राष्ट्रिय भूकम्प सुरक्षा दिवस : निर्माण मापदण्ड पालना गर्न आग्रह

RSS
0
Shares

काठमाडौं । ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ यस वर्षको २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज (शुक्रवार) विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, शिक्षा, भवन र अनुदान व्यवस्थापन कार्यालयको संयुक्त आयोजनामा आज (शुक्रवार) बिहान हेटौँडामा सन्देशमूलक र्‍याली निकालिएको छ ।

स्थानीय भूटनदेवी माध्यमिक विद्यालयको प्राङ्गणबाट शुरु गरिएको सो र्‍याली सिमाचोक, बुद्धचोक हुँदै जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो । सभामा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल र प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भौतिक संरचना निर्माण गर्दा सरकारले निर्धारण गरेको मापदण्ड पूर्णरुपमा परिपालन गर्न सबैमा आग्रह गरेका छन् ।

घटाऔँ भूकम्पको खतरा जागरुक भई

झापा– २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज (शुक्रवार) बिहान झापाको चन्द्रगढीमा प्रभातफेरी निकालिएको छ ।

‘सुरक्षित भवन बनाउन राष्ट्रिय भवन संहिताको अनुसरण गरौं, भूकम्पकीय विपद्बाट सुरक्षित हुने सम्पूर्ण नागरिकको अधिकार, घटाऔँ भूकम्पको खतरा जागरुक भई, आउला भूकम्प भत्काउला घर, जिउधन जोगाउने हाम्रो कर’ लगायत नारा लेखिएका ‘प्लेकार्ड’ सहित चन्द्रगढीको लेखनाथ चोकबाट निकालिएको प्रभातफेरी जिल्ला समन्वय समिति झापाको हलमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो ।

जिल्ला विपद् व्यवस्थापन समिति झापाको आयोजनामा निकालिएको प्रभातफेरीमा जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख, कर्मचारी, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायत सर्वसाधारणको सहभागिता थियो ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलेले भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका विषयमा विगतका प्रयास तथा अनुभवबाट पाठ सिकेर अगाडी बढनुपर्ने बताए ।

नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले नेपालमा विसं १८९० देखि २०७२ सम्ममा भूकम्पबाट भएको धनजनको क्षतिबारे जानकारी दिए । भद्रपुर नगरपालिका प्रमुख जीवन श्रेष्ठ, सघन शहरी विकास कार्यालय भद्रपुरका प्रमुख राजेन्द्र खतिवडा, आधिकारिक ट्रेड युनियनका अध्यक्ष लक्ष्मी गुरागाईं लगायतले कमजोर भवन बनाउँदा पुग्ने क्षति, भूकम्पबाट जोगिने आधारभूत जानकारी र नेपाल सरकारले तोकेको मापदण्ड अनुसार भवन बनाउन सबैमा आग्रह गरे ।

कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्तरुपमा भूकम्प आउँदा सुरक्षित रहने तरिकाबारे ‘नमूना प्रदर्शन’ गरेर देखाएका थिए । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा भूकम्प दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी झापाले जिल्ला कारागारका कैदीबन्दीका लागि १०० थान न्यानो कम्बल कारागार प्रमुख राजेन्द्र गौतममार्फत हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?