दार्चुलाको समग्र विकासमा सरकार अग्रसर

काठमाडौं । विकासको मूल प्रवाहबाट पछाडि परेका दार्चुलाको छाङरु, व्यास र टिङ्कर क्षेत्रको समग्र विकासका लागि ल्याइएको रणनीतिक महत्वको एकीकृत कार्ययोजनालाई तीव्रता दिन सरकारले अग्रसरता लिएको छ ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले आधारभूत पूर्वाधार निर्माण तथा राज्यबाट प्रदान गरिने सेवा प्रवाहमा सुधार ल्याउन सो क्षेत्रको समग्र विकासका लागि रणनीतिक महìवको एकीकृत कार्ययोजना सञ्चालनमा ल्याई कामलाई तीव्रता दिएको जानकारी दिए । सडक पूर्वाधारदेखि सामाजिक विकासका कार्यक्रमलाई समग्र विकास कार्यक्रमका रूपमा एकीकृत कार्ययोजना अगाडि बढाइएको छ ।

मन्त्रालयका अनुसार पूर्वाधार निर्माणमा दार्चुला–टिङ्कर सडक निर्माण, छाङरु–टिङ्कर सडक निर्माण, महाकाली नदीमा सीता पुल र काठे पुलको मर्मत सम्भार, हेलिप्याड निर्माण योजनामा छन् । त्यसैगरी खानेपानी योजना नयाँ निर्माण र पुरानोको मर्मत सम्भार, कृषि, टिङ्कर नाकामा भन्सार पुनर्निर्माण, सीमा प्रशासन कार्यालय निर्माण गरी दरबन्दीअनुसार कर्मचारी आपूर्ति गरी सेवा सञ्चालन गरिनेछ ।

त्यस्तै पशु क्वारेन्टाइन कार्यालय स्थापना, टिङ्कर र छाङरुमा आधारभूत विद्यालय पुनस्र्थापना, अस्पताल निर्माण, टेलिफोन टावर निर्माण, भूक्षय, बाढीपहिरो नियन्त्रण, उन्नत कृषि कार्यक्रमअन्तर्गत स्याउ खेती, जडीबुटी खेती, ओखर खेती, आलु खेती, पर्यटन प्रवद्र्धनका लागि स्थान पहिचानलगायतका काम पहिचान गरिएको प्रवक्ता बुढाले जानकारी दिए ।

त्यसैगरी व्यावसायिक पशुपालन, चरण विकास, भेडाच्याङ्ग्रा पालनलगायत सो क्षेत्रमा अहिलेका पेसा व्यवसायलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइने उनले बताए । कार्ययोजनामा परेका सम्पूर्ण कामको शुभारम्भ यसै वर्ष सुरु हुने जानकारी उनले दिए ।

सडक पूर्वाधारसहित सो क्षेत्रमा निर्माण गरिने हेलिप्याड, टेलिफोनको टावर, भन्सार र सीमा प्रशासन कार्यालय निर्माणबाहेक अधिकांश कार्ययोजना चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी उनले दिए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?