मनोहरा सफाइ अभियानकर्मीलाई निःशुल्क गुर्जोको औषधि र चिया वितरण

RSS
0
Shares

काठमााडौं । मनोहरा सफाइ अभियानका अभियानकर्मीलाई बहुउपयोगी वनस्पति गुर्जोबाट बनेको धुलो औषधि र चिया निःशुल्क वितरण गरिएको छ ।

देशव्यापी रुपमा निःशुल्क गुर्जो वितरण गर्दै हिँडेका आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कमलबहादुर राजलवटले अभियानका २०० अभियानकर्मीका लागि निःशुल्क गुर्जोबाट बनेको धुलो औषधि र चियाका प्याकेट वितरण गरेका हुन् । अभियानकर्मीलाई २०० प्याकेट चिया र २०० प्याकेट धुलो औषधि वितरण गरिएको उनले सुनाए ।

राजश्व कार्यालय लाहानमा कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी निवासमा गुर्जो रोपेर कोरोना महामारी फैलन थालेपछि उनी देशव्यापी रुपमा निःशुल्क वितरण गर्दै हिँडेका छन् ।

यसैगरी समाचार संस्था राष्ट्रिय समाचार समितिमा पनि अभियानकर्मी राजलवटले हिजो शनिवार गुर्जोको धुलो र चिया वितरण गरेका छन् । गुर्जोका विषयमा सामान्य जानकारी समेत दिँदै निःशुल्क वितरण गर्ने अभियान गत वैशाखदेखि जारी छ । गुर्जोका बिरुवा भने हाल रोप्न बेमौसम हुने कारणले वितरण गरिएको छैन । फागुनपछि बिरुवासमेत रोप्नका लागि वितरण गरिने जनाइएको छ । निःशुल्क गुर्जो वितरण अभियानमा राष्ट्रिय योजना आयोगका सहसचिव एवं योग शिक्षक किशोर जोशी र जीवन विज्ञानका प्रशिक्षक रामप्रसाद पन्थीलेसमेत साथ दिँदै आएका छन् ।

हालसम्म एक लाख ५० हजार भन्दा बढी गुर्जोका बिरुवा देशभर निःशुल्क वितरण गरिएको राजलवटले बताए । बिरुवासँगै गुर्जोबाट बनेको धुलो औषधि र चियासमेत वितरण गरिएको छ । एक घरमा अनिवार्य रुपमा एउटा गुर्जोको बिरुवा रोपे धेरै रोगका लागि औषधिको काम गर्ने, नियमित सेवनले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने आयुर्वेद चिकित्सक डा शेषराज आचार्य बताउछन् ।

आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो : तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छ, उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने सिद्धान्तका आधारमा गुर्जोजस्ता ओषधीय गुणलेयुक्त वनस्पतिको संरक्षण गरिनुपर्ने उनले बताए । हिमालयका काखमा रहेको नेपाली वनपाखामा धेरै किसिमका औषधीय गुणयुक्त जडीबुटी एवं वनस्पति भए पनि तिनको सदुपयोग हुनसकेको छैन ।

कतिपय जडीबुटी, वनस्पति चोरी निकासी भई त्यसमा रासायनिक पदार्थ मिलाएर बनाइएको आधुनिक औषधि नेपालमा भित्रने गरेको अभियानकर्मीको गुनासो छ । यसले ठूला धनराशि विदेशिने गरेको छ । आयुर्वेदिक औषधि बनाएर बिक्री वितरण गरे त्यो पैसा स्वदेशमै बस्नेछ ।

आयुर्वेद अस्पताल र औषधालयलाई प्रवर्द्धन गर्न खोज अनुसन्धानमा जोड दिनुपर्ने चिकित्सक आचार्यको भनाइ छ । आयुर्वेद औषधि उत्पादन गर्ने सिंहदरबार वैद्यखाना विकास समितिसमेत निरन्तर ओरालो लागकाले सराकोर भएका निकायको ध्यान जानुपर्ने अभियानकर्मीको माग छ ।

उपत्यकाका धेरै स्थानमा एक घरमा एक गुर्जोको बिरुवा रोप्न पुग्ने गरी निःशुल्क वितरण भएको छ । देशभर एक घर एक गुर्जोको बिरुवा रोप्न पुग्ने गरी वितरण गर्ने गुर्जो अभियानकर्मी राजलवटको प्रतिबद्धता छ । शनिवार र बिदाका दिन छट्टी नमनाएर अभियानकर्मी राजलवट निःशुल्क गुर्जो वितरण गर्दै हिँड्छन् । माग गर्ने जतिलाई निःशुल्क गुर्जोका बिरुवा दिन तयार रहेको उनले सार्वजनिक घोषणा गर्दै आएका छन् ।

आधुनिकतासँगै मानिसले बिर्सँदै गएका गुर्जोजस्ता सयौँ वनस्पतिका बारेमा खोज अनुसन्धान गरी त्यसबाट हुने फाइदाका बारेमा प्रचारप्रसार गरिनुपर्ने माग पनि अभियानकर्मीले गरेका छन् । गुर्जोका परिकार गर्भवती महिला र पाँच वर्षमुनिका बालबालिकालाई सेवन गर्न निषेध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?