चार पुस्तादेखि चाकुुसँग जोडिएको मीठो सम्बन्ध

'टोखाको शान, पुर्खाको सम्मान'

रामजी बलामी/काठमाडौं । ‘टुःख्यो’ अर्थात् टोखा । नेवारी भाषामा ‘टु’ भनेको उखु र ‘ख्यो’ भनेको बारी । यही ‘टुःख्यो’ शब्दको अपभ्रंश हुँदै अहिले टोखा नामाकरण भएको हो ।

टोखा भन्ने वित्तिकै हाम्रो मन मस्तिष्कमा चाकुको मिठासपन सल्बलाउँछ । चाकुको खास अर्थ गुलियो भन्ने हुन्छ । माघे संक्रान्ति अर्थात् ‘घ्यो चाकु सल्हु’को विशेष अझ भनौँ अनिवार्य परिकार हो, चाकु ।

संक्रान्ति नजिकिरहँदा काठमाडौंको टोखा क्षेत्र यतिवेला निकै मग्मगाइरहेको छ । टोखामा यतिवेला सादा चाकु, खुवा चाकु, स्पेशल चाकु, झोल चाकु, बाहिरी मसला, भित्री मसला, सुत्केरी मसला, सेतो तिल, कालो तिल, पुष्टकारी, तिलौरा लगायत १० भन्दा बढी चाकुका परिकारहरु पाकिरहेका छन् । तिनै परिकारहरुको बास्नाले मग्मगाइरहेको हो, टोखा । यतिवेला टोखा क्षेत्र पुग्ने जो कोहीको पनि मुख रसाउँछ । अझ तपाई चाकुको पारखी हुनुहुन्छ भने त तात्तातो चाकु नखाई फर्किन मनले मान्दैन । त्यसैकारण त चाकुका लागि प्रख्यात छ, टोखा ।

टोखामा कसरी भयो चाकुको आविष्कार ?

‘चाकु टोखाको पहिचान कसरी बन्यो त ?’ भन्ने विषयमा थाहा पाउन कम्तीमा ४ पुस्ता अघितिर फर्किनुपर्ने हुन्छ ।
टोखामा अहिले १३ वटा चाकु कारखाना छन् । तीमध्ये ७ वटा कारखाना त एउटै पुस्ताबाट सञ्चालित छन् । तीमध्येको एक हो, श्री काशिलाल चाकु प्रोडक्सन प्रालि ।

यस कारखानाका सञ्चालक बुद्ध श्रेष्ठले चाकु बनाउन थालेको १२ वर्ष बित्यो । उनका ४ पुस्ताले चाकुसँग नाता जोडेका छन् । यो व्यावसायलाई प्रवद्र्धन गर्न र बजारको माग धान्न उनका तीन भाइले पनि साथ दिएका छन् । तीन ठाउँमा चाकु उत्पादन गरिरहेका उनले ४० जना भन्दा बढीलाई रोजगारी दिएका छन् । यो एक सिजनमा मात्रै उनले ५० हजार किलो चाकु उत्पादन गरेका छन् । उनी अन्य मौसममा पनि माग अनुसारको चाकुहरु उत्पादन गर्छन् ।

बुद्ध श्रेष्ठ (उपाध्यक्ष, टोखा परम्परागत चाकु समाज)

श्रेष्ठका अनुसार टोखामा त्यसवेला अष्टमान श्रेष्ठ नामका एक चर्चित व्यापारी थिए । उनले भने, “त्यतिवेला टोखामा एकदमै धेरै उखु उत्पादन हुन्थ्यो, उहाँले त्यो उखुको सदुपयोग गर्ने विषयमा सोधखोज गर्दागर्दै चाकुको आविष्कार भएको हो ।”

चार पुस्ता अघि अहिले जस्तो न सवारीसाधन थिए न त विभिन्न मेशिनरी उपकरण नै । यस्तो परिस्थितिमा चाकुको उत्पादन र बजारीकरण कसरी हुन्थ्यो त ?

“शुरुमा उखुलाई बारीबाट ल्याइ काठको हम्मरले हानेर रस निकालिन्थ्यो, कतिपयले ढिकीमा कुटेर झोल निकाल्थे,” उनी अगाडि थप्छन्, “त्यसपछि निस्केको उखुको रसलाई माटोको भाँडामा जम्मा पारिन्थ्यो । यसरी जम्मा गरेको रसलाई सख्खर बनाइन्थ्यो । अनि त्यही सखरलाई पकाएपछि चाकु ।”

चामलसँग चाकु साटासाट

यसरी उत्पादित चाकुको बजारीकरण गर्ने तरिका पनि रोचक थियो त्यसवेला । चाकुलाई खर्पनमा राखेर गाउँवस्ती डुल्दै चाकुको बिक्री गरिन्थ्यो । अहिले जस्तो रुपैयाँ पैसामा मात्रै किनबेच हुँदैनथ्यो । पैसा नहुनेसँग धान, मकै, चामलसँग पनि चाकु साटिन्थ्यो ।

आफ्ना हजुरबुबाहरु टोखादेखि दोलखा भिमसेनसम्म हिँडेर चाकु बिक्री गर्न जाने गरेको श्रेष्ठ सुनाउँछन् । “मेरो हजुरबुबा सात गाउँ सात फेर घुम्दै दोलखा भिमसेनसम्म चाकु बेच्न जानु हुन्थ्यो,” उनले भने । त्यसवेला अहिले जस्तो चाकुको प्याकिङ गर्ने चलन थिएन । त्यसैले सिंगै चाकुलाई खर्पनमा बोकेर जाने र आवश्यकता अनुसार फुटाएर बेच्ने चलन थियो ।

पहिले र अहिले चाकु बनाउने तरिका र स्वादमा धेरै भिन्नता आएको बताउँछन् श्रीकृष्ण चाकु प्रोडक्सन प्रालिका सञ्चालक कृष्णलाल श्रेष्ठ । “पहिलेपहिले हातले मुछेर बनाउँथ्यौं, अहिले हातले तानेर बनाउँछौं,” उनले भने ।

   कृष्णलाल श्रेष्ठ, चाकु व्यवसायी 

उनका अनुसार त्यसवेलाको सखर र अहिलेको सखर नै फरक छ । “त्यो वेला २५ धार्नीको सखर आउँथ्यो, चाकु बनाउन धेरै गाह्रो हुन्थ्यो,” उनी भन्छन् । अहिले चाकु बनाउन सहज मात्रै छैन मीठो पनि लाग्छ रे उनलाई ।

मीठो चाकु बनाउने चक्र

खाँदा मीठो लाग्ने चाकु बनाउन त्यति सजिलो भने छैन । “चाकु खानलाई मीठो छ तर बनाउनलाई पसिना छुटाउनु पर्छ,” टोखा परम्परागत चाकु समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठ भन्छन् ।

चाकु बनाउनलाई शुरुमा सखरलाई फोसी (एक प्रकारको ठूलो भाँडो)मा राखेर पकाइन्छ । सादा चाकु बनाउनलाई सख्खरलाई त्यतिकै पकाइन्छ भने स्पेशल चाकु बनाउनका लागि खुवा, बदम, नरिवल लगायतका मसलालाई राखेर पकाइन्छ ।

सख्खर पाकेको/नपाकेको कसरी थाहा पाउने त ? “यो पाकेको नपाकेको अरुलाई हत्तपत्त थाहा हुन्न, हामी अनुभवीलाई मात्रै थाहा हुन्छ,” कृष्णलाल श्रेष्ठ भन्छन् । पकाएको सख्खरलाई निकालेर पानीमा राख्दा फुट्यो भने त्यो पाकेको हुन्छ अथवा १२० डिग्री तापक्रममा पनि सख्खर पाक्छ ।
यसरी पाकेको सख्खरलाई चिस्याउनका लागि सफा ठाउँमा खन्याइन्छ । चिसो भइसकेपछि त्यसलाई मज्जाले फिटिन्छ । चाकु फिटेको हेर्दा निकै मज्जा लाग्छ ।

फिट्नेलाई चाहिँ कस्तो फिल हुन्छ त ?

“हेर्नेलाई जस्तो कहाँ मज्जा हुन्छ र दाई, हात दुखेर पालैपालो फिट्नुपर्छ,” चाकु फिट्दै गरेका दिपेश लामा भन्छन् । चाकु फिट्न नजान्दा भूइँमा खस्ने र रंग नआउने हुन्छ । चाकु त्यतिन्जेल फिटिन्छ जबसम्म यसको रंग आउँदैन ।

चाकु चाख्दै गोसाइकुण्ड यात्रा

चाकु मुख मीठो बनाउनका लागि मात्रै होइन स्वास्थ्यका लागि पनि उपयोगी मानिन्छ । कतिपय समूदायमा सुत्केरी महिलालाई चाकुभात अनिवार्य मानिन्छ । “सुत्केरीले चाकु खाँदा शिशुलाई अत्यावश्यक दुध पर्याप्त मात्रामा आउँछ, यसले आमा र बच्चा दुवैको स्वास्थ्यलाई लाभ मिल्छ,” कृष्णलालको दाबी छ ।

गोसाइँकुण्ड यात्राका क्रममा धेरैलाई कष्ठ हुने गर्छ । यस्तै कष्टप्रद क्षण भोगेका छन् बुद्धले पनि । यात्राका क्रममा सास फेर्नै सकस भएपछि उनले चाकु चाख्दै यात्रा गरेको अनुभव सुनाए । “चाकु खाएपछि बल आउँछ, रुघा लाग्दा, जिब्रोमा घाउ हुँदा र कमजोर महशुस हुँदा चाकु खानु उपयुक्त हुन्छ,” उनले एकैस्वरमा चाकुको बखान गर्न भ्याए ।

त्यसो त यो जाडो मौसममा चाकु र भात मात्रै खानेहरु पनि थुप्रै छन् । “अझ त्यसमा अलिकति घ्यू मिसाउन पाए त कति मीठो, कति फाइदा,” उनले हाम्रो मुखमा पानी निकालेरै छोडे ।

चाकुमा किरिङकिरिङ किन ?

चाकु व्यवसायीसँग आम उपभोक्ताको एउटै गुनासो छ, ‘चाकुमा किरिङकिरिङ किन ?’ यसमा दोषी चाकु उत्पादक कि अरु नै कोही ? उत्पादकहरु भने यसमा आपूmहरुको कुनै दोष नरहेको दाबी गर्छन् । “हामीले सख्खर बाहिरबाट मगाउने हो, सख्खर अनुसारको चाकु बन्छ,” बुद्ध श्रेष्ठ भन्छन् । आपूmहरुले पानीवाहेक अरु केही पनि रसायन नमिसाएको दाबी गर्दै उनले भने, “गुणस्तरीय चाकु बनाउन गुणस्तरीय सख्खर चाहिन्छ त्यसका लागि सख्खर उत्पादन गर्ने उद्योगले ध्यान दिनुपर्छ ।”

यस विषयमा उनीहरुले गुणस्तरीय मापन पनि गरेका रहेछन् । त्यसक्रममा चाकुमा केही ‘डिफेक्ट’ भेटिएपनि त्यसलाई अर्गानिक मानिएको उनी बताउँछन् । त्यही प्रमाणपत्रका आधारमा उनीहरुले विदेशमा चाकु निर्यात गर्दै आएका छन् । उखु नै नधोइकन सख्खर उत्पादन गर्दा यस्तो समस्या आउने गरेको उनीहरु बताउँछन् ।

अन्तराष्ट्रिय बजारीकरण र चाकु स्तम्भको तयारी

‘म वार्षिक २ हजार किलो चाकु विदेशमा निर्यात गर्छु, सरकारले सहयोग गरेमा अझ बढी निर्यात गर्न सकिन्छ,’ बुद्ध भन्छन् । उनले अहिले अष्ट्रेलिया, चीन, जापान, अमेरिकालगायतका मुलुकहरुमा चाकु निर्यात गर्दै आएका छन् ।

यसका अलावा अन्य विभिन्न देशहरुबाट पनि चाकुको माग आउने गरेको छ तर सरकारले गुणस्तर प्रमाणपत्र नदिँदा उनीहरुले माग अनुसारको चाकु निर्यात गर्न पाएका छैनन् । “गुणस्तरीय प्रमाणपत्र लिनका लागि हामीले धेरै पहल ग-यौं तर सरकारले खासै चासो दिएन,” उनले गुनासो पोखे ।

चाकुको प्रवर्द्धन र बजारीकरणका लागि टोखाका व्यवसायी एकजुट भएर हातेमालो गरिरहेका छन् । चाकुको प्रवर्द्धनकै लागि दुई वर्ष अघि स्थापित टोखा परम्परागत चाकु समाजले ‘टोखाको शान, पुर्खाको सम्मान’ भन्ने भनाइलाई आत्मसाथ गर्दै चाकु स्तम्भ राख्ने तयारी गरिरहेको उपाध्यक्ष श्रेष्ठ बताउँछन् । “हामीले टोखामा छिट्टै नै चाकु स्तम्भ राख्दैछौं, त्यसका लागि तयारी भइरहेको छ,” उनले भने ।

भिडियो रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?