२०७७, २१ पुष मंगलवार २२:५५

बच्चासँग भुलेर पनि गर्न नहुने ६ गल्ती !


प्रकाशित मिति : २०७७, २१ पुष मंगलवार २२:५५

"I'm sorry Dad!"

काठमाडौं । बच्चाले भनेको मानेन भने तपाई के गर्नुहुन्छ ? गाली गर्नुहुन्छ, पिट्नुहुन्छ वा घण्टौँसम्म कोठामा थुनेर राख्नुहुन्छ ? अथवा होस्टेलमा राख्ने धम्की दिनुहुन्छ वा छिमेकीको बच्चासँग तुलना गर्नुहुन्छ ?

बच्चा माथि भएभरको रिस पोख्दा तपाईको रिस शान्त होला, बच्चा पनि केहिबेरको लागि ज्ञानी भएर बस्ला, घरको माहोल शान्त होला तर तपाईले कहिले सोच्नु भएको छ यसले बच्चाको मानसिक स्वास्थ्यमा दीर्घकालिन असर कस्तो पार्ला ।

बच्चालाई सभ्यता र शिष्टाचार सिकाउनको लागि उनीहरुलाई कराउने, कुट्ने, गाली गर्ने र दुर्व्यवहार गर्ने सामन्य कुरा भइसक्यो । बच्चालाई ज्ञानी बनाउने चक्करमा प्रायजसो अभिभावकले बच्चालाई कराउन, कुट्न संकोच मान्दैनन् । बच्चालाई यस प्रकारको सजाय दिँदा बच्चाले कडा परिश्रम गर्न सिक्छ, बच्चा सुध्रन्छ र उनी आफ्नो भविष्य प्रति चिन्तित हुन्छ भन्ने सोच्नुहुन्छ भने गलत हो ।

हुन त तपाईले दिने सजायले बच्चालाई गलतबाट सहि सिक्न सहयोग गर्नको लागि आवश्यक हुन्छ तर जरुरत भन्दा बढी गरेमा बच्चामा गहिरो मनोवैज्ञानिक प्रभाव हुन सक्छ । आज हामी तपाईहरुलाई कस्तो सजाय दिनु हुँदैन भन्ने बारेमा बताउने छौँ ।

१. पिटाई

पश्चिम मुलुकमा बच्चालाई पिट्नु भनेको अपराध मानिन्छ । तर हाम्रो देशमा बच्चालाई पिटेर नै तह लगाउने भन्ने हुन्छ । अनि रिस शान्त नहुन्जेलसम्म पिट्छन् । त्यसपछि बच्चा डराउँछ र उनलाई लाग्छ बच्चा मदेखि डराउँछ । तर त्यो क्षणिक हुन्छ । यसले बच्चाको मानसिक स्वास्थ्य प्रति नकारात्मक असर पार्छ । बिस्तारै बच्चा र आफ्नो बिचको दुरी पनि बढ्न थाल्छ । कहिलेकाहि म पिट्छु, यसो नगर, त्यसो नगर भनेर उनीहरुलाई राम्रोसँग सम्झाउनु नै बेस हुन्छ ।

२. हरेक कुरामा कराउनु

धेरै जना सहमत हुन सक्नुहुन्छ, ठूलो ठूलो आवाजमा कराउनु गलत हो । तर व्यवहारमा भने कमैले मात्र लागु गर्छन् । रिस उठेपछि कन्ट्रोल गर्नु गाह्रो हुन्छ । हामी बच्चालाई सानो स्वरले बोल्नुपर्छ भनेर सिकाउँछौ । तर बच्चालाई ठूलो स्वरमा कराउँछौ । बच्चालाई ठूलो स्वरले कराउनु भनेको आफुले बच्चालाई नियन्त्रणमा राख्न असमर्थ हुनु हो । यसको साथै घरमा अशान्ति फैलन्छ जसबाट बच्चाको मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । यस्तो माहोलमा बच्चा राम्रोसँग हुर्कन पाउँदैन् ।

३. अध्याँरो कोठामा थुन्नु

धेरैलाई आफ्नो बच्चालाई अध्याँरो कोठामा थुनेर सजाय दिनु सहि हो जस्तो लाग्छ । शारीरिक चोट नलाग्ने हुँदा धेरैले यस्तो उपाय अपनाउने गर्छन् । एक साधारण सजाय हो जस्तो ठान्छन् । तर यसले बच्चालाई भावनात्मक रुपमा कमजोर बनाउँछ । बच्चाको मन धेरै कोमल हुन्छ । त्यसकारण धेरै डराउँछन् । अध्याँरो वा बाथरुममा बन्द गर्नाले बच्चामा निरन्तर एक्लै बस्ने वा किशोरावस्थामा आत्महत्याको प्रयास गर्ने प्रवृत्ति पैदा हुन सक्छ । मादक पदार्थको सेवन, लागु औषधको सेवन, चुनौतीहरु लिनबाट डराउने र जीवन प्रति नकारात्मक दृष्टिकोण हुने डर पनि रहन्छ ।

४. धम्की दिनु

यो सजाय दिने एकदमै सरल उपाय मानिन्छ । अभिभावकहरु आफ्नो बच्चालाई अनुशासनमा राख्ने सहि र समझदार तरिका सोच्न चाहँदैनन् । बच्चालाई तह लगाउन धम्कीको साहारा लिन्छन् र बच्चालाई डर देखाउनको लागि होस्टलमा राखिदिने, अरुको घरमा पठाइदिने जस्ता धम्की दिन्छन् । बच्चाले बुझ्न सक्दैनन् उनको आमाबुवा किन यति धेरै क्रुर र कठोर छन् । जसको असर तपाईहरुको सम्बन्धमा पर्न सक्छ । तपाईको बच्चा तपाईबाट बिस्तारै टाढा हुँदै जान्छ ।

५. नकारात्मक बोल्नु

कोही कोही अभिभावक आफ्नो बच्चालाई अल्छी, कामचोर, केही ढंग नभएको, केही नजान्ने भनेर बोलाउने गर्छन् । अभिभावकले यस्तो कुराको ध्यान राख्नु जरुरी हुन्छ । यस्तो शब्दले गाली गर्दा विचार गरेर मात्र बोल्नुपर्छ नत्र भबिष्यमा तपाईको बच्चा पनि त्यस्तै हुन के बेर ।

६. अरुसँग तुलना

घरमा कोही पाहुना आउन पाएको छैन् आफ्नो बच्चाको तुलना अन्य बच्चासँग गर्न भ्याइ हाल्नु हुन्छ । यो सामन्य कुरा हो । हरेकले गरिरहेका हुन्छन् । कहिले सोच्नुभएको छ ? यसले बच्चालाई कस्तो प्रभाव पार्छ वा बच्चाले कस्तो महशुस गर्छ ? हरेक बच्चा खास हुन्छन् कोहीसँग तुलना गर्नु राम्रो होइन् । हुन त अभिभावकले बच्चालाई नराम्रो असर पार्छ भनेर गरेका हुँदैनन् । तुलना गर्दा बच्चालाई प्रेरित गरिरहेको सोच्छन् । तर यसको विपरित भैदिन्छ । तुलनाले बच्चालाई गहिराईबाट ठेस लाग्छ । उनले कमजोर महशुस गर्छन् र आत्मसम्मान कम हुन थाल्छ । त्यसकारण बच्चा आफ्नो लक्ष्यमा पुग्न असमर्थ हुन्छन् ।

बच्चालाई उनीहरुको भाइबहिनीसँग तुलना गर्न हुँदैन् । एउटा बच्चालाई अर्को बच्चाबाट गाली गर्न लगाउने जस्ता काम पनि गर्नुहुँदैन् । यसले बच्चामा पनि अलग अलग हो भन्ने भावना पैदा हुन्छ । उनीहरुमा एक अर्कालाई माया, सम्मान गर्नुपर्छ भन्ने हुँदैन् । उनीहरुमा सानैदेखि प्रतिस्पर्धीको भावना जाग्छ ।

प्रतिक्रिया दिनुहोस