भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड चार लाखभन्दा बढी

नयाँ दिल्ली – भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिवारसम्म एक करोड पाँच लाख ४२ हजारभन्दा बढी पुगेको छ ।

विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार १५८ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ५ लाख ४२ हजार ८४१ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १७५ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५२ हजार ९३ जना पुगेको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख ७९ हजार भन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ११ हजार ३३ सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा शुक्रबार २९५ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १० जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ७३२ भन्दा बढीको मृत्यु भइसकेको छ ।

दिल्लीमा गत बिहीबार कोरोना सङ्क्रमणको कारण चार जनाको मात्र मृत्यु भएको जनाइएको छ । यो मे ११ देखि हालसम्म कोरोना भाइरसको कारण एक दिनमा मृत्यु हुने व्यक्तिको संख्या सब भन्दा कम भएको समाचारमा जनाइएको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रबारसम्म देशभर १८ करोड ५७ लाख ६५ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । शुक्रबार एक दिनमा मात्र आठ लाख ३ हजार ९० जनाको कोभिड–१९ परीक्षण गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?