कोरोना कहरकै बीच खुले विद्यालयः विद्यार्थी, शिक्षक र अभिभावकले जान्नैपर्छ यी कुरा

‘सरकारले निरन्तर नियमन गर्नुपर्छ’

काठमाडौं । काठमाडौँ महानगरपालिकाले भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा ल्याउने अनुमति दिइसकेको छ ।

सामाजिक दूरी कायम गर्दै सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने अनुमति दिएपछि महानगरका केही विद्यालयहरु आज(आइतवार) देखि खुलेका छन् ।

काठमाडौं उपत्यकाभित्रका भक्तपुर नगरपालिका र ललितपुर महानगरपालिकाले भने केही समयअघि नै विद्यालय सञ्चालन गर्ने सूचना जारी गरिसकेका थिए ।
कोरोना महामारीका कारण विश्वका डेढ सय भन्दा बढी देशका विद्यालयहरु महिनौंसम्म बन्द रहे । यूनिसेफका अनुसार कोभिड १९ को महामारीका कारण ७२ प्रतिशतसम्म विद्यार्थीको पढाइमा प्रभाव परेको छ ।

इतिहास पल्टाएर हेर्ने हो भने विगतका महामारीहरुमा पनि विद्यालय तथा शैक्षिक संस्थान बन्द गर्दा महामारी चाँडै नियन्त्रणमा आएको अध्ययनले देखाउँछ । तथ्याङ्कअनुसार विद्यालयहरु बन्द गर्नाले २९ देखि ३७ प्रतिशत सम्म रोग नियन्त्रणमा आएको देखिन्छ ।

नेपालमा पनि विद्यार्थीहरु स्कुल यूनिफर्मदेखि टाढिएको ठ्याक्कै ९ महिना पूरा भइसकेको थियो । चैत ९ गतेदेखि शुरु भएको लकडाउनले विद्यार्थीहरुलाई यतिका महिना निकै फुर्सदिलो बनाइदियो । सम्भवतः यो उनीहरुले अनुभव गरेको अहिलेसम्मकै सबैभन्दा लामो विदा हुनसक्छ । सामान्य अवस्था हुन्थ्यो त एउटा शैक्षिक सत्र सकिने अवधि हो यो ।

अहिले भने संघीय सरकारले स्थानीय तहलाई आफ्नो ठाउँको अवस्था बुझेर कम जोखिम भएको अवस्थामा पुनः कक्षा सञ्चालन गर्ने अधिकार दिएकाले लगभग सबै विद्यालयहरु सञ्चालनमा आइसकेका छन् ।

‘सरकारले निरन्तर नियमन गर्नुपर्छ’

लकडाउनकै वेला पनि अनलाइन कक्षा सञ्चालन गरेर कतिपय विद्यालयहरुले पढाइलाई निरन्तर जारी राखे । तर, भर्चुअल तरिकाले पढ्नु र भौतिक उपस्थितिमा पढ्नुमा समान नहुने भएकाले अब विद्यालय पुनः सञ्चालन गर्दा केही दिनको जाडो-गर्मी विदा वा दशैँ तिहारको रमाइलो छुट्टिपछि शुरु हुन लागेको कक्षा जस्तो पटक्कै नहुने बताउँछन् शिक्षाविद डा.विद्यानाथ कोइराला । उनका अनुसार परिस्थिति सामान्य अवस्थामा फर्किए पनि विद्यार्थीहरुको मानसिक स्थितिलाई सामान्य अवस्थामा फर्काउन कठिन नै हुनेछ ।

डा.कोइराला भन्छन्, ‘विद्यालय खोल्ने÷नखोल्ने, कक्षा सञ्चालन गर्ने/नगर्ने भन्दा पनि जस्तोसुकै अवस्थामा पनि विद्यार्थीले सिक्ने वातावरण चाहिँ बनिराख्नुप-यो ।’

‘हेरेर अथवा भोगेर अथवा टिभी, अनलाइन जस्ता अनौपचारिक माध्यम र विद्यालयमै उपस्थित भएर औपचारिक माध्यम यी चार तरिकाबाट विद्यार्थीहरुलाई पढाउन सकिन्छ,’ डा.कोइराला सुझाउँछन्, ‘विद्यार्थीलाई कसरी कक्षा चढाउने भन्दा पनि कसरी सिकाउने भन्ने कुरामा चाहिँ सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने हो ।’

परीक्षा नलिइ कक्षा चढाउने अनि परीक्षा लिनकै लागि जबरजस्ती पाठ्यक्रम सकाउने दुवै अभ्यासको विरोध गर्दै डा.कोइराला भन्छन्, ‘विद्यार्थीहरुले कक्षा चढ्नलाई मात्र पढ्ने होइनन् केही सिक्नका लागि पढ्ने हुन् त्यसैले, उनीहरुले यो समय घर बसेर सिकेका कुराहरु हुन् या देखेर/सुनेर बुझेका कुराहरु अथवा अनलाइन कक्षा मार्फत् जानेका पाठ्यक्रमका कुराहरु सबै समेटेर प्रश्नावली तयार गर्नुपर्छ र त्यहीअनुसारको मूल्याङ्कन पनि गरिनुपर्छ ।’

यतिका महिनासम्म औपचारिक लेखाइपढाइ देखि कोसौं दूरीमा रहेका विद्यार्थीहरुमा पढाइप्रतिको रुचि ब्युँझाउन, लकडाउनमा घरभित्र वा थोरै मानिसको समीपमा सुरक्षित बसेका उनीहरुलाई एकसाथ कक्षाकोठामा राखेर पढाउन, त्यसो गर्दैगर्दा यता मास्क, स्यानिटाइजरको प्रयोग गर्न सिकाउनदेखि उनीहरु बिरामी भएको अवस्थामा के गर्ने भन्नेसम्मको पूर्वतयारी सकेर मात्रै विद्यालयहरु सञ्चालनमा आउनुपर्ने बताउँछन् शिक्षाविद् डा.कोइराला ।

साथै सरकारको भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताउँदै उनी भन्छन्, ‘विद्यालय खोल्ने अनुमति दिएर मात्र हुँदैन केकसरी सञ्चालन भइरहेका छन् भनेर नियमित अनुगमन गरिनुपर्छ ।’

केही सुविधासम्पन्न विद्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन सक्छन् भन्दै मा सबै विद्यालयको स्रोतसाधन त्यो स्तरको नहुन सक्ने भएकाले यस विषयमा सरकारले नै केही ठोस कदम चाल्नुपर्ने सुझाउँछन् शिक्षाविद् कोइराला ।

‘पाठ्यक्रम सक्नैपर्छ भन्ने कुनै हतार छैन’

विद्यालयमा सुरक्षित वातावरण सिर्जना गर्नमा विद्यालय प्रशासनको मूख्य भूमिका रहन्छ । त्यसमाथि यस महामारीका दौरान पुनः सञ्चालन भएको÷हुन लागेको अवस्थामा त झनै विद्यालयलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा विद्यालय प्रशासनले विशेष चासो देखाउनैपर्छ ।

‘हामीले स्वास्थ्य मापदण्ड अपनाएरै कक्षा सञ्चालन गरिरहेका छौं,’ काठमाडौंको पुरानो बानेश्वरस्थित भीमसेनगोलामा रहेको कमलनेत्र छुन्ना मुन्ना माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र भट्टराई भन्छन्, ‘त्यसैले पनि कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुलाई मात्रै भौतिक उपस्थितिमा पढाइराखेका छौं ।’

विद्यालय यही पौष १ गतेदेखि सञ्चालनमा आएको हो । सञ्चालनमा आएदेखि ६० प्रतिशत विद्यार्थीको मात्र उपस्थिति रहेको भट्टराई बताउँछन् । बाँकी ४० प्रतिशत लकडाउनकै दौरान चलाइएको अनलाइन कक्षामा पनि सहभागी भएनन् । उपस्थित ६,७ र ८ कक्षाका विद्यार्थीहरुलाई एउटा बेन्चमा एकजनाको दरले राखेको र ९, १० का विद्यार्थीलाई एउटा बेन्चमा २ जना राखेर पढाउँदै आएको बताउँछन् भट्टराई ।

विद्यार्थी जीवन जस्तो उर्जाशील उमेरको ठूलो अंश स्थिर रहेरै बितेकाले अभिभावकहरुले पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै विद्यालय पुनःसञ्चालन गर्ने सल्लाह दिएपछि मात्रै कक्षा शुरु गरेको उनी बताउँछन् ।

‘हामीले विद्यार्थीलाई पढाइप्रति फेरि रहर जगाउने उद्देश्यले एकदमै विस्तारै, रमाइलो गराउँदै पढाइरहेका छौं,’ प्रधानाध्यापक भट्टराई अगाडि थप्छन्, ‘पाठ्यक्रम सक्नैपर्छ भन्ने कुनै हतार छैन ।’

‘कोरोना कालपश्चात् विद्यालयका तौरतरिकाहरुमा केकस्ता परिवर्तनहरु आए ?’ भन्ने प्रश्नमा उनी भन्छन्, ‘विद्यालय परिसरमा खेलकुद लगायत सामूहिक गतिविधि भएका छैनन् । पाठ्यक्रमभन्दा अतिरिक्त क्रियाकलापहरुको आयोजना पनि भएको छैन । एसेम्ब्ली गराएका छैनौं । धेरै चाप भयो भने कक्षालाई पनि विभाजन गर्नेछौं ।’

खोप नआउन्जेल पर्खिएकै जाति– मनोविश्लेषक

सरकारले आफ्नो क्षेत्रको अवस्था हेरेर विद्यालय खोल्ने/नखोल्ने अधिकार स्थानीय तहलाई दिइसकेको वेला मनोविश्लेषक बासु आचार्य भने कोरोनाविरुद्धको खोप नआइ विद्यालय पुनः सञ्चालन गर्न हतार नगर्ने सल्लाह दिन्छन् । ‘आखिर यतिका महिना त बन्द गरेर चल्यो भने यो शैक्षिक सत्र सकिउन्जेल अनलाइन कक्षा सञ्चालन गरेर वा जेजसरी चल्दै आएको छ त्यसैलाई निरन्तरता दिनु उचित होला,’ आचार्य सुझाउँछन् ।

खोल्नैपर्ने अवस्थामा विद्यालय, शिक्षकले शुरुमा आफै मनोविद, शिक्षाविद जस्ता विज्ञहरुबाट सल्लाह तथा परामर्श लिएर मात्र कक्षा सञ्चालन गर्दा उचित हुने उनको भनाइ छ ।

यतिका अन्तरालपछि फेरि पुरानै दैनिकीमा फर्किनु विद्यार्थीहरुका लागि पट्यारिलो हुने भएकाले केही समय पाठ्यक्रम अघि बढाउने, कथा÷कविता रटाउने, सूत्रहरु घोकाउने भन्दा पनि विद्यार्थीहरुलाई खुसी हुन, मानसिक रुपमा बलियो बन्न, मेलमिलाप र आपसी सहयोगको पाठ सिकाउनुपर्ने बताउँछन् मनोविश्लेषक आचार्य ।

एकातिर लामो समयसम्म विश्राम पाएको मस्तिष्क अर्कातिर, कोरोनाले भयभित बनाएको मन । यी दुई चीजको तालमेल मिलाउन केही समय अवश्य लाग्ने आचार्यको भनाइ छ ।

‘यसै पनि धेरै समयको अन्तरालपछि किताबको ठेली पल्टाउनुपर्दा उनीहरुलाई नरमाइलो नै लागिरहेको हुन्छ त्यसमा अझै १ वर्षको पाठ्यक्रम यति थोरै समयमा सक्नुपर्छ भन्ने कुराले झनै तनाव दिनसक्छ,’ आचार्य अगाडि थप्छन्, ‘त्यसैले विद्यार्थीहरुलाई विद्यालयको वातावरण घरभन्दा कम छैन भन्ने अनुभूति गराउन सक्नुपर्छ ।’

यस्ता कुराहरुमा पु-याउनुपर्छ विशेष ध्यानः

कोभिड १९ को ‘हटस्पट’ बनेको काठमाडौं महानगरपालिकामा पूर्णरुपमा महामारी नहटी विद्यालय पुनःसञ्चालन हुनुले सबैको मनमा केही डर अवश्य छ । यस्तो अवस्थामा अभिभावक, शिक्षक, विद्यालय प्रशासन र स्वयम् विद्यार्थीले कसरी सुरक्षित र ढुक्क रहने ? सबैले आफ्नो ठाउँ र स्तरअनुसार निभाउन सक्ने केही भूमिकाहरु यस प्रकार छन्ः

बालबालिकाको पहिलो विद्यालय घर र पहिलो शिक्षक अभिभावक भएकाले घरबाट नै उनीहरुलाई पूर्णरुपमा तयार गरेर पठाउने । मास्क, फेस सिल्ड, स्यानिटाइजर, रुमाल वा टिस्यू पेपर लगायत आवश्यक सामाग्री जुटाएर तिनको प्रयोग गर्ने तरिकासमेत सिकाएर पठाउने । विद्यालयमा केकस्तो स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिएको छ भनेर बुझ्न नियमित रुपमा विद्यालय गइरहने । आफ्ना बालबालिकाको स्वास्थ्यमा केही परिवर्तन देखापर्दैछ कि भनेर विचार पु-याउने ।

विद्यालय प्रशासनले कक्षामा भौतिक दूरी कायम गरेर विद्यार्थी राख्ने, आवश्यकता परे कक्षा विभाजन गर्ने वा विभिन्न सिफ्ट बनाएर पढाउने । स्यानिटाइजर, साबुन, पानी, मास्क लगायत सामाग्रीको उचित व्यवस्थापन गर्ने । कक्षाकोठा, खेल मैदान, धारा, शौचालयमा विद्यार्थीहरुले भीड गर्न सक्छन् त्यसैले नियमित चेकजाँच गर्ने । विद्यार्थीहरुको तापक्रम मापन गर्ने । कसैको स्वास्थ्यमा परिवर्तन देखापरे वा कोभिड १९ का लक्षण देखापरे तुरुन्तै उसको घरमा जानकारी गराएर अन्य विद्यार्थी भन्दा टाढा राख्ने ।

विद्यार्थीहरुले पनि आफ्नो स्वास्थ्यको ख्याल आफै राख्न सिक्नुपर्छ । मास्क नखोल्ने, समयसमयमा साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने ।
आँखा, नाक, मुखतिर हात नलगिरहने । भीडभाड जम्मा गरेर नबस्ने, केही समय खेलकुद तथा अतिरिक्त गतिविधिमा समावेश नहुने ।
आफूलाई अस्व्स्थ्य अनुभव भए तुरुन्तै विद्यालय प्रशासन वा अभिभावकलाई भनेर जँचाइहाल्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?