प्रतिनिधिसभा विघटनपछिको पहिलो राष्ट्रिय सभा बैठक आज

काठमाडौं । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको हिउँदे अधिवेशन आज (शुक्रबार)देखि सुरु हुँदै छ । संवैधानिक व्यवस्थाअनुसार हरेक ६ महिनामा एकपटक अधिवेशन आह्वान गर्नुपर्ने भएकाले सोहीअनुसार अधिवेशन औपचारिकतामा मात्रै सीमित हुने देखिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि पहिलोपटक राष्ट्रिय सभाको बैठक बस्न लागेको हो । १७ पुसभित्र संसद्को अधिवेशन बोलाउनैपर्ने संवैधानिक बाध्यताले राष्ट्रिय सभाका बैठकहरू औपचारिकतामा मात्रै सीमित हुने गरी बोलाइएको स्रोतको दाबी छ । बिहीबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थलको निरीक्षणसमेत गरे । कोभिड–१९ लाई लक्षित गरी हलमा सबै तयारी पूरा भएको छ ।

अध्यक्ष तिमिल्सिनाले हाउस चलिरहेको कारणले संक्रमण बढ्ने, सर्ने र त्यहाँ गएका कारणले जोखिम बढ्यो भन्ने स्थिति आउन नपाओस् भन्ने उद्देश्यले सबै तयारी पूरा गरिएको जानकारी दिए । हलमा कोभिड–१९ बाट बच्न दुई मिटरको दुरीमा कुर्सी राखिएका छन् । दुरी कायम गर्ने, मास्क प्रयोग गर्ने, सेनिटाइज्ड गर्नेलगायत सबै तयारी भएको छ । राजधानी दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?