काठमाडौँ । काठमाडौंको टोखा नगरपालिका–३ स्थित ग्रिनभिला हाउजिङमा मृत अवस्थामा फेला परेका एक दम्पतीको मृत्युको कारण अझै खुलेको छैन । उमेश केसी र उनी पत्नी सुदीक्षा गिरीको शव शुक्रबार राति अपार्टमेन्टमा भेटिएको थियो ।
उमेशको शव ओछ्यान र सुदीक्षाको घाँटीमा पासो लगाएर झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । शुक्रबार राति नै दुवै शव त्रिवि शिक्षण अस्पताल पुर्याएर प्रहरी अनुसन्धानमा जुटेको छ ।
घटनाको मुचुल्का तयार पार्न खटिएका एक प्रहरीका अनुसार उमेशको शव अर्धनग्न र ओछ्यानमा पल्टिएको अवस्थामा भेटिएको थियो । उनको देब्रेतर्फको टाउकोमा चोटपटक लागेको थियो । नजिकै मसला पिस्ने सिलौटो रगतले लतपतिएको अवस्थामा भेटिएको छ । सुदीक्षाको शव सलले पासो लगाइएको अवस्थामा प्रहरीले फेला पारेको थियो । त्रिवि शिक्षण अस्पतालमा दुवै शवको आइतबार पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमको विस्तृत रिपोर्ट आउन अझै एक साता लाग्ने जानकारी चिकित्सकले प्रहरीलाई दिएका छन् ।
चिकित्सकले पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा उमेशको मृत्यु ‘ब्लन्ट फोर्स इन्जुरी’बाट भएको उल्लेख गरेका छन् । उमेशको मृत्यु भएको करिब १०/१२ घण्टापछि सुदीक्षाको मृत्यु भएको जानकारी चिकित्सकले प्रहरीलाई गराएका छन् । घटनास्थलबाट बरामद गरिएका उमेश र सुदीक्षाका मोबाइल फोन लक गरिएकाले प्रहरीले खोल्न सकेको थिएन । दुवै मोबाइल लक खोलेर प्रमाण जुटाउन विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया