बैंक तथा वित्तीय संस्था मर्जर र प्राप्तिको प्रक्रियामा

काठमाडौं । हालसम्म २ सय ११ ओटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर तथा प्राप्तिमा सहभागी भइसकेका छन् भने अझै केही बैंक वार्षिक साधारणसभा (एजीएम)मा धमाधम मर्जरको प्रस्ताव लगिरहेका छन् । नेपाल राष्ट्र बैंकले केही वर्षयता बैंकको संख्या घटाउन दबाब दिइरहेकाले बैंकहरूले मर्जर प्रस्तावमा जोड दिएका हुन् ।

आगामी माघ ९ गते मर्जर प्रस्तावसहित एजीएम बोलाएको एनसीसी बैंकले एजीएमबाट स्वीकृत भएपछि जोडदारका साथ मर्जरमा जुट्ने बताएको छ । एनसीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्याल बैंक मर्जर गर्ने पक्षमा भए पनि कुनसँग गर्ने पूर्वतयारी भने नभएको बताउँछन् । तर, सीईओ अर्याल वाणिज्य बैंकहरू मर्जर भएर घट्नुपर्ने पक्षमा छन् ।

‘एजीएमले मर्जर प्रस्तावलाई स्वीकार गरेर सञ्चालक समितिलाई अधिकार दिएपछि बल्ल अगाडि बढ्छौं । वाणिज्य बैंकहरू मर्जरबाट घट्नुपर्छ । तर, हामी कुन बैंकसँग मर्जरमा जाने भन्ने टुङ्गो भएको छैन,’ उनले भने । एनसीसी बैंक र नबिल बैंक मर्जर हुने हल्लाले एनसीसीको शेयर मूल्य र कारोबार बढेको थियो ।

हिमालयन बैंकले मर्जरको प्रस्ताव पारित गरेको छ । लामो समयदेखि विभिन्न वाणिज्य बैंकहरूसँग मर्जरका लागि अनौपचारिक छलफलमा बैंक जुटेको छ । तर, कुनसँग हुने अझै पक्का छैन । यद्यपि नेपाल इन्भेष्टमेन्ट बैंकसँग हुने सम्भावना अधिक भएको बताइएको छ । हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम कुनै एक वाणिज्य बैंकसँगै मर्जमा जाने बताउँछन् । ‘विभिन्न वाणिज्य बैंकहरूसँग मर्जरका लागि कुरा चलिरहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग पनि कुरा चलिरहेको छ । एमओयू नभएसम्म निश्चित हुँदैन,’ अध्यक्ष गौतमले भने ।

नेपाल इन्भेष्टमेन्ट बैंकले भने गत चैत ३० गते सिटी एक्सप्रेसलाई प्राप्ति गर्न केन्द्रीय बैंकबाट सैद्धान्तिक सहमति (एलओआई) पाएको छ ।केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया शुरू गराएपछि कुल २ सय ११ बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका थिए । तीमध्ये १ सय ५९ संस्थाहरूको इजाजत खारेज भएको छ । खारेजपछि ५२ संस्था कायम भएका छन् । आजको आर्थिक अभियान दैनिकमा समाचार प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?