माघ ११ गतदेखि शेयर खरीदविक्रीको राफसाफ तथा फछर्यौट २ दिनभित्र हुने

काठमाडौं । धितोपत्र दोस्रो बजारमा हुने कारोबारको राफसाफ तथा फछर्यौट चक्र माघ ११ गतेदेखि २ दिनभित्र हुने भएको छ । शुक्रवार केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) र दलाल व्यवसायी बीच भएको सहमति अनुसार आगामी माघ ११ गतेदेखि टि प्लस टु लागु हुनेछ ।‘टी प्लस टु’ लागू भएपछि शेयर खरीदविक्री गरेपछिको अर्को २ दिनभित्र अर्थात् टी प्लस टु मा राफसाफ  गरिसक्नु पर्नेछ ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारको राफसाफ चक्र दुई दिन कायम गर्ने बाटो यसअघि नै खोलिदिएको थियो । बोर्डले दुई दिनको राफसाफ चक्र कायम हुने गरी शंसोधनका लागि पेश गरेको विनियमावलीलाई स्वीकृति दिएको थियो ।

टि प्लस टु राफसाफ तथा फर्छ्यौट चक्र कार्यान्वयनमा आएपछि धितोपत्रको तरलता वृद्धि भई बजार थप गतिशिल हुने र लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त हुने धितोपत्र बोर्डले बताएको छ । बोर्डले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट प्रणालीलाई २ दिनमा झार्ने योजना बनाएको थियो ।

हाल धितोपत्र कारोबार गरेको तीन दिनभित्र राफसाफ गरिसक्नु पर्ने व्यवस्था छ । उक्त व्यवस्था बमोजिम शेयर विक्रीकर्ताले आफूले विक्री गरेको शेयर बराबरको रकम तीनदिन भित्र पाइसक्नु पर्नेछ भने खरीदकर्ताको शेयर खातामा पनि तीन दिनभित्रै शेयर जम्मा भइसक्नु पर्नेछ ।

अब सीडीएससी र दलाल व्यवसायी बीच भएको सहमति अनुसार यी कार्य दुई दिनभित्र भइसक्नु पर्नेछ । दोस्रो बजार  प्रविधिमैत्री बनेकाले राफसाफ प्रक्रियालाई पनि छोट्याउन माग वर्षौंदेखि लगानीकर्ताले गर्दै आएका थिए । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?