ऋणीलाई किन दु:ख दिइरहेको छ एनआईसी एशिया बैंकले ?

लोकपथ
0
Shares

काठमाडौंएनआईसी एशिया बैंकले कोरोना भाइरसको संक्रमणका कारण पूर्णरुपमा प्रभावित भएका ऋणीलाई निकै दबाव दिइरहेको पाइएको छ ।

बैंकले कोरोना भाइरसको संक्रमणका कारण व्यवसाय थला परेर ऋण तिर्न नसकेर थला परेका ऋणीहरुको धितो लिलामी गरेर ऋणीहरुलाई दबाव दिइरहेको हो ।

कोरोना भाइरसका कारण सरकारले गत चैत्र ११ गतेदेखि पटक पटक गरी लकडाउन गरेपछि उद्योग व्यवसाय पूर्ण रुपमा प्रभावित हुँदा बैंकको ऋण तिर्न नसक्ने अवस्थामा पुगेका थिए ।

नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाहरुलाई ऋण तिर्न जबरजस्ती नगर्न निर्देशन दिँदै आएको छ । तर राष्ट्र बैंकको निर्देशन समेतलाई लत्याउँदै अहिले अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले ऋणीलाई ऋण तिर्न दबाव दिने, कालो सूचीमा राख्ने तथा धितो लिलामी गरिरहेका छन् ।

यस्तो काम एन आई सी एशिया बैंकले सबैभन्दा तीव्र रुपमा गरेको देखिएको छ । यस बैंकले एकैदिन दर्जनौँ ऋणीहरुको कालो सूची तथा धितो लिलामीका लागि सूचना जारी गरेको छ ।

एन आई सी एशिया बैंकले मंगलवार मात्रै ऋण तिर्न झण्डै तीन दर्जन ऋणीको नामावली सार्वजनिक गरेको थियो ।  बैंक तथा वित्तीय संस्थाहरुले ऋणीलाई दुःख दिएको र त्यसोे नगर्न माग राख्दै नेपाल उद्योग वाणिज्य महासंघले अर्थमन्त्रीसँग पनि भेटवार्ता गरिसकेको छ ।

उद्योग व्यवसायीहरुलाई धम्क्याउँदै बैंकले तोकेको समयमा ऋण नतिरे धितो लिलामी गर्ने धम्की दिने गरेको एक व्यवसायीले बताए । ‘अरु बैंकको तुलनामा एन आई सी एशिया बैंकले हामीलाई बढी दुःख दिइरहेको छ,’ व्यवसायीले भने । अरु बैंकहरुले पनि दबाव त दिइरहेका छन् तर एन आई सी एशिया बैंकले भने धितो लिलामी गर्ने धम्की दिइरहेको ती व्यवसायीको गुनासो थियो ।

राष्ट्र बैंकले कोरोना प्रभावित ऋणलाई समस्या परेको खण्डमा ५ प्रतिशत नोक्सानी व्यवस्थापन गर्ने व्यवस्था गरेको छ । असल कर्जामा भने १ प्रतिशत नोक्सानी व्यवस्थापन गरे हुन्छ । एक प्रतिशतको नोक्सानी व्यवस्थापन बढेर ५ प्रतिशत पुगेपछि बैंकको नाफामा धक्का लाग्ने आँकलन गर्दै एन आई सी एशिया बैंकले कुनै पनि हालतमा पुस मसान्तसम्ममा केही बाहेक अधिकांश ऋण उठाउने योजनामा छ । यदि त्यसो नगर्ने होे भने बैंक नाफामा पछाडि पर्छ । त्यसैले बैंकले धमाधम ऋणीहरुलाई कालो सूचीमा राख्ने तथा धितो लिलामी गर्ने काम गरिरहेको छ ।

बैंकले साढे ५ महिनाको अवधिमा ३३.७० प्रतिशत अर्थात् ७१ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै कर्जा ३२.९० प्रतिशत वृद्धि गरेको छ । बैंकले यस अवधीमा ७१ अर्ब ५ करोड रुपैयाँ निक्षेप थप संकलन गरेको छ । यो पुस १७ गतेसम्मको तथ्याङ्क हो । गत असार मसान्तमा बैंकको निक्षेप संकलन २ खर्ब १० अर्ब ८४ करोड रुपैयाँ थियो । त्यस्तै बैंकको कर्जा लगानी १ खर्ब ७३ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

पुस १७ गतेसम्मको तथ्यांक अनुसार बैंकले २ खर्ब ८१ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बजारमा तरलताको अभाव भएर ऋण लगानीमा समस्या हुँदा पनि एन आई सी एशिया बैंकले निर्वाध रुपमा ऋण प्रवाह गरिरहेको हुन्थ्यो । त्यति मात्रै होइन, अरु बैंकले २ करोड ऋण दिन्छ भने एन आई सी एशिया बैंकले त्यसको दोब्बर ४ करोड रुपैँया ऋण सजिलै दिने र असुल्ने बेलामा छोटो समयमा नै असुल्ने गरेको एक बैंकर्सले बताए ।

ऋण असुलीका लागि बैंकले धितो लिलामी गरेर ऋणीको उठीबास लगाउने गरेको ऋणीहरुकै गुनासो छ । अरु बैंकको तुलनामा बढी ऋण दिने र असुल्ने बेलामा धितोको रुपमा राखेको जग्गा हडपेर ऋणीको बिल्लीबाठ नै बनाइदिने गरेको व्यवसायी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?