जमुनैया पोखरीको सौन्दर्यीकरण

RSS
0
Shares

नवलपरासी । (बर्दघाट सुस्तापश्चिम)को रामग्राम नगरपालिका–७ उजैनीको बुद्धनगर टोलस्थित पुरानो जमुनैया पोखरीलाई सौन्दर्यीकरण गर्न थालिएको छ ।

प्रदेश नं ५ सरकारको १५ लाखको लागतमा सो पोखरीको सौन्दर्यीकरण गर्न थालिएको हो । सुन्दर र रमणीय वातावरण रहेको यो पोखरीको उचित संरक्षण हुन नसक्दा यसको सुन्दरता नै हराएको थियो । लामो समयपछि अहिले यस पोखरीलाई सौन्दर्यीकरण गर्न थालिएको हो ।

भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूपबाट नजिकै पर्ने यस पोखरीलाई लुम्बिनी प्रदेश सरकारको सहयोगमा सौन्दर्यीकरण गर्न लागिएको रामग्राम–७ का वडाध्यक्ष शिवशङ्कर हरिजनले जानकारी दिएका छन् । प्रदेश सरकारबाट पोखरी सौन्दर्यीकरणका लागि चालु आवमा १५ लाख विनियोजन भई आएपछि सम्झौता गरी काम थालिएको उनको भनाइ छ ।

सौन्दय अभिवृद्धिपछि पोखरीको बीचमा मायादेवी मन्दिर निर्माण गरिने उल्लेख गर्दै उनले भने, “रामग्राम स्तुपमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न हामीले यहाँको पुरानो पोखरीलाई सौन्दर्यीकरण गरी पर्यटकीयस्थल बनाउन लागेका हौँ, यसमा नगरपालिका र प्रदेश सरकारको सहयोग पाएका छौँ ।”

विगतमा माछापालन र सिँचाइका लागि मात्र प्रयोग हुँदै आएको उक्त पोखरी पछिल्लो समय संरक्षणविहीन अवस्थामा रहेको थियो । रामग्राम स्तूपको भ्रमण तथा प्रार्थनाका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षण बढाउन र पर्यटकको बसाइ अवधि लम्ब्याउन स्तूप नजिकै रहेको यस पोखरीलाई सौन्दर्यीकरण गरी मायादेवीको मन्दिर बनाउन लागिएको वडाध्यक्ष हरिजनले बताए ।

पोखरीको बीचमा निर्माण हुने मन्दिरमा मायादेवीले भगवान् बुद्धलाई काखमा लिएको मूर्ति निर्माण हुने उपभोक्ता समितिका सचिव सुरेन्द्र राठौरले जानकारी दिएका छन् । यस किसिमको मन्दिर र मूर्तिले पर्यटक लोभ्याउने उनको विश्वास छ । जिल्लामा बुद्धकालीन पुरातात्विक तथा पर्यटकीयस्थल उल्लेख्य मात्रामा भए पनि यहाँ निर्माण हुने मायादेवीको मन्दिरले थप महत्व र आकर्षण बढाउने स्थानीयवासीको अपेक्षा छ ।

पश्चिम नवलपरासीमा बुद्धको अस्तुधातु रहेको प्राचीन रामग्राम स्तूप, सम्भावित बुद्धको मावलीस्थल पण्डितपुर, बुद्धले स्नान गरेको बुद्धमङ्गल ताल, देवदह ताल, बुद्धले राजदरबार त्याग गरी ज्ञानको खोजीमा निस्कने क्रममा केश मुण्डन गरी गेरु वस्त्र धारण गरेको अनोमाघाट नारायणी नदीलगायत थुप्रै बौद्धकालीनस्थल भए पनि मायादेवीको मन्दिर नरहेकाले उक्त पोखरीमा निर्माण हुने मन्दिरले पर्यटकलाई आकर्षित गर्ने सचिव राठौरको भनाइ छ ।

करिब १२ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त पोखरी लामो समयदेखि सफाइ नभएकाले हाल जलकुम्भीले भरिएको छ । पोखरी अतिक्रमणमा पर्न थालेपछि वडाको पहलमा नगरपालिकाले गत आर्थिक वर्षदेखि संरक्षण थालेको वडाध्यक्ष हरिजनले बताए । वडाकै पहलमा पोखरीको दक्षिण र पूर्वतर्फ सात लाखको लागतमा पर्खाल निर्माण गरिएको छ भने उत्तर र पश्चिमतर्फ पनि पर्खाल निर्माण गरी पोखरीलाई संरक्षण गर्न चालु आवमा १२ लाख नगरपालिकाबाट विनियोजन भएको वडाध्यक्ष हरिजनले जानकारी दिए ।

अहिले गाउँको सडकबाट पोखरीसम्म जाने सडक निर्माण भइरहेको छ । पोखरीको सौन्दर्यीकरणपश्चात बीचमा मायादेवीको मन्दिर र पोखरीमै मन्दिरसम्म जाने बाटो निर्माण गरिनेछ भने पोखरीको किनार चारैतिर पर्यटक घुम्न मिल्ने गरी पैदलमार्ग बनाउने योजना रहेको उनले जानकारी दिए । उनका अनुसार त्यसपश्चात पोखरीमा माछापालन गरिनेछ भने पानी पनि कहिल्यै सुक्न नदिइने व्यवस्था मिलाइनेछ ।

यहाँको पोखरी सौन्दय अभिवृद्धि भई मन्दिर निर्माण भएपछि रामग्राम स्तूप घुम्न आउने पर्यटकका लागि नयाँ पर्यटकीयस्थल थप हुने र उनीहरुको बसाइलाई पनि लम्बाउन सकिने उपभोक्ता समितिका सचिव राठौरले बताए । “पुरानो पोखरीको संरक्षणसँगै बुद्धको अस्तुधातु रहेको रामग्राम स्तूप नजिकै पर्ने र पोखरीको नजिकमा कोरियन तथा थाई मन्दिरसमेत रहेकाले यहाँ पर्यटक आकर्षित हुन्छन्, जसले गर्दा यहाँका बासिन्दाको आयआर्जनमा पनि टेवा पुग्ने हामीले विश्वास गरेका छौँ”, उनले भने ।

उक्त पोखरीमा विभिन्न प्रजातिका चरा पनि आउने गरेका छन् । यसको संरक्षणपछि पर्यापर्यटनमा पनि टेवा पुग्ने स्थानीयवासीको विश्वास छ । वर्षौँ पहिला यस पोखरीको डिलमा जामुनको जङ्गल रहेकाले यस पोखरीको नाम पनि जमुनैया पोखरी रहन गएको स्थानीयवासी बताउँछन् । हाल भने जामुनको जङ्गल फडानी भइसकेको छ भने पोखरीको माटो उत्खनन गरेर स्थानीयवासीले घर बनाउने कार्यमा प्रयोग गर्ने गरेको पाइन्छ ।

पछिल्लोपटक रामग्राम स्तूप घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दो छ । स्तूप क्षेत्रमा प्रदेश सरकारले बौद्ध सङ्ग्रहालय निर्माण गरिरहेको छ भने प्रदेश सरकारकै सहयोगमा स्तुप र देउरवागाउँ जोड्ने गरी झरही खोलामा पुल निर्माण भइरहेको छ । यो पुल निर्माण सम्पन्न भएपछि यहाँ पूर्वपश्चिम राजमार्गबाट छोटो दूरीमै पुग्न सकिन्छ । अहिले पुल निर्माणको कार्यले तीव्रता पाएको छ । स्तूपसम्म जाने सडक पनि स्तरोन्नति भइरहेको छ । स्तूप जाने बाटोकै नजिक थाई मन्दिरको उत्तरतर्फ जमुनैया पोखरी अवस्थित छ ।

स्तूपको गुरुयोजनासमेत बनिसकेकाले यहाँ अव तीव्ररूपमा पूर्वाधार निर्माण हुनुका साथै पर्यटकको चहलपहल बढ्ने भएकाले पनि यस क्षेत्रमा रहेको जमुनैया पोखरीलाई व्यवस्थित गरी पर्यटकीय पूर्वाधार निर्माण गर्न सकिए नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास हुने वडाध्यक्ष हरिजनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?