नेपाली भूमिमा एसएसबीको दादागिरी, स्थानीयको प्रतिकारपश्चात पछि हट्यो

इलाम । इलामको सूर्योदय नगरपालिका २ हिलेमा सीमा मिच्न खोज्ने भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले आफ्नो कदम गलत भएको स्विकार गरेपछि तत्कालका लागि समसया समाधान भएको छ । शनिबार साँझ भारतीय पक्षले हिलेमा नेपाली भूभागमा प्रवेश गरेर बासको किलो गाडेपछि स्थानीयले प्रतिकार गरेका थिए ।

स्थानीयले भारतीय पक्षले गाडेको किलो समेत उखेली दिएपछि सोमबार भएको दुवै पक्षका सुरक्षा निकायका स्थानीय प्रमुखबीचको छलफलमा बिनासूचना दशगजा क्षेत्रमा पिलर गाड्नु गल्ती भएको भारतीय पक्षले स्वीकारेको पशुपतिनगरस्थित बोर्डर आउट पोस्ट (बिओपी) का सशस्त्र प्रहरी निरीक्षक नवीन खतिवडाले बताए।

एसएसबीले आगामी दिनमा एक पक्षीय रुपमा बिनासूचना गतिविधि नदोहोर्‍याउने प्रतिवद्धता जाहेर गरेको छ । खतिवडाका अनुसार भारतीय पक्षले  अब उपरान्त गल्ती नदोहोरिने प्रतिवद्धता गरेका छन् ।

छलफलका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देउकुमार लिम्बूको नेतृत्वमा १२ जना र सशस्त्र निरीक्षक खतिवडाको नेतृत्वमा १४ जनाको टोली हिले पुगेको थियो । भारतको तर्फबाट  एसएसबी विओपी हिले भज्याङका असिस्टेन सब इन्स्पेक्टर दिबाङ्कर विश्वासको कमाण्डमा खटिएको टोली छलफलमा सहभागी थियो ।

भारतीय पक्षबाट सीमा पिलर नम्बर ७१/११ देखि ७२/२५ बीचको दशगजा भूभागमा तैनाथ ८ नम्बर बटालियन मातहतको एसएसबीले ‘मिसिङ पिलर’ रहेको भन्दै नेपाली भूमिमा किलो गाडेको थियो । इलामको रोङ गाउँपालिकाको तिरिङदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको ५२ दशमलब ५ किलोमिटर क्षेत्रका बिभिन्न स्थानमा सीमा विवाद रहेको छ ।

भारतले पूर्वको नेपाली भूमिमा पनि पटक पटक चलखेल गर्ने गरेको स्थानीयहरु बताउँछन् । नेपाली भूमिमै संरचना निर्माण गर्दा पनि भारतीय पक्षले पटक पटक अवरोध गर्ने गरेको छ । अघिल्लो वर्ष सूर्योदय नगरपालिका २ मानेभञ्ज्याङकै वाङदेन भोटेले बनाउँदै गरेको घर निर्माणमा अवरोध गरेको थियो । सूर्योदय नगरपालिका २ को पशुपतीनगरबाट चारमाइल हुँदै भारतीय बजार जाने बाटो अघिल्लो गत साउन ५ निर्माणमा अवरोध गरेको थियो ।

इलामको पर्यटकीय सन्दकपुरमा निर्माणाधिन भ्युटावर सहितको काम दशगजामा भएको भन्दै लामो समय सम्म अवरोध गरेको थियो । यी प्रतिनिधि घटना मात्रै हुन् । भारतीय शुरक्षा वल (एसएसवी) पछिल्लो समयमा दशगजाआसपासमा तीव्र सक्रियता बढाएपछि स्थानीयहरु मारमा परेका छन् ।

यसअघि नेपाली नागरिकले प्रयोग गर्ने वैकल्पिक सडकबाट विषादी मिसिएको तरकारी गएको भन्दै एसएसवीले सडक रोकेको थियो । चार दिनपछि एसएसवीआफैँले खाल्डो पुरेको थियो । अन्नपूर्ण पोष्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?