आम्दानीमा एलनको ‘अग्रगामी छलाङ’, भन्छन्- ‘मेरो सम्पत्ति कति छ मलाई नै थाहा छैन’ (भिडियो)

‘चन्द्रमा र मंगल ग्रहमा वस्ती बसाल्ने मन छ’

काठमाडौँ– वर्ष २०२० मा विश्वको अर्थतन्त्र निकै अस्तव्यस्त बन्यो । विश्वभर फैलिएको कोभिड १९ को महामारी अझै नियन्त्रणमा आउन सकेको छैन । तसर्थ अझै विश्व अर्थतन्त्र कति प्रभावित हुने हो भन्न सकिने अवस्था छैन । कोरोना महामारीले धेरैको आम्दानी घटेपनि केही व्यक्तिको आम्दानीमा भने वृद्धि भएको छ । हामी यहाँ एक जना यस्ता व्यक्तिको बारेमा चर्चा गर्दैछौँ जसले वर्ष २०२० मा अग्रगामी छलाङ मारेका छन् ।

वर्ष २०१९ मा विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूचीमा टप २० मा समेत नपरेका एलन मस्क नयाँ वर्ष २०२१ को ६ दिन नबित्दै संसारकै सर्वाधिक धनी व्यक्ति बन्न सफल भए । वर्ष २०१९ मा उनको २९ अर्ब डलरको ‘नेट वर्थ’ थियो तर एक वर्षमा झण्डै १६० अर्ब डलरले ‘नेट वर्थ’ मा वृद्धि भएर १९१ बिलियन डलर पुगेको छ । मस्कको कम्पनीको शेयरमा व्यापक वृद्धि भएपछि उनी अमेजनका संस्थापक जेफ बेजोसलाई उछिन्दै विश्वका सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।

ब्लुमबर्गका अनुसार गत जनवरी ७ का दिन मस्कको सम्पति १ खर्ब ८८ अर्ब डलर पुगेको थियो । उनको कम्पनी टेस्लाको मूल्य करिब एक वर्षमा ७४३ प्रतिशतले बढेको देखिएको छ । सन् २०२० मा टेस्लाको शेयर मूल्यमा १०६ बिलियनले बढेको थियो । यो अंक कार कम्पनीहरू टोयोटा, फक्सवागन, ह्युन्डेई, जीएम तथा फोर्डको कूल मार्केट भ्याल्यु भन्दा अधिक हो । गत नोभेम्बरमा नै विल गेट्सलाई उछिन्दै मस्क विश्वको दोस्रो धनी व्यक्ति बनेका थिए ।

को हुन् त एलन मस्क ?

स्पेस एक्सका संस्थापक तथा विद्युतीय कार कम्पनी टेस्लाका सीईओ हुन्, एलन मस्क । उनको जन्म दक्षिण अफ्रिकामा भएको थियो । उनकी आमा क्यानाडियन हुन् भने बाबु दक्षिण अफ्रिकी । मस्क बाल्यकालमा खुबै पुस्तक पढ्थे । उनले भनेका छन्, ‘‘म बाल्यकालमा निकै शान्त थिएँ । त्यसैले पनि मलाई निकै दुःख दिइन्थ्यो ।’’

मस्कले १० वर्षको उमेरमै कम्प्युटर प्रोग्रामिङ सिके र १२ वर्षमा ‘ब्लास्टर’ नामक भिडिओ गेम बनाए । उक्त गेमलाई स्थानीय एक म्यागजिनले ५०० डलरमा किन्यो । यसलाई उनको पहिलो व्यापारिक उपलब्धि मान्न सकिन्छ ।

मस्कको व्यापारिक शुरुवात १९९९ मा भयो जब उनी र उनका भाइ किम्बलले आफ्नो सफ्टवेयर कम्पनी ‘जिप २’ को सफलताका साथ बिक्री गरे । त्यसबाट आएको पैसालाई मस्कले एक नयाँ कम्पनीमा लगाए, जसको नाम ‘एक्स डट कम’ थियो । उनको सोही कम्पनीलाई अहिले ‘पेपल’को नामबाट चिनिन्छ । यसलाई सन् २००२ मा ई—बेय नामक कम्पनीले खरिद गरेको थियो । त्यसबाट उनले १६५ मिलियन डलर पाएका थिए, यो नै उनको करिअरको ठूलो उपलब्धि थियो ।

मस्कले त्यसपछि अन्तरीक्ष अन्वेषण प्रविधिमा काम गर्न शुरु गरे । त्यो प्रोग्रामलाई ‘स्पेस एक्स’ नाम दिइएको छ । यसले भविष्यमा मानिसलाई अर्को ग्रहमा बसोबास गर्न सक्नेबारे खोज गरिरहेको छ । सन् २००४ मा शुरु भएको उनको टेस्ला कम्पनीले इलेक्ट्रिकल कारमा लगाउने पूर्जा, ब्याट्री पनि बनाएर अन्य कार निर्माता कम्पनीहरुलाई बेच्ने गर्दछ । उनको कम्पनीले घरमा लगाउने सोलार इनर्जी सिस्टम समेत बनाउने गर्दछ । त्यस्तै उनले अमेरिकामा सुपरफास्ट अन्डरग्राउण्ड ट्रान्सपोर्ट सिस्टमको खाका समेत तयार गरिरहेको बताइएको छ । उनी आफूलाई लगानीकर्ता भन्नुभन्दा पनि एक इन्जिनियर भन्न रूचाउँछन् ।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?