प्रेस संगठनले विज्ञप्ति जारी गर्दै सर्वोच्चको ‘चेतावनी’प्रति जनायो आपत्ति

काठमाडौं । रातोपाटी डटकम र नेपाल खबर डटकम अनलाइनमा प्रकाशित समाचारलाई लिएर सर्वोच्च अदालतबाट जारी प्रेस विज्ञप्तिप्रति प्रेस संगठन नेपालले गम्भीर ध्यानाकर्षण गरेको छ । यही माघ २ गते शुक्रवार सर्वोच्चद्वारा जारी प्रेस विज्ञप्तिप्रति प्रेस संगठन नेपालले आपत्ति जनाएको हो ।

शनिवार एक विज्ञप्ति जारी गर्दै प्रेस संगठनले माघ २ मा सर्वोच्चबाट जारी विज्ञप्तिमा आचारसंहिता र कानूनको हवाला दिँदै सञ्चार माध्यम र सञ्चारकर्मीहरु विरुद्ध धम्कीपूर्ण भाषा प्रयोग गरिएको ठहर गरेको छ ।

विज्ञप्तिमा लेखिएको छ , ‘न्यायको सर्वोच्च थलो जनताको आस्था र विश्वासको केन्द्र सम्मानित सर्वोच्च अदालतबाट त्यस प्रकारको भाषा शैली सहित सञ्चारमाध्यमहरुको नामै किटेर धम्कीपूर्ण भाषा प्रयोग गरिनु खेदजनक छ । हामीले गरिमामय न्यायपालिकाको स्वच्छता र विश्वसनीयताप्रति गहिरो भरोसा राख्दै आएका छौं । तर प्रेस तथा अभिव्यक्ति स्वातन्त्रतामाथि अंकुश लगाउने गरी ‘कानुनी कारबाही’को धम्कीसहित जारी विज्ञप्तिले हामी सशंकित बनेका छौं ।’

संगठनले सर्वोच्च अदालत आफ्नो गरिमामय विरासत र इतिहासलाई निरन्तता दिँदै प्रेस तथा अभिव्यक्ति संरक्षक बन्नुपर्नेमा पनि जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?