नेपालको पासपोर्ट विश्वकै कम शक्तिशाली पासपोर्टहरुको सूचीमा, किन खस्कियो नेपालको साख ?

काठमाडौं । कोभिड १९ महामारीले हवाइ यात्राको नापनक्सा नै बदलिदिएको छ । एयरपोर्टमा सुटकेस लिएर टहल्ने, पासपोर्ट देखाउने, आफूलाई जहाँ मन छ त्यहीँ उडेर जाने दृश्य अझै हामीभन्दा धेरै टाढा छ । त्यसमाथि अहिले त विश्वभरिका विभिन्न देशहरुले एकपछि अर्को गर्दै फेरि लकडाउन घोषणा गरिरहेका छन् । कोरोनाको लहर दोहोरिन थालेको छ । नयाँ स्ट्रेनको संक्रमणसमेत फैलिन थालेको छ ।

यदि अवस्था सामान्य भएर सबै लकडाउन फुकुवा गर्ने दिन आयो नै भनेपनि हवाइ यात्राका लागि अनिवार्य खोप लगाएको हुनुपर्ने व्यवस्था नआउला भन्न सकिन्न ।

यसरी विश्व हवाइ यात्रामा अल्पविराम लागेका वेला ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले भने सन् २०२१ मा विश्वका सबैभन्दा शक्तिशाली (भ्रमणमैत्री) तथा कम शक्तिशाली पासपोर्टको नामसहित एक प्रतिवेदन सार्वजनिक गरेको छ ।

आवधिक रुपमा विश्वभरिका राष्ट्रहरुको पासपोर्टको शक्ति मापन गर्दै आएको ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ अन्तर्राष्ट्रिय हवाइ यातायात आयोगले प्रदान गर्ने तथ्याङ्कमा आधारित छ । यसले आफ्नो अनुसन्धानमा १९९ वटा पासपोर्ट र २२७ भ्रमण गन्तव्यहरुलाई समेटेको छ । विभिन्न देशका भिसा नीतिमा परिवर्तन आउनासाथ यस तथ्याङ्कलाई अद्यावधिक गरिन्छ ।

यस सूची अनुसार नेपालको पासपोर्ट विश्वकै कम शक्तिशाली पासपोर्टहरुको सूचीमा परेको छ ।

विश्वका लागि नेपाल विश्वास गर्न ‘अयोग्य’ ?

सन् २०२१ का लागि नेपालको पासपोर्ट विश्वकै कम शक्तिशालीको सूचीमा परेको छ । विश्वभरिका ११० राष्ट्रका पासपोर्टमध्ये नेपालको पासपोर्ट १०४ औं स्थानमा परेको हो ।

सन् २०१८ देखि २०२० सम्म विश्वका १०७ वटा देशका पासपोर्ट मध्ये नेपाल १०१औं स्थानमा रहेको थियो ।

कम शक्तिशाली पासपोर्टको सूचीमा सिरिया, यमन, उत्तर कोरिया, अफगानिस्तान लगायत प्राय द्वन्द्वमा फसेका, तानाशाही शासन भएका, आतंककारी गतिविधिहरुको दबदबा रहने राष्ट्रहरु छन् ।

नेपाल अहिले न द्वन्द्वमा होमिएको छ न यहाँ तानाशाहीको शासन छ न त कुनै अपराधिक या आतंकवादी गिरोहहरु सक्रिय छन् । त्यसोभए नेपाल यो सूचीमा किन प-यो ? प्रश्न जायज छ ।

राहदानी विभागका प्रवक्ता राजेन्द्र पाण्डेका अनुसार भिसा दिने/नदिने भन्ने कुरा राष्ट्रको राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाले पनि निर्धारण गर्दछ ।

‘आर्थिक र सामाजिक हिसाबले नेपाललाई विश्वमा पिछडिएको राष्ट्रका रुपमा हेरिन्छ जसकारण यस देशका मानिसहरु विदेश भ्रमण वा पर्यटनका लागि भन्दा पनि रोजगार तथा बसोबासका लागि नै विदेश जान्छन् भन्ने छाप परेको छ,’ पाण्डे भन्छन् । यसले अरु राष्ट्रमाझ नेपालको विश्वसनीयतामा खलल पु-याउने र सो राष्ट्रहरुले नेपाललाई अन अराइभल भिसा नदिने उनी बताउँछन् ।

विज्ञहरुका अनुसार नेपाल यस सूचीमा पर्नुका पछाडि रहेका विभिन्न कारणहरुमा एक हो, ‘भिसा सम्बन्धि नीति नियमको उल्लंघन ।’ अर्थात् नेपालीहरुले धेरैपटक भिसा सम्बन्धित नियमकानूनको उल्लंघन गर्ने गरेका छन् ।

अझ दुखको कुरा त के भने कैयौंपटक सरकार फेरियो तर, वर्षौंदेखि नेपाली पासपोर्टको हविगत फेरिएन । यस विषयमा कसैले ठोस कदम चालेन ।

पछिल्ला केही वर्षमा कूटनीतिज्ञ तथा उच्च ओहोदाका अधिकारीहरुले पासपोर्ट दुरुपयोग गरेका घटनाहरु बाहिरिए । त्यस्तै आम जनताको हकमा भने टुरिस्ट भिसामा विदेश जाने अनि भिसा सकिएपछि पनि त्यहीँ बसिदिने, गैर कानूनी रुपमा विदेश बस्ने आदिजस्ता प्रवृत्तिहरुले गर्दा पनि धेरै राष्ट्रहरुले नेपाललाई भिसा फ्री(भिसा नचाहिने) अथवा भिसा अन अराइभल(गन्तव्यमा पुग्नासाथ भिसा पाउने)को अनुमति नदिएको हुनसक्ने विज्ञहरुको अनुमान छ ।

पहिला विभिन्न यूरोपियन मुलुकहरुमा नेपाललाई ३ महिनाको भिसा अन अराइभलको सुविधा थियो । तर, धेरै नेपालीहरु भिसा अवधि सकिएपछि गैरकानूनी रुपमा उतै बस्न थालेपछि भिसामा कडाइ गर्न थालियो ।

अहिले भारतमा मात्रै नेपाललाई भिसा फ्री सुविधा छ । अन्य देशमा ३०, ६० वा ९० दिनका लागि अन अराइभल भिसाको सुविधा छ । तर, यो अनुमति दिने प्राय राष्ट्रहरु कि एशियाका छन् या अफ्रिकाका ।

जापान एक नम्बरमा

यता नेपाल विश्वकै कमजोर पासपोर्ट भएको राष्ट्रको सूचीमा परिरहँदा अर्कातिर जापानले फेरि पनि आफ्नो सर्वोत्कृष्ट स्थान कायम गर्न सफल भएको छ ।
यससँगै एशियालीहरुसँग विश्वकै शक्तिशाली भ्रमण कागजात हुने क्रम यसपालि पनि जारी रहेको छ ।

इन्डेक्सले अस्थायी प्रतिबन्धहरुलाई मध्यनजर नगर्ने भएकाले जापानले फेरि पनि यस सूचीको शीर्ष स्थान हासिल गर्न सफल भएको छ । विश्वभरिका १९१ गन्तव्यहरुका लागि भिसा नलाग्ने अथवा भिसा अन अराइभलको सुविधा प्राप्त भएकाले जापानको पासपोर्ट सबैभन्दा भ्रमणमैत्री सावित भएको हो ।

त्यसैगरी, १९० अंक हासिल गर्दै सिंगापूर यस सूचीको दोस्रो स्थानमा रहन सफल भएको छ भने दक्षिण कोरिया र जर्मनी १८९ अंक सहित तेस्रो स्थानमा छन् ।
१८५ गन्तव्यहरुमा भिसा फ्री पहुँच दिएर न्यू जिल्याण्ड सातौं स्थानमा छ भने अस्ट्रेलिया १८४ गन्तव्यमा भिसामुक्त सुविधा दिँदै आठौं स्थानमा रहन सफल भएको छ ।

अमेरिका र बेलायतमा यतिवेला कोरोना भाइरसको संक्रमण सङ्ख्या अत्याधिक मात्रामा बढिरहेको छ । बेलायतमा त झन् कोरोनाको नयाँ स्ट्रेनको संक्रमण बढिरहेको अवस्था छ । त्यसकारण हेन्लीको सूचीमा सातौं स्थानमा अमेरिका र बेलायत हुनुपर्ने भएतापनि अहिलेको अवस्थामा अमेरिकाको पासपोर्ट हुनेहरुले ७५ वटा भन्दा कम र बेलायतको पासपोर्ट हुनेले ७० भन्दा कम गन्तव्यहरु मात्र भ्रमण गर्न पाइरहेका छन् ।

यूएईको छलाङ…

सन् २०२० मा ‘हाइ प्रोफाइल’(उच्च स्तरीय) भिसा सम्झौताहरु निकै कम भए । तर, हेन्लीको तथ्याङ्क अनुसार यूएई यसको अपवादमा रह्यो ।

यूएईले अघिल्लो वर्ष(सन् २०२०)मा विभिन्न देशहरुसँग केही महत्वपूर्ण भिसा सम्झौता स्थापित ग-यो । अमेरिका पनि त्यसमध्ये एक हो ।

यूएईले इजरायलसँग औपचारिक सम्बन्ध कायम गर्दै सम्झौता ग-यो जसमा दुवै राष्ट्रले एकअर्कालाई आफ्नो देशमा ‘भिसा फ्री’ प्रवेशको अनुमति प्रदान गरेका छन् ।

‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले सार्वजनिक गरेको सूचीमा भने यूएई १६औं स्थानमा छ । यसले १७३ वटा गन्तव्यहरुका लागि भिसा फ्री अथवा भिसा अन अराइभलको सुविधा प्रदान गरेको छ ।

सन् २००६ मा पहिलो पटक यो सूची सार्वजनिक गर्दा यूएई ६२औं स्थानमा थियो । यति छोटो समयमा यूएईको यो छलाङ प्रशंसनीय रहेको बताइन्छ ।

वर्ष २०२१ का शक्तिशाली पासपोर्टहरुः

१.जापान (१९१ गन्तव्य)
२.सिंगापूर(१९०)
३.दक्षिण कोरिया, जर्मनी(१८९)
४.इटाली, फिनल्याण्ड, स्पेन, लक्जेमवर्ग(१८८)
५.डेनमार्क, अस्ट्रिया(१८७)
६.स्वीडेन, फ्रान्स, पोर्चुगल, नेदरल्यण्ड्स, आयरल्याण्ड(१८६)
७.स्वीट्जरल्याण्ड, अमेरिका, बेलायत, नर्वे, बेल्जियम, न्यू जिल्याण्ड(१८५)
८.ग्रीस, माल्टा, जेक रिपब्लिक, अस्ट्रेलिया(१८४)
९.क्यानाडा(१८३)
१०.हंगेरी(१८१)

वर्ष २०२१ का सबैभन्दा कम शक्तिशाली पासपोर्टः

विश्वका केही राष्ट्रहरुले ४० भन्दा कम गन्तव्यहरुका लागि मात्रै भिसा फ्री अथवा भिसा अन अराइभलको सुविधा दिएका हुन्छन् । सन् २०२१ मा सबैभन्दा खराब पासपोर्ट सावित भएका केही राष्ट्रहरुको नाम यसप्रकार छन्ः

१०३.उत्तर कोरिया(३९)
१०४.लिबिया, नेपाल(३८)
१०५.प्यालेस्टाइन(३७)
१०६.सोमालिया, यमन(३३)
१०७.पाकिस्तान(३२)
१०८.सिरिया(२९)
१०९.इराक(२८)
११०.अफगानिस्तान(२६)

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?