तराई–मधेशमा चिसो बढ्यो, जनजीवन कष्टकर

RSS
0
Shares

सप्तरी । तीन/चार दिनदेखि तराई–मधेशमा एक्कासी बढ्दै गएको हावाका कारण जाडो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ । एक्कासी वातावरणमा परिवर्तन आएर चिसो हावासँगै शीतलहर बढेकाले तराई–मधेशका जिल्लामा जाडो बढेको हो ।

तीन/चार दिनदेखि तराईका क्षेत्रमा बढ्दै गएको शीतलहरले मानवजीवनसँगै गाईगोरु, खसीबाख्रा, भैँसी जस्ता घरपालुवा जनावरलाई पनि थप असर परेका कारण कष्टकर देखिएको छ । तराईवासीले केही दिनदेखि सूर्यका किरण नउदाउँदा घामको अनुभूतिसमेत पाइएको छैनन् । सध्याकालदेखि बिहान ९–१० बजेसम्म बाक्लो कुहिरो लाग्ने गरेको छ ।

बाक्लो कुहिरो लागेका कारणले पूर्वपश्चिम राजमार्ग र सहायक मार्गको सडकमा आवतजावत गर्ने सवारी चालकले बाटो हेर्न नसकेर सडक दुर्घटना हुने खतरासमेत बढेको ट्रक चालक किरपानन्द यादवले बताए ।

विगत वर्षमा कुहिरो लाग्ने समयको भन्दा यो वर्ष फरक रहेको छ । प्रायः पुस महिनाको प्रारम्भमै अर्थात् अन्तिम डिसेम्बरदेखि जनवरीसम्म कुहिरो लाग्ने गर्दथ्यो । यस वर्ष चाहिँ पुसको अन्तिम र माघको पहिलो हप्तामा बाक्लो कुहिरो लागेको हनुमाननगर कंकालनी नगरपालिका वडा नं २ का वृद्ध गोसाई मण्डलले बताए ।

दाउरा वितरण

तीन/चार दिनदेखि बढिरहेको शीतलहरले जनजीवन प्रभावित भएको भन्दै हिजो बिहीवार यहाँ स्थानीय प्रशासनले दाउरा वितरण गरेको छ । हाल बढिरहेको शीतलहरले गर्दा सदरमुकाम राजविराज आउने मानिसलाई चिसोले गर्दा कष्ट भोग्दै आएकालाई आगो बाल्नका लागि दाउरा वितरण गरिएको हो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिशङ्कर आचार्यको नेतृत्वमा गजेन्द्रनारायण सिंह अस्पताल, गजेन्द्र चोक, अदालत अगाडि, रुपनी मोड र खानेपानी चोकमा सुकेका दाउरा बाल्न व्यवस्था मिलाएको सप्तरी युथ नेपालका कोषाध्यक्ष विष्णु यादवले जानकारी दिए ।

दाउराको व्यवस्था गरिएकाले शीतलहरबाट बच्न सदरमुकाम आउने मानिसलाई समेत केही राहत हुने गरी स्थानीय प्रशासनले दाउरा व्यवस्था गरिएको उनले बताए । ज्येष्ठ नागरिक प्रदेश न २ का अध्यक्ष शङ्कर शारद, वरिष्ठ पत्रकार शिवहरि भट्टराई, वैजनाथ झा र सप्तरी युथ नेपालका कोषाध्यक्ष विष्णु यादवको उपस्थितिमा सुकेका दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाएको बताइएको छ ।

आँखा उपचार केन्द्रमा १८ हजारको उपचार

सप्तरीको राजविराजमा रहेको सगरमाथा चौधरी आँखा अस्पताल उपचार केन्द्रमा एक वर्षको अवधिमा हजारको सङ्ख्यामा उपचार सेवा दिइएको छ । राजविराज नगरपालिका वडा नं ९ स्थित मलेठमा रहेको सगरमाथा चौधरी आँखा अस्पताल उपचार केन्द्रमा सन् २०२० को जनवारीदेखि डिसेम्बरसम्ममा करीब १८ हजार सेवाग्राहीले उपचार सेवा लिएको कार्यालय प्रमुख रामकुमार झाले बताए ।

उनका अनुसार उपचार सेवा पाएकामध्ये करीब दुई हजार ३३१ जनामा मोतियाबिन्दु भेटिएको छ । कोभिड– १९ का कारण सबै अस्पताल बन्द भएका बेलामा पनि सधैँ सञ्चालमा रहेको सो अस्पतालमा दैनिकरुपमा सेनिटाइजर, मास्क र सरसफाइका माध्यमले आँखा उपचारका लागि आउने बिरामीको सेवा दिइएको कार्यालय प्रमुख झाले जानकारी दिए । एक हजार ७५२ भारतीय नागरिकले समेत यहाँको आँखा अस्पतालमा उपचार सेवा पाएको अस्पतालले जनाएको छ । करीब ३० श्यया रहेको अस्पतालमा हप्ताको प्रत्येक शुक्रवार मोतियाबिन्दुको शल्यक्रियासमेत गरिन्छ ।

साथै आँखाका बिरामी बढेको अवस्थामा हप्तामा दुईपटकसमेत शल्यक्रिया गर्ने योजनासहित अस्पतालमा उपचार सेवा प्रभावकारीरुपमा दिइरहेको प्रमुख झाको भनाइ छ । कार्यालय प्रमुखसहित ११ कर्मचारी रहेको उक्त अस्पतालमा एक वर्षको अवधिमा करीब ३४३ को शल्यक्रियासमेत गरिएको छ ।

धारापानी पर्यटकीय क्षेत्र बन्दै

सन् २०२१ शुरु भएसँगै सप्तरीको उत्तरी भेगमा रहेको धारापानी भन्ने ठाउँ अहिले पर्यटकीय क्षेत्रको गन्तव्य बनेको छ । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको कञ्चनरुप नगरपालिका–१२ धरमपुरस्थित धर्मेश्वर महादेव धारापानी पर्यटकीय क्षेत्रमा रमाइलो र मनोरञ्जनका लागि यहाँ दैनिक वनभोज गर्नेको भीड लाग्ने गर्दछ ।

पूर्वपश्चिम राजमार्गको सिमरा चोकदेखि करीब एक किलोमिटर उत्तर चुरे जङ्गलको फेदीमा रहेको धर्मेश्वर महादेव धारापानी पर्यटकीय क्षेत्रमा आजभोलि आन्तरिक पर्यटकको घुइँचो लाग्नुका साथै वनभोज गर्ने पनि विभिन्न ठाउँबाट यहाँ आउने गरेका स्थानीयवासी राजकुमार पासवानले बताए ।

चारैतिर हरियाली वन, कहिल्यै नसुक्ने धारा, धर्मेश्वर महादेवको मन्दिर, तिरतिरे धारा, परेवा भिर, सहलेश पिडिया, कुन्तामाई थान, दोभान, पिक्निक स्पोर्ट, पार्क र सामुदायिक भवन रहेकै कारणले गर्दा पनि सो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको उनले बताए । पुरातत्व विभागले निर्माण गरिदिएको धर्मेश्वर महादेवको मन्दिरले गर्दा पनि यस ठाउँको आकर्षण बढेपछि आन्तरिक तथा बाहरी पर्यटक रमाइलो गर्नुका साथै वनभोज मनाउन पनि उल्लेखनीय सङ्ख्यामा पर्यटक आउने गरेको सोही ठाउँका बासिन्दा उत्तम आचार्यको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?