ट्रम्पको उक्साहटमा संसदमा हिंसा

वासिङ्टन डीसी ।  अमेरिकी संघीय संसद् (क्यापिटल हिल)मा बुधबार जो बाइडेनलाई राष्ट्रपति पदमा निर्वाचित भएको घोषणा गर्ने दिन थियो। गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका थिए। तर, धाँधली भएको भन्दै हार अस्वीकार गर्दै आएका ट्रम्पको समर्थनमा बुधबार वासिङ्टनमा हजारौं भेला भएका थिए।

’ट्रम्पको भाषणलगत्तै भीड संसद् भवनतर्फ मोडियोे। ट्रम्पको उक्साहटमा उनका समर्थक सुरक्षा घेरा तोड्दै जबरजस्त संसद् भवनमा प्रवेश गरे। त्यहाँ हिंसा मच्चियो। अमेरिकी समयअनुसार बुधबार दिउँसो ट्रम्प समर्थकको ठूलो भीड संसद् भवन प्रवेश गरेको थियो। उनीहरूले संसद्मा तोडफोड नै गरे।

प्रदर्शनकारी संसद् भवन पुग्दा बाइडेनको विजयीलाई प्रमाणीकरण गर्ने क्रम चलिरहेको थियो। ट्रम्पका समर्थक बाइडेनलाई राष्ट्रपतिमा विजयी भएको प्रमाणित गर्ने काम रोक्न चाहन्थे। ट्रम्पले आफ्ना समर्थकलाई चुनावी परिणाम उल्टाउन संसद् भवन प्रवेश गर्न उक्साएपछि हंगामा भएको जनाइएको छ। भीड सिनेट हलसम्मै पुगेको थियो। भीडमा रहेका एक प्रदर्शनकारी सभामुख न्यान्यी पेलोसीको कुर्सीमा पुगेर राष्ट्रपति पदमा ‘ट्रम्प विजयी’ भएको बताएका थिए।

सुरक्षाकर्मीका अनुसार उक्त हिंसामा चार प्रदर्शनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर एक महिलाको मृत्यु भएको हो। तीन जनाको ‘मेडिकल आपतकालीन अवस्था’का कारण मृत्यु भएको प्रहरीले जनाएको छ।

वासिङ्टन डीसीका वरिष्ठ प्रहरी अधिकारीका अनुसार संसद् भवनभित्र दुईवटा पाइप बम फेला परेको छ। अन्य हतियारसमेत भेटिएको ती अधिकारीले बताए। थप हिंसा हुन नदिन वासिङ्टन डीसीमा बुधबार राति १२ घण्टा कफ्र्यु लगाइएको थियो। सडकमा कडा सुरक्षा छ। संसद् भवनमा प्रदर्शनकारीको जबर्जस्त प्रवेशलाई अमेरिकी इतिहासमै खराब सुरक्षा उल्लंघनको घटनामध्ये एक भएको दाबी गरिएको छ।

प्रदर्शनकारीको आक्रमण भएको चार घण्टापछि मात्रै संसदीय प्रक्रियाले निरन्तरता पाएको थियो। संसद् भवन पूर्णरूपमा सुरक्षित रहेको घोषणा गर्दै बाइडेनलाई विजयी भएको प्रमाणीकरण गर्ने काम सुरु भएको थियो। उपराष्ट्रपति माइक पेन्सले संयुक्त सदनलाई सम्बोधन गर्दै घटनाको भत्र्सना गरेका थिए। पेन्सले यो घटना जसले गराए पनि तिनीहरूको जित नहुने भन्दै हिंसाको कहिल्यै विजय नहुने बताए। साथै, उनले यो घटना अमेरिकाको इतिहासमा कालो दिन भएको टिप्पणी गरे। अन्नपूर्णपोष्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?