काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले नुवाकोट क्षेत्रका देवीघाट, चिम्टेश्वर र दरबार संरक्षण र प्रवर्द्धन गर्ने बताएका छन् ।
मन्त्री ढकालले नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदानको कदरस्वरूप ऐतिहासिक तथ्यको खोजी, संरक्षण र विकास गर्दै पर्यटन प्रवर्द्धन गर्न उक्त क्षेत्रका लागि विकास समिति गठनको प्रक्रिया अगाडि बढाइएको समेत जानकारी दिए ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले आइतबार राजधानीमा आयोजना गरेको ‘पृथ्वीनारायण शाह र नेपालको एकीकरण’ विषयक विचार गोष्ठीमा मन्त्री ढकालले यस्तो जानकारी दिएका हुन्। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा प्रतिष्ठानले सो विचार गोष्ठी आयोजना गरेको हो ।
उनले पृथ्वीनारायण शाहलाई ‘गर्व गर्न लायक अभिभावक’का रूपमा चर्चा गर्नुहुँदै राष्ट्र अखण्ड र अक्षुण्ण हुन्छ भन्ने त्यो बेलाको चेतना आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए । उनले सहमतिको आधारमा राजतन्त्रको बिदाइ र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसकेको सन्दर्भमा नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदानलाई नेपाल र नेपालीले सदासर्वदा सम्झिरहने बताए ।
मन्त्री ढकालले धर्म, संस्कृति र परम्पराको बर्खिलापमा संविधान नरहेको एवं बलजफ्ती धर्म परिवर्तन गर्ने कार्य दण्डनीय भएको स्पष्ट पारे ।
कार्यक्रममा प्रा.डा. टेकबहादुर श्रेष्ठले ‘पृथ्वीनारायण शाहको एकीकरण अभियानः सङ्क्षिप्त चर्चा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै पृथ्वीनारायणले एकीकरण थालेको र जीवनको आखरी दिन बिताएको नुवाकोटमा समाधिस्थल निर्माण गर्नुपर्नेमा जोड दिए । गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया