साढे चार करोड लगानीमा झापामा ११ तले भ्यू टावर बन्दै

काठमाडौं । नेपालको पूर्वीद्वार काँकडभिट्टामा पर्यटक आकर्षित गर्न ११ तलाको भ्यूटावर निर्माण शुरु भएको छ। काँकडभिट्टामा पर्यटक आउनासाथ दृश्यावलोकनका लागि प्रदेश नं १ सरकार र मेचीनगर नगरपालिकाको साझेदारीमा भ्यूटावरको निर्माण थालिएको मेचीनगरका प्रमुख विमल आचार्यले बताए।

बिहीबार प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, राधा थापा र गोपालचन्द्र बुढाथोकी, मेचीनगरका प्रमुख आचार्य, उपप्रमुख मीना उप्रेती, नेपाली कांग्रेसका नगर सभापति इन्द्र बुढाथोकी, नेकपाका नगर इञ्चार्ज देवकुमार राई, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङ र राप्रपाका नगर अध्यक्ष सुशील आचार्यले भ्यूटावरको संयुक्तरुपमा शिलान्यास गरे। मेचीनगर नगरपालिका वडा नं ६ को सबैभन्दा अग्लो स्थानमा रहेको शिवालय मन्दिर परिसरमा शिलान्यास भएको भ्यूटावरको कूल लागत  चार करोड ५३ लाख ४७ हजार ३७० रहेको आयोजना प्रमुख इञ्जिनीयर कमलप्रसाद कोइरालाले जानकारी दिए।

कनकाई इन्टरनेशनल बिल्डर्स प्रालीले निर्माण कार्यको ठेक्का पाएको छ। आयोजना प्रमुख कोइरालाका अनुसार २०७८ मङ्सिर २८ गते काम सम्पन्न गरिसक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ। निर्माणस्थल काँकडभिट्टाको नेपाल प्रवेशद्वारबाट २०० मिटरको दूरीभित्रै रहेको छ। काँकडभिट्टाकै सबैभन्दा अग्लो स्थान भएकाले त्यहाँ धेरै पहिलेदेखि नै आन्तरिक पर्यटक दृश्यावलोकनका लागि जाने गर्दथे। आजको नागरिक दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?