पाइपलाइन निर्माणले साढे एक अर्ब बचत

काठमाडौं । नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट साढे एक अर्ब बचत गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६(७७ को वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानीबापतको एक अर्ब ४७ करोड बचत भएको हो । उक्त प्रतिवेदनअनुसार प्रति महिना पाइपलाइनमार्फत इन्धन ढुवानी हुँदा १४ करोड ७० लाख बचत हुँदै आएको छ । गत वर्षको भदौ २४ गतेबाट मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको थियो ।

इन्डियन आयल कर्पोरेसन ९आईओसी० बाट ट्याङ्करमार्फत इन्धन ढुवानी गर्दै आएको निगमले गतवर्षबाट पाइपलाइनमार्फत डिजेल ढुवानी शुरु गरेका थियो । पाइपलाइनमार्फत डिजेल ढुवानी गर्न थालेपछि ठूलो रकम बचत हुन थालेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि नाफामा वृद्धि भएको हो ।

इन्धनको ढुवानी रकम बचत हुनुका साथै अघिल्लो वर्षको नाफा रकमको ब्याजबाट समेत नाफा बढाउन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । पाइपलाइन सञ्चालनको शुरुआती दिनमा कम मात्रामा डिजेल आयात भएकामा हाल उल्लेख्य मात्रामा आयात भएको निगमले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?