‘कोभिसिल्ड’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । ‘कोभिसिल्ड’ सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले उत्पादन गरेको खोप हो ।

योसँगै नेपालमा रहेको आधिकारिक आयातकर्ता हुकुम डिस्ट्रिब्युटर्स एन्ड लजिस्टिक प्रालिले ‘कोभिसिल्ड’ नामक खोप ल्याउने औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताए । उनले निवेदन दिएकामध्ये अन्य दुई जनाको आवश्यक कागजात नपुगेको र टेक्निकल नोटका आधारमा निर्णय गर्दै जाने बताए ।

उनले भने, ‘यो कम्पनी मात्रै अन्तिम होइन । सरकारले कोरोनाविरुद्धको खोप आयात सन्दर्भमा टेक्निकल नोट तयार गरेको छ । त्यसमा आधारित रहेर अन्य भ्याक्सिन पनि दर्ता हुन सक्छन् ।’

नेपालमा कोरोना भाइरसविरुद्ध खोपको आपतकालीन प्रयोगका लागि विभागीय निर्णयअनुसार कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको हो । विभागका वरिष्ठ औषधि व्यवस्थापक केसीले भने, ‘आधिकारिक आयातकर्ताले मात्रै कोरोनाविरुद्धको खोप ल्याउन पाउँछ । टेक्निकल नोटका आधारमा हामीले निर्णय गर्दै जाने हो ।’

औषधि व्यवस्था विभागले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिड–१९ खोपको आपतकालीन प्रयोग अनुमति गरिएको सम्बन्धमा विभागीय निर्णयअनुसार उत्पादक सेरम इन्स्टिच्युट अफ इन्डियाको कोभिसिल्ड खोप आपतकालीन प्रयोगका लागि ससर्त अनुमति प्रदान गरिएको जानकारी गराउँछौं ।’

विभागले कोभिड–१९ खोपको आपतकालीन प्रयोगका लागि दर्ता आवेदन दिँदा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा ‘खोपको आपतकालीन प्रयोगसम्बन्धी संहिता, २०७७ र कोभिड–१९ विरुद्ध प्रयोग हुने खोप प्राप्ति र प्रयोगसम्बन्धी’ अवधारणापत्रलाई आधार मानेको छ । विभागले शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’लाई आपतकालीन प्रयोगको लागि ससर्त अनुमति दिने निर्णय गरेको थियो । राजधानी दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?