वितृष्णा बोकेर विदेश

धनगढी । २७ वर्षीय पञ्चकुमार डीसी भारतको बैंगलोर जान पत्नी रजनपुरा रोकाया डीसीको हात समातेर कैलालीको गौरीफन्टा सीमानाकामा लाम लागेका थिए। कर्णाली प्रदेशको कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–२ का डीसीको अनुहार मलिन थियो। उनी पहिलो पटक काम खोज्दै भारत जान लागेका रहेछन्  ।

‘मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको स्थानीय तह र मेरो तह जोडिएका छन्। म उहाँको छिमेकी हो’, डीसीले भने, ‘तर, कुनै फरक अनुभूति भएन। उहाँले निर्वाचनका बेला गर्नुभएका वाचा सबैले बिर्सिसक्नुभयो।’

डीसी गाउँमा मेलमिलाप सहजकर्ता हुन्। तर, त्यो जागिर सकिएपछि, उनी बेरोजगार भएर भारततिर हिँडेका हुन्। ‘भएको सानो रोजगारी पनि सकियो’, उनले भने, ‘अब श्रीमती लगेर दुवै जना काम गर्ने भनेर भारत जान लागेको।’

उनले निर्वाचनमा भोट दिए। ‘मैले भोट दिएका नेताले जित्नुभएको पनि हो। उहाँकै पार्टी सरकारमा छ’, उनले भने, ‘दुई तिहाइ नजिकको प्रतिनिधिसभा अहिले भंग भएको छ। कुनै नेता पदका लागि सडकमा आएका छन् भने कुनैले पद नछाडेका कारण यत्रो लडाइँ भइरहेको छ। वितृष्णा जाग्छ मनमा। गाउँमा बस्ने त मन हुन्छ तर के गरेर बस्ने ? के खाएर बस्ने ?’

बैतडीको दशरथचन्द नगरपालिका–५ औलाका २७ वर्षीय पदम कोली र २३ वर्षीय नीरज कोली दाजुभाइ रहेछन्। उनीहरूले पनि गत निर्वाचनमा भोट दिए। ‘यसपालिको सरकारले भारतमा जानेहरूलाई रोक्छ, गाउँमै रोजगारी सिर्जना हुन्छ, सबैले नोकरी पाउँछन् भनेका थिए’, पदमले भने, ‘तर, आफैँ लडेर कोही सडक त कोही सत्तामा छन्।’

प्रतिनिधिसभा विघटन भएपछि वैशाखमा निर्वाचन घोषणा भएको छ। निर्वाचनमा सहभागी हुनु हरेक सचेत नेपालीको दायित्व हो। तर, भारतमा सुरक्षागार्डको जागिरमा रहेका नीरजले भने, ‘हाम्रा मत ती नेता र तिनका आफन्त बनाउनका लागि हुन्, यसपालिको निर्वाचनमा त घर पनि आइन्न।’

कोली दाजुभाइका घरमा वृद्ध बुवाआमा छन्। पदमको त बिहे भइसक्यो। दुवै जनाले भारतमा मजदुरी गरेर कान्छो भाइलाई पढाउन खर्चको जोहो गर्ने बताए। ‘पढाएर त के गर्नु ? यस्तै अवस्था रह्यो भने उसले जति पढे पनि जानुपर्ने त भारतमै हो’, नीरजले भने, ‘हाम्रा देशका सरकार देखेर दिक्क लागेर आउँछ।’

लकडाउन खुलेपछि भारत जाने नेपालीको संख्या धेरै बढेको छ। सुदूरपश्चिमबाट लकडाउनयता १ लाख ८० हजार मानिस भारत गएका छन्। जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरको तथ्यांकअनुसार कैलालीको गौरीफन्टा नाकाबाट मात्रै १ लाख ३७ हजार र कञ्चनपुरको गड्डाचौकी नाकाबाट ४० हजारभन्दा बढी भारत पसेका हुन्।

अझ रोचक त के छ भने भारत जानेमा महिला बालबालिकाको संख्या मात्रै ७६ हजार छ। ‘घरमा खान पुग्दैन। भारत गएका व्यक्तिले खानाका मात्रै लागि पनि श्रीमती र बच्चाहरूलाई भारत लगिरहेका हुन्छन्’, निडस नेपालका कार्यक्रम प्रबन्धक मडै भन्छन्, ‘नेपालका लागि यो गम्भीर विषय हो।’ अन्नपूर्ण पोस्टमा शिवराज भट्टले खबर लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?