर्गौलामा हुने पत्थरी, टाउको दुख्ने, शरीरमा मुसो निस्कने, सेतो दाग निस्कने, महिलाको आन्तरिक रोग जस्ता धेरै रोगको उपचार यो पद्दतिबाट हुने गरेको चिकित्सक बताउँछन् ।

विराटनगर महानगरपालिका– २ मा होमियोपेथिक उपचार गरिरहेका डा. नरहरि थपलियाले होमियापेथिकबाट सबै किसिमका पुराना रोगको उपचार हुने जानकारी गराए । “म कहाँ खासगरी पुराना रोगमा पेट सम्बन्धिका बिरामी, मानसिक रोग, चर्म रोग भएका आउने गरेका छन्”, उनले भने ।

होमियोपेथिक उपचार गराउने बिरामीहरुले आफ्नो रोगअनुसार नियमित तीन देखि चार महिनासम्म औषधि खानुपर्ने उनी बताउछन् । होमियोपेथिक उपचार गराउन बिरामी धनकुटा, तेह्रथुम, झापा, सुनसरीबाट समेत आउने गरेका डा. थपलियाले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस