काठमाडौँ । बल्खुको चिया, खाजा खुवाउने होटलमा आफूभन्दा ठूलो भाँडा माझ्नु कमल (नाम परिवर्तन) को रहर होइन । आफ्नो उमेर १० वर्ष बताउने कमलले पुसको कठ्याङ्ग्रिने जाडोमा समेत एकसरो कपडाको भरमा जुठा भाँडा माझ्नुपर्छ ।
बिहान ५ बजेदेखि राति १०/११ बजेसम्म भाँडा माझ्ने र सरसफाइको काम चलिरहन्छ कमलको । यसरी काम गर्दा कमलले खाना र बसाइको पैसा तिर्नु पर्दैन र मासिक सात हजार रुपियाँ पारिश्रमिक पनि पाउँछन् । यो रकम घरमा बाबुआमालाई पठाउँछन् ।
मकवानपुर घर बताउने कमलका अनुसार उनी आफूसहित छ जना दाजुभाइ दिदीबहिनीसहितको परिवार छ । तर आर्थिक अवस्था कमजोर भएका कारण दुई जना दाजुदिदी पनि काठमाडौँमै होटलमा काम गर्छन् ।
कलङ्की–रत्नपार्क चल्ने मिनीबसका सहचालक विमल (परिवर्तित नाम)लाई बसको ढोकामा झुन्डिँदै यात्रु बोलाउने बानी नै परिसकेको छ । हेर्दा १०/११ वर्षको जस्तो देखिने विमल आफ्नो वास्तविक उमेर बताउँदैनन् ।
निकै चलाख देखिने उनी भाडाको हिसाब गर्न खप्पिस छन् । खाएर र बसेर मासिक १० हजार रुपियाँ तलब पाउने गरेको बताउने विमलको चाहना भविष्यमा राम्रो ड्राइभर बन्ने छ ।
त्यस्तै गोरखाका १२ वर्षीय सन्दीप (नाम परिवर्तन) काठमाडौँको कङ्लकीस्थित ग्यारेजमा काम गर्छन् । आफ्नो तौल सोसरहको बढीको टायर ओल्टाइपल्टाइ गरी टाल्न सधैँ व्यस्त देखिने सन्दीपको तलब भने मासिक १३ हजार रुपियाँ छ । सन्दीप भन्छन्, ‘‘आफ्नै पैसाले खाने–बस्ने गर्नुपर्छ । पैसा धेरै बच्दैन ।’
उनीहरू जस्तै ठूलो सङ्ख्यामा बालबालिका जोखिमयुक्त बालश्रममा छन् । दिगो विकास लक्ष्यले सन् २०२५ सम्म बाध्यकारी श्रम, बालश्रम निषेधित एवं निर्मूल गर्ने लक्ष्य लिएको भए पनि माथिका प्रतिनिधिमूलक पात्रको भोगाइले लक्ष्यमा पुग्न सजिलो देखिँदैन । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया