महामारीमा पनि भौतिक निर्माणको गति रोकिएन

काठमाडौं । जारी कोरोना महामारीबाट जनताको जीवनस्तर र विकास निर्माणका काम प्रभावित भए। खासगरी चिनियाँ कम्पनीसँग जोडिएका आयोजनामध्ये भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत दर्जनभन्दा बढी आयोजनाको प्रगतिमा कोरोनाको प्रभाव प्रस्ट देखियो। त्यसो त सरकारले कोरोना महामारीमा पनि विकास निर्माणका काम नरोक्ने नीति लिएको छ।

सोहीअनुसार सडक, पुल, झोलुंगे पुल, खानेपानीका ट्यांकी, सम्पदा पुनर्निर्माण, भूकम्पपछिको पुनर्निर्माण र एकीकृत बस्ती विकासका योजनामा प्रगति भएको सरकारको भनाइ छ। पर्यटनसँग सम्बन्धित राष्ट्रिय गौरवका आयोजनाले उल्लेख्य प्रगति गर्न नसके पनि निजी क्षेत्रको लगानीमा निर्माणाधीन ठूला होटलको भौतिक पूर्वाधार निमार्णको कामले भने निरन्तरता पायो। राजनीतिक उतारचढावका कारण पर्यटनलक्षित ठूला सरकारी आयोजनाको काम अझै पछि धकेलिने सम्भावनाबीच तारे होटल निर्माणको काम भने धमाधम अघि बढिरहेको छ।

महामारीकै कारण मुलुकको पर्यटन क्षेत्रले सबैभन्दा बढी समस्या भोगे पनि पूर्वाधार निर्माणको कामले गति जारी राख्दा पर्यटन क्षेत्रमा आशा पलाएको देखिएको छ।

राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२० कोरोनाकै कारण बीचैमा रद्द भए पनि भ्रमण वर्षलाई लक्ष्य गरी निर्माणाधीन दर्जनभन्दा बढी पाँचतारे होटलको काम लकडाउनमा पनि नरोकिएको लगानीकर्ताहरूले जनाएका छन्।

खासगरी असारको पहिलो हप्तादेखि लकडाउन केही खुकुलो भएसँगै होटल निर्माणको कामले गति लिन थालेको हो। लकडाउनअघि निर्माण थालिएका केही होटलको काममा असारसम्म निर्माण सामग्री र प्राविधिक सहितका कामदारको अभाव देखिए पनि लकडाउन खुकुलो र व्यावसायिक हवाई उडान सञ्चालनमा आएसँगै सन्तोषजनक अवस्थामै फर्र्किएको सम्बद्ध व्यवसायीको भनाइ छ। नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?