नेपालीलाई पुग्ने खाद्यान्न नेपालमै

काठमाडौं । नेपालीलाई खान पुग्ने खाद्यान्न नेपालमै उत्पादन हुन्छ । नेपालमा भएको उत्पादन खानका लागि मात्र नभई बचत पनि हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तथ्याङ्क सार्वजनिक गरेको छ ।

कृषि मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा जम्मा उपभोग्य प्रशोधित खाद्यान्न उपलब्धता ७३ लाख १२ हजार १७२ मेट्रिक टन रहेको छ । त्यसमध्ये नेपालीले ५६ लाख १९ हजार ०२३ मेट्रिक टन मात्र खान्छन् । १६ लाख ९३ हजार १४९ मेट्रिक टन बचत हुने गरेको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका सहसचिव डा हरिबहादुर केसीका अनुसार यो गहुँ, धान, मकै, कोदो, फापर, जौको तथ्याङ्क मात्र हो, जुन प्रशोधन गरेर मानिसले खाने गरेका छन् ।

यसमा माछा, मासु, तरकारीलगायतका खाद्यान्न राख्यो भने अझै बचत हुने अवस्था रहन्छ । उनले भने, उत्पादन र प्रशोधन गरी मानिसले खाने खाद्यान्नको कुरा मात्र यहाँ गरिएको छ । खाद्यान्न अन्य प्रयोजनका लागि पनि प्रयोग हुन्छ, त्यसलाई तथ्याङ्कमा उल्लेख गरिएको छैन । धान, गहुँ, कोदो, फापर, मकै, जौ अन्य प्रयोजनका लागि पनि प्रयोग हुन्छ ।

पशु, चरा चुरुङ्गीको दाना, बिस्कुट, अन्य ‘ड्राइफुड’ उत्पादनका लागि पनि यसको प्रयोग हुन्छ । मानिसले खानेबाहेक अन्य कुरामा पनि खाद्यान्न प्रयोग हुने भएकाले अलि थोरै अपुग भएर आत्मनिर्भर नभएको जस्तो देखिएको नत्र नेपाल अधिकांश खाद्यान्नमा आत्मनिर्भर रहेको उनले दाबी गरे ।

गत आर्थिक वर्ष धान ५५ लाख ५० हजार ८७८ मेट्रिक टन उत्पादन भएको थियो भने मकै २८ लाख ९३ हजार ९८७ मेट्रिक टन उत्पादन भएको थियो । गहुँ २१ लाख ८५ हजार २८९, कोदो दुई लाख ४६ हजार ९९९, फापर आठ हजार ९९०, जौ सात हजार ३९५ मेट्रिक टन उत्पादन भएको थियो । कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको २०७र७६ को तथ्याङ्कअनुसार नेपालमा उत्पादित प्रशोधित खाद्यान्न सातवटै प्रदेशमध्ये बागमती प्रदेशमा अपुग गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?