काकाकुल बन्दैछ काठमाडौं : मेलम्चीमा फोहोरी खेल, पानीमाथि सधैँ झेल !

लोकपथ
0
Shares

कमला अर्याल /काठमाडौँ – कहिले आउँछ मेलम्चीको पानी ? आगामी दशैँमा, नयाँ वर्षमा अथवा नयाँ आर्थिक वर्षमा ? कहिले ? यी प्रश्न गर्दागर्दै काठमाडौँवासीका गला सुकिसकेका छन् । तर मेलम्चीको पानी आउन सकेको छैन ।

गत वर्ष खानेपानी मन्त्री बिना मगरले कुनै पनि हालतमा आफूले मेलम्चीको पानी ल्याइछाड्ने दाबी गरेकी थिइन् । तर उनले पनि काठमाडौंवासीको तिर्खाएको गला भिजाउन सकिनन् ।

निवर्तमान मन्त्री मगर जस्तै कयौँपटक कयौँ खानेपानी मन्त्री आए, गए । तर उनीहरु कसैले पनि काठमाडौँका सर्वसाधारणको खानेपानीको समस्या समाधान गर्न सकेका छैनन् ।

जुनसुकै मन्त्री आएपनि उपत्यकामा मेलम्चीको पानी ल्याएनन् । सर्वसाधारणमाथि सधै खानेपानीका नाममा झेल मात्रै भइरह्यो । आज, भोलि गर्दै मेलम्चीमा राजनीति गरियो ।

आयोजनाको यो झेलका कारण काठमाण्डौँ उपत्यकाका सर्वसाधारणले वर्षौं बित्दा पनि खानेपानी पाउन सकेका छैनन् ।

कति भयो प्रगति ? 

निर्माणको काम लगभग सबै सम्पन्न भएको छ । पाइपमा पानी हाल्नुपूर्व थर्ड पार्टी (तेस्रो पक्ष)बाट परिक्षण गराउनुपर्ने भएकाले जर्मनबाट विज्ञ टोली मगाएर परिक्षण गर्ने काम समेत भएको छ । यो काम गत डिसेम्बरमै सम्पन्न भइसकेको छ । जर्मनी विज्ञ टोलीले नयाँ अंग्रेजी वर्षको जनवरी अन्तिमसम्म नेपाल सरकारलाई प्रतिवेदन बुझाउने छन् ।

विज्ञहरुको प्रतिवेदन आएपछि पानी खन्याउन शुरु गरिने मेलम्ची आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । तर केही काम भने अझै बाँकी रहेको उनको भनाइ थियो । ‘सानातिना काम अझै बाँकी छन् ।’ प्रवक्ता पन्तले भने ।

उनका अनुसार नदीमा बाँध बाँध्ने काम अझै १० प्रतिशत बाँकी छ । ९० प्रतिशत सम्पन्न भइसकेको छ ।

त्यसका साथै वैकल्पिक प्रणालीबाट पानी ल्याउन खोजिएकाले पनि केही विलम्ब भएको उनले बताए ।

वैकल्पिक बाटोबाट पानी ल्याउन सुरुङ खन्ने काम सक्न अझै दुई महिना लाग्नेछ ।

सो सुरुङको काम अझै सकिएको छैन । गत असारमा भएको घटनाका कारण काममा केही ढिलाई भएको पन्तको भनाइ छ । उनका अनुसार आयोजनाको कूल बजेट ३१ अर्ब ३६ करोडमध्ये हालसम्म ३० अर्ब रुपैँयाकोे हाराहारीमा खर्च भएको छ ।

आयोजनाको कामको जिम्मा लिएको इटालीको ठेकेदार कम्पनी सीएमसीका कारण पनि आयोजनामा अवरोध आएको थियो । सीएमसीले स्थानीय श्रमिक, आपूर्तिकर्ता, सब–कन्ट्याक्टरहरुलाई भुक्तानी गएपछि समस्या आएको थियो । भुक्तानी नपाएपछि आयोजनाको काम पनि केही समय पूर्ण रुपमा प्रभावित भएको थियो ।

कहिले आउला त पानी ?

जनवरी महिनाको अन्तिमसम्म जर्मनी अध्ययन टोलीले सरकारलाई प्रतिवेदन बुझाएपछि उनीहरुले दिएका सल्लाह र सुझावका आधारमा आयोजनाको काम अगाडि बढ्नेछ । आगामी फेब्रुअरीको अन्तिमसम्म पानी पठाउने गरी तयारी गरिरहेको प्रवक्ता पन्तको भनाइ छ । प्राकृतिक विपत्तिले पनि पानीलाई असर नगरोस् भनेर वैकल्पिक प्रणाली बनाएको हो ।

यसरी भयो आयोजनाको शुरुवात  :

यो आयोजनाको सम्भाव्यता अध्ययन वि.स २०४१ तिर नै भएको थियो । वि.स २०५२ सालमा पहिलो पटक मेलम्ची खानेपानी लिमिटेड स्थापना भएको थियो । यससँगै आयोजनाको कामको थालनी गरिएको थियो ।

यसले लगानीकर्ता खोज्न नसकेपछि वि.स २०५५ सालमा विकास समितिमा लगिएको थियो । त्यसपश्चात् यस आयोजनाको काम अगाडि बढाउन वि.स. २०५७ मा एसियाली विकास बैंक (एडीबी) लगायतका दातृ निकायसँग ऋण सम्झौताको काम समेत भएको थियो । सो ऋण सम्झौता गर्दा ६, ७ वर्ष अर्थात् (२०६४) भित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएकोे थियो । तर काम भने अझै सम्पन्न भएको छैन । २०६१ सम्म आइपुग्दा यस योजनाबाट नोर्डिक र सिडा लगायतले सम्झौता गरेको लगानी पनि नगर्ने भए ।

यस आयोजनामा वि.स. २०६५ सालमा चिनियाँ ठेकेदार कम्पनी भित्रियो । यसले ५ वर्षका काम सक्ने लक्ष्य राखे पनि निकै सुस्त काम गरेपछि सरकारले एकतर्फी रुपमा ठेक्का तोडेको थियो । त्यस्तै, २०७० सालमा इटालियन कम्पनी सीएमसीले बाँकी गर्ने गरी सम्झौता भयो ।

सीएमसीले आयोजनाको काम तीन वर्षमा गर्ने सम्झौता भएको थियो । सो कम्पनीले पनि बीचमै काम छाडेपछि आयोजनाको काम फेरि प्रभावित भएको थियो ।

एक पछि अर्को कम्पनी परिवर्तन गरिहनु परेकाले पनि उपत्यकामा पानी झार्न ढिलो भएको प्रवक्ता पन्तले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?