२०७७, ४ माघ आईतवार १५:४८

स्याउका बिरुवा निर्यात गर्दै जुम्लाका किसान


प्रकाशित मिति : २०७७, ४ माघ आईतवार १५:४८

जुम्ला । जुम्लाका किसान स्याउका बिरुवा जिल्ला बाहिरा निर्यात गर्न लागिपरेका छन् । बाहिर जिल्लाका किसान बिरुवा लिन नर्सरीमै पुग्ने गरेको स्याउ किसान गोपाल रोकायाले जानकारी दिएका हुन् ।

यस वर्षमा पहिलो पटक दाङ जिल्लामा स्याउ बिरुवा निर्यात गरेसँगै बाहिरी जिल्लाबाट स्याउका बिरुवा खरीद गर्न नर्सरीमै स्याउ लगाउने किसानको भीड हुने गरेका तिला गाउँपालिका– १ का वरिष्ठ स्याउ किसान महेन्द्र बुढाले बताए । यस याममा मात्र करीब छ हजार स्याउका बिरुवा बेचेको सिञ्जा गाउँपालिका स्याउ किसान हंश कठायतले जानकारी दिएका छन् ।

उनले भने, “स्याउका बिरुवा लिन कृषि विकास कार्यालय दाङको टोली आइ र नर्सरीबाटै छ हजार बिरुवा लिएर गएको छ ।” रेड, रोयल र गोल्डेन जातका स्याउ जिल्ला बाहिर निर्यात भएको छ । स्याउका बिरुवा रोप्ने मौसम शुरु भएसँगै यहाँका स्थानीयवासी र जिल्ला बाहिरका किसान आउन थालेको यहाँका स्याउ नर्सरीका सञ्चालक बताउँछन् ।

नर्सरीमै ४० प्रतिबिरुवा बिक्री हुने गरेको यहाँका किसान बताउँछन् । फाट्टफुट्ट किन्दा प्रतिबिरुवा ५० रुपैयाँ पर्छ । निरोगी बिरुवा उत्पादन गरेर जिल्ला बाहिर पठाउन किसान यस याममा लागिपरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिए ।

कार्यालय जिल्लामा सञ्चालन आएदेखि स्याउखेतीमा आधुनिकीकरणदेखि किसानलाई चाहिने सीपमूलक तालीमले यहाँका स्याउ किसानलाई राहत भएको उनले बताए । अर्गानिक मलखाद्य प्रयोग गरेर हुर्केका स्याउका बिरुवा किन्न व्यापारी गाउँमै पुग्ने गरेका छन् । स्याउका बिरुवा जिल्ला बाहिर निर्यात गर्नका लागि यहाँका किसान सङ्गठित हुने गरेको किसान परी कार्कीले जानकारी दिइन् ।

जिल्ला बाहिरबाट आएको मागअनुसार सबै किसानले सल्लाह गरेर एकैपटक निर्यात गर्ने वातावरणका लागि पहल भइरहेको छ । यस कार्यका लागि जिल्ला कृषि विकास कार्यालय सकारात्मक छ । हरेक वर्ष जुम्लादेखि स्याउका बिरुवा निर्यात हुने गरेको छ । यहाँको बिरुवा तत्कालीन कर्णालीका पाँच जिल्ला, बझांङ, बाजुरा, दैलेख, सोलुखुम्बु, ताप्लेजुङ, डोटी र जाजरकोटसम्म निर्यात हुने गरेको छ ।

चिसो हावापानीमा निरोगी बिरुवा पाइने भएकाले सबै किसानको ध्यान जुम्लामा केन्द्रित हुने गरेको किसान बताउँछन् । हाल जिल्लामा ११० नर्स फर्म कृषि विकास कार्यालयका दर्ता भएका छन् जसमध्ये करीब ८० नर्सरी धनीले सक्रियरुपमा विरुवा उमारिरहेको कार्यालय प्रमुख बालकराम देवकोटाले बताए ।

उनले भने, “साढे पाँच लाख नर्स बिरुवा जिल्लामा उत्पादन भएको कार्यालय प्रमुख देवकोटाले बताए ।” जिल्ला बाहिर पठाउने तयारीमा रहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । स्याउ लगाउने मौसम शुरु भएकाले बिरुवा बिक्री हुने अपेक्षा यहाँका स्याउ नर्सका सञ्चालकले गरेका छन् । योपटक सोचे जस्तो गरेर हिउँ नपरेकाले खाल्डा खन्न गाह्रो हुने भएको छ ।

अगामी फागुनको पहिलो सातासम्म स्याउ लगाउन मिल्ने भएकाले नर्सको माग आउने अपेक्षा गरिएको कार्यालयले जनाएको छ । हाल जिल्लाको सिञ्जा क्षेत्र र गुठीचौर क्षेत्रतिरबाट स्याउ निर्यात भइरहेको जानकारी कार्यालयलाई आएको उनले बताए ।

स्याउका बिरुवा यहाँका किसानको प्रमुख आम्दानीको स्रोतमध्ये एक हो । जिल्लामा ३८ सय हेक्टरमा स्याउ रोपिएकामध्ये करीब एक हजार ५०० हेक्टर क्षेत्रफलबाट स्याउले फल दिने गरेको सो कार्यालयले जनाएको छ ।

हाँडसिञ्जामा १५ शय्याको अस्पताल

कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिञ्जामा १५ शय्याको अस्पताल निर्माण हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमा कर्णाली प्रदेशका ४१ स्थानीय तहमा ४२ वटा पाँच, १० र १५ शय्याका अस्पताल निर्माण कार्यसँगै यहाँको हाँडसिञ्जामा अस्पताल निर्माण हुने गाउँपालिका अध्यक्ष नरवीर रावतले जानकारी दिए ।

उनले भने, “अस्पताल निर्माण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट १८ करोड ५० लाख विनियोजन गरेको छ । अस्पताल बनाउन २२ जना स्थानीयवासी तीन हजार ५०० वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।” निःशुल्क जग्गा उपलब्ध गराउने स्थानीय बासिन्दालाई गाउँपालिकाले सम्मान गरेको गाउँपालिकाले जनाएको छ ।

नागरिकले निःशुल्क उपचार गर्न पाउने यहाँका आठवटै स्थानीय तहकै ठूलो अस्पताल बन्ने भएपछि यहाँका स्थानीयवासी खुशी भएको गाउँपालिका उपाध्यक्ष उर्मिला भण्डारीले बताइन् ।

सो अस्पताल निर्माण भएर सञ्चालनमा आएपछि नागरिकले सहजरुपमा निःशुल्क उपचार पाउनेछन् । गत मङ्सिर २३ गते तिला–३ कुडारीमा १० शय्याको अस्पताल बनाउनका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले शिलान्यास गरेका थिए । यसैगरी कनकासुन्दरी गाउँपालिकाको हाँडसिञ्जा स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन गरिएको छ ।

यहाँका दुर्गम ठाउँमा स्वास्थ्य परीक्षण प्रयोगशाला सञ्चालन नहुँदा दुई दिन पैदलयात्रा गरी सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आएर परीक्षण गर्नुपर्ने बाध्यता थियो । ग्रामीण भेगका स्वास्थ्यचौकीका ल्याब सञ्चालनमा आएपछि दिसापिसाव, खकारलगायत अन्य परीक्षण गर्न सहज भएको हाटसिञ्जा स्वास्थ्यचौकीका प्रमुख वीरेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस