अर्ग्यानिक तरकारीखेतीबाट लाभ लिँदै गड्यौँलापालक किसान

 कञ्चनपुर, १६ असोज ।कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका इन्द्रेणी कृषि सहकारी संस्थामा आबद्ध गड्यौँलापालनमा संलग्न किसान अग्र्यानिक तरकारीखेती गरी आम्दानी लिन थालेका छन् ।सहकारीद्वारा गठित पाँच वटा समूहमा आबद्ध ७५ किसानमध्ये ४८ जना अग्र्यानिक तरकारीखेतीमा संलग्न छन् । यहाँका किसानले रासायनिक मल र विषादी विस्थापन गरी घरमै गड्यौँला पालेर तयार पारिएको मल र जैविक विषादीबाट तरकारीखेती गर्दै आएका छन् ।गड्यौँलाको सेड निर्माण र चाराका लागि समूहमा व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले सहयोग गरेको छ । आयोजनाले गड्यौँला पालन र तरकारीखेतीका लागि रु २५ लाख ९४ हजार ३०० रकम अनुदानस्वरुप उपलब्ध गराएको सहकारीका बजारमुखी तरकारी उत्पादन उपआयोजनाका अध्यक्ष शिवराज भट्टले बताए ।समूहमा आबद्ध घोर्सुवा, सुडा र सुन्दरपुरका किसानले उत्पादन गरेको अग्र्यानिक तरकारी रासायनिक विषादीको प्रयोग भएको तरकारीको तुलनामा १० प्रतिशत बढी महँगो हुने गरेको छ ।“अग्र्यानिक तरकारी स्वास्थ्यवद्र्धक भएकाले महँगो भए पनि माग अधिक छ,” अध्यक्ष भट्टले भने ।स्थानीय सुन्दरपुरका किसान गंगाराम पन्तले अग्र्यानिक तरकारीखेतीबाट वार्षिकरुपमा रु दुई लाख बढी आम्दानी हुने गरेको बताए ।अग्र्यानिक तरकारीखेतीबाट उत्पादित तरकारी व्यापारीले सहजै बारीबाटै खरिद गरेर लाने गरेको उनले बताए । केही तरकारी महेन्द्रनगर, सुडा, सिसैयालगायतका बजारमा बिक्री हुने गरेको छ ।अग्र्यानिकरुपमा लौका, फर्सी, भिण्डी, पिरो खुर्सानी, गोलभेँडा, बोडी, प्याज, काँक्रा, घिरौँला यहाँका किसानले उत्पादन गर्दै आएका छन् ।अग्र्यानिक तरकारीखेतीमा संलग्न किसानको दक्षता वृद्धि गर्न आइपिएम कृषक पाठशाला, व्यावसायिक तरकारीखेती, गड्यौँला मल उत्पादन र प्लास्टिक टनेलमा तरकारीखेती गर्ने तरिकाबारे सहकारीले तालीम दिँदै आएको छ ।व्यावसायिक तरकारीखेती गर्दै आएका यहाँका एकजना किसानले वार्षिकरुपमा रु एक लाखदेखि रु चार लाखसम्म आम्दानी गर्दै आएका छन् । वार्षिकरुपमा यहाँका किसानले ५०० टनभन्दा बढी तरकारी उत्पादन गर्दै आएका छन् जसको बजार मूल्य रु एक करोडभन्दा बढी हुने गरेको छ ।किसानलाई सहयोग पु¥याउन पावर टेलर, स्प्रेयर टंकी, तराजु, तरकारी क्रेट, डिजिटल तराजु निःशुल्करुपमा उपलब्ध गराउनाका साथै जिल्ला बाहिरका किसानले गरेको प्रगतिबारे जानकारी दिन अध्ययन अवलोकन भ्रमणमा समेत सहकारीले लाने गरेको छ ।किसानलाई तरकारी बिक्रीमा सघाउन तरकारी संकलन केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ । विसं २०६८ मा स्थापना भएको यो सहकारीमा २६४ सदस्य आबद्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?