काठमाडौं । लगातार ४ महीनासम्म बचतमा रहेको चालू खाता चालू आर्थिक वर्षको पाँचौं महीनामा घाटामा गएको छ । गत साउन, भदौ, असोज र कात्तिक महीनामा चालू खाता निरन्तर बचतमा थियो । तर, अहिले आयात बढेसँगै नेपालको मुद्रा बाहिरिएकाले चालू खाता घाटामा गएको हो ।
नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय प्रतिवेदनले चालू आर्थिक वर्ष (आव) २०७७/७८ को मङ्सिर महीनामा चालू खाता २५ अर्ब ४१ करोडले घाटामा रहेको छ । अमेरिकी डलरमा १८ करोड २४ लाखले घाटामा रहेको छ । गत आवको सोही अवधिमा चालू खाता ६५ अर्ब १३ करोडले घाटामा रहेको थियो । यसअघि विगतका ४ आवसम्म लगातार घाटामा रहेको चालू खाता गत साउनमा भने बचतमा देखिएको थियो । चालू आव २०७७/७८ को साउन महीनामा चालू खाता रू. २५ अर्ब ४१ करोडले बचतमा रहेको थियो ।
चालू खाता घाटामा गए पनि शोधनान्तर भने निरन्तर बचतमा छ । देशबाट बाहिरिने रकमभन्दा भित्रिने रकम बढी हुँदा मङ्सिरमा शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोडले बचतमा रहेको थियो ।
आर्थिक वर्षको शुरूमा आयात कम भएको र अहिले आयातमा सुधार भएकाले चालू खाता घाटामा जानु स्वाभाविक भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । विप्रेषण आय बढे पनि आयात बढिरहेको र पर्यटन आय नभएका कारण चालू खाता घाटामा देखिएको उनको भनाइ छ । मङ्सिरसम्ममा विप्रेषण १०.९ प्रतिशतले वृद्धि भई ४ खर्ब १६ अर्ब ८१ करोड पुगेको छ । गतआवको सोही अवधिमा विप्रेषण आप्रवाह 0.२ प्रतिशतले घटेको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया