२०२० को १० ‘न्यूजमेकर्स’ जसले विश्व हल्लाए (भिडियो रिपोर्ट)

रामजी बलामी-

आज नयाँ वर्ष सन् २०२१ ।

यतिवेला विश्व समूदायले नयाँ योजना र संकल्पका साथ अघि बढ्ने प्रण गरिरहेका छन् । त्यसका लागि बितेको वर्ष सन् २०२० को समीक्षा पनि महत्वपूर्ण हुन्छ । सन् २०२० मा के कस्ता घटना दुर्घटनाहरु भए जसले विश्वभर तहल्का मच्चाए ? के कस्ता गतिविधि विश्वभर ‘न्यूजमेकर्स’ बने त ? यो रिपोर्ट यसै विषयमा केन्द्रित छ ।

१.  कोरोना भाइरस

सन् २०१९ को डिसेम्बरबाट फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ संक्रमण सन् २०२० भरी नै न्यूजमेकर्स बन्यो । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वका २ सय १० भन्दा बढी मुलुकमा फैलियो । यो सामग्री तयार पार्दासम्म यसको संक्रमणबाट विश्वभर ८ करोड ८ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् भने १७ लाख ६६ हजार भन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

यस्तै यसको संक्रमणबाट ५ करोड ७० लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् । सबैभन्दा बढी कोभिड १९ संक्रमित देशहरुको सूचिमा क्रमशः अमेरिका, भारत, ब्राजिल, रसिया, फ्रान्स, युके, टर्की, इटाली, स्पेन र जर्मनी रहेका छन् ।

२. इलेक्सन रिजल्ट

सन् २०२० मा ‘न्यूजमेकर्स’ बनेको अर्काे विषय हो, अमेरिकाको निर्वाचन । गएको नोभेम्बर ३ मा भएको चुनावमा बाइडेनले ३०६ इलेक्टोरल मतका साथ जित हासिल गरेका थिए । उनका प्रतिस्पर्धी निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २३२ इलेक्टोरल कलेज मत पाएका थिए ।

राष्ट्रपति ट्रम्पले भने चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका छन् । उनले दिएका उजुरीहरु अदालतले खारेज गरिदिएको छ । राष्ट्रपतिमा निर्वाचित बाइडेनले अब आउँदो जनवरी २० तारिखमा राष्ट्रपतिको शपथ लिँदैछन् । अमेरिकाको यो निर्वाचनले वर्षभरीका घटनाक्रमलाई पछि पार्दै गूगलको ट्रेन्डिङमा पुगेको हो ।

३. इरान

वर्ष २०२० को सुरुवातमै अर्थात् जनवरी ३ मा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानीको हत्या भयो । इराकको बग्दाद इन्टरनेशनल एयरपोर्टमा भएको अमेरिकी ड्रोन हमलामा सुलेमानी मारिएका थिए । इरानले उनी मारिएकोमा देशभरी नै तीन दिन सम्मका लागि राष्ट्रिय शोकको पनि घोषणा गरेको थियो ।

त्यस्तै इरानी रक्षामन्त्री जावेद जारिफले अमेरिकी सेनाले गराएको यो घटनालाई अन्तर्राष्ट्रिय आतङ्कवाद भनी आरोप लगाएका थिए । अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले भने ती कमाण्डर सुलेमानीलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशमा गरिएको सुरक्षा कारबाही भनेको थियो ।

सुलेमानीले सन् १९८० पछि भएको इरान इराक युद्धमा समेत लडेका थिए । सुलेमानीले सिरियामा कायम रहेको बसर अल असदको सत्ताका पक्षमा पनि काम गर्दै आएका थिए । साथै त्यहाँ भएको आइएसका विरुद्धमा पनि विशेष कारबाही गर्ने गर्दथे । उनले इरानी सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीसँग नै सम्पर्क राख्न सक्थे र उनको नेतृत्वमा रहेर काम गर्ने गर्दथे ।

यो घटनापछि इरानले इराकी राजधानी बग्दादको पश्चिमस्थित एरबिल र अल असदमा रहेका दुई अमेरिकी हवाई अखडामा एक दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो । घटनापछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले यो घटनाले
खाडी क्षेत्रमा थप हिंसा भड्किन सक्ने प्रतिक्रिया दिएका थिए ।

४. बेरुत

वर्ष २०२० अगस्ट ४ मा लेबनानको राजधानी बेरुतमा दुई शक्तिशाली विस्फोट भयो । बेरुत बन्दरगाहमा भएको दुई विस्फोटमा परि कम्तिमा २२० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने ५७ हजार भन्दा बढी व्यक्ति घाइते भएका थिए । यस्तै करिव १५ बिलियन अमेरिकी डलरको क्षति र ३ लाख परिवार घरबिहीन भएका थिए । यसकारण यो घटना वर्ष २०२० को न्यूजमेकर्स बन्यो ।

लेबनाली सुरक्षा महानिर्देशकले विस्फोटनको मुख्य कारण सरकारले बन्दरगाहमा जफत गरी राखेको करिब २,७५० टन एमोनियम नाइट्रेट थियो र विस्फोटको समय पछिल्लो ६ वर्षदेखि भण्डार गरी राखिएको बताएका थिए ।

लेबनानको राजधानी बेरुतमा भएको विशाल विस्फोटनबारे अहिले तीव्र अनुसन्धान भइरहेको छ । शक्तिशाली विस्फोटपछि ‘अमोनियम नाइट्रेट’ कतिसम्म खतरनाक हुन सक्छ भन्ने स्पष्ट भएको छ । घटनापछि त्यहाँ दुई हप्ताका लागि राष्ट्रिय आपतकाल घोषणा गरिएको थियो ।

अमोनियम नाइट्रेट एक औद्योगिक केमिकल हो जुन विश्वभर कृषिजन्य मल उत्पादनका लागि सामान्य मानिन्छ । तर त्यसबाहेक यो उत्खननका काममा विस्फोटन गराउनका लागि पनि प्रयोग हुने गरेको छ ।

५. हान्ताभाइरस

विश्वभर कोरोना भाइरसको महामारी फैलिरहँदा चीनमा हान्ताभाइरस देखिएपछि यसले ठूलो त्रास फैलिएको थियो ।

सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सन (सीडीसी)का अनुसार, हान्ताभाइरस मुख्यतया मुसाबाट सर्छ र मानिसहरूमा यसले विभिन्न खाले रोग लगाउँछ । यसले हान्ताभाइरस पल्मोनेरी सिन्ड्रोम र हेमोराजिक फिभर गराउँछ । यो रोग हावाको माध्यमले सर्दैन र मानिसहरू मुसाको पिसाब, दिसा र थुकको सम्पर्कमा आएमा मात्र सर्छ । संक्रमित मुसाले टोकेमा समेत रोग सर्ने सम्भावना रहन्छ ।

हान्ताभाइरसको प्रारम्भिक लक्षण भनेका थकान, ज्वरो, मांसपेशी दुख्ने, टाउको दुख्ने, चक्कर आउने, चिसो लाग्ने र आन्द्रामा समस्या आउने हुन् । यसको समयमै उपचार नगरिएमा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने र मृत्यु समेत हुने देखिन्छ । यसको मृत्युदर ३८ प्रतिशत रहेको सीडीसीको भनाइ छ । तर हान्ताभाइरस मानिसबाट मानिसमा सर्दैन ।

हान्ताभाइरसको संक्रमणबाट बच्नका लागि मुसाको संख्यालाई नियन्त्रणमा लिनु प्राथमिक रणनीति भएको सीडीसीको भनाइ थियो ।

प्रस्तुत छ, सन् २०२० मा सनसनी मच्चाएका १० खबरको विषयमा तयार पारिएको भिडियो सामग्री 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?