वर्ष २०२० बाट हरेकले सिक्नुपर्ने एउटा सन्देश : आर्थिक तनाव कसरी हटाउने ?

काठमाडौं । वर्ष २०२० धेरैका लागि खराब इतिहास बनेर जाँदैछ । यस वर्ष धेरै नराम्रा घटनाहरु भए । विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड १९ ले विश्वका करोडौँ मान्छेलाई थलाएको छ भने लाखौँले ज्यान गुमाएका छन् । यसको अप्रत्यक्ष असर विश्व अर्थ व्यवस्थामा पनि परेको छ र त्यो व्यवस्थासँग सम्बन्धित हरेक व्यक्तिमा पनि । जसको परिणामस्वरुप, धेरै जनशक्तिले आफ्नो जागिर गुमाएका छन् भने कतिको व्यवसाय धरासायी बनेको छ ।

यस्तो अवस्थामा मानिसमा ‘फाइनान्सियल एन्जाइटी’ बढ्नु स्वभाविक हो ।

‘फाइनान्सियल एन्जाइटी’ अर्थात् आर्थिक तनाव । यो सन् २०२१ को ठूलो चुनौती बन्न सक्छ । भलै नाजुक आर्थिक अवस्थाले हामीलाई केही असर नगर्ला तर त्यसको तनावले भने हामीलाई चितासम्म नपु¥याउला भन्न सकिन्न । अमेरिकन साइकोलोजिकल असोसिएसनका अनुसार हरेक १० मध्ये ७ वयस्कहरुको जीवनमा उनीहरुको आर्थिक अवस्था नै तनावको मूख्य कारण हो ।

फाइनान्सियल एन्जाइटी कम गर्न गर्न के गर्न सकिन्छ भनेर लोकपथ डटकमले विज्ञहरुसँग कुरा गरेर समेटेका केही सूत्रहरु यहाँ उल्लेख गरेका छौंः

उत्सुकता बढाउने

पहिलो कदम यही हो कि आफ्नो पैसालाई लिएर उत्सुक रहनुपर्छ ।

आफ्नो आर्थिक जीवनमा के भइरहेको छ भन्ने बारेमा चासो राखिरहनुपर्छ । यो सूत्र ऋण तिर्ने वेलामा मात्र नभएर हरेक दिन अपनाउनुपर्दछ । अर्थ व्यवस्थापन भनेको ऋण चुकाउने तरिका पहिल्याउनु मात्र होइन ।

यसो गर्ने सही उपाय के हो भने हामीले आफैलाई सोध्न सक्छौं कि हाम्रो पैसाबाट हाम्रो बारेमा के थाहा हुन्छ, हामी आफ्नो समयको सदुपयोग कसरी गर्छौं र हाम्रो लागि के महत्त्वपूर्ण हो ।

आफ्नो पैसामा ध्यान दिने

महिनामा कम्तीमा एकपटक यी तीन काम गरौंः

आफ्नो बैंक अकाउन्टमा कति पैसा आउँछ र त्यसमा कति बच्छ भनेर ध्यान राख्ने

कस्तो वित्तीय स्थिति आइपर्न लागेको छ भनेर विचार गर्ने

योजना बनाउने

उदाहरणका लागि यदि तपाईको घरभाडा बढ्दैछ भने तपाईले आफ्नो बजेटमा केही हेरफेर गर्नुपर्ने हन्छ । आफूले गरिरहेको खर्चमा धेरथोर कटौती गरेर महिनाको अन्तिमसम्ममा घरभाडाका लागि केही प्रबन्ध गर्न सकिन्छ । यसलाई विपतको प्रतीक्षा गर्नु होइन बरु पूर्वतयारी गर्नु भनिन्छ ।

आफ्नो खुबीको पहिचान गर्नुहोस्ः

आफ्नो लक्ष्यप्राप्तिका लागि कति प्रगति गर्दैछु भन्ने कुरामा पनि विचार पु¥याउनुपर्दछ ।
यसको अर्थ फेरि आफूले लक्ष्य प्राप्त गर्न किन सकिरहेको छैन भन्दै चिन्तित हुने चाहिँ होइन ।
भलै स साना कदम चालिरहनुभएको होला तर यस परिवर्तनले तपाईमा क्षमता छ भन्ने कुरा प्रष्ट्याउँछ ।
फाइनान्सियल एन्जाइटीलाई अन्त्य गर्नु रातोरात सम्भव पनि हुँदैन ।

नौलो प्रयोग गर्ने मौका

हामी अक्सर जे काम पनि ‘पर्फेक्ट’ होस् भन्ने चाहन्छौँ किनकी केही नयाँ गर्दा असफल हुने हो कि भन्ने डर सधै मनमा भइरहन्छ । तर, कतिपय अवस्थामा कुनै कामलाई गर्ने तरिका एउटै मात्र हुन्छ भन्ने छैन । सोचाइको आयामलाई फराकिलो बनाउने हो भने नयाँ बाटोहरु खुल्दै जान्छन् । हामीले आफैलाई रचनात्मक हुने, सिर्जनशील हुने अवसर दिनुपर्दछ ।

पैसा नहुनु पनि खुसीको खबर हो

सुन्दा अचम्म लाग्न सक्छ तर कहिलेकाहीँ पैसा नहुनु पनि राम्रो खबर हो । यस्तो परिस्थितिले हामीलाई सधै सोचिरहने भन्दा फरक तरिकाले सोच्ने अवसर दिनसक्छ । यस्ता समयले जीवनमा आइपर्ने कठिन समयलाई हामी कसरी सामना गरिरहेका हुन्छौँ, चुनौती आइपर्दा कसरी लचिलो बन्छौं भन्ने कुरा जान्न मद्दत गर्दछ ।

वित्तीय विपतबाट निस्कनै सक्दैनौँ भन्ने सोच भन्दा पनि यस्ता समस्याबाट कसरी निस्किने भनेर सोच्न जरुरी छ ।
यो प्रक्रियाले अघि बढ्दा हामीले आफ्नै बारेमा पनि धेरै कुराहरु पत्ता लगाउन सक्छौँ र यो पनि बुझ्न सक्छौँ कि व्यक्तिगत मामिलाले हाम्रो पैसा बचाउने तरिकालाई कसरी प्रभावित गरिरहेको हुन्छ ।

जादू होइन

फाइनान्सियल थेरपिस्ट अमान्डा भन्छिन्, ‘आर्थिक व्यवस्थापनलाई लिएर हामी जस्तो व्यवहार विकास गर्न चाहान्छौँ त्यो कुनै जादूको छडीले गरेजस्तो पटक्कै होइन ।’

हाम्रो अघि एउटा चुनौती छ भन्ने कुरा स्वीकारेपछि शुरु हुने प्रक्रिया हो यो । आफैलाई चिन्ने, बुझ्ने यो यात्रा निरन्तर अघि बढिरहन्छ ता कि बीचमा आइपर्ने सिग्नलले हामीलाई के भन्न खोजेको हो भनेर थाहा होस् र हामीले आफ्ना गलत बानीहरुलाई परिवर्तन गर्न सकौँ ।
यस प्रक्रियामा आफैलाई प्रश्न गरिरहनु फाइदाजनक हुन्छ । जस्तैः तपाईको कामको अर्थ के हो, तपाईका प्राथमिकताहरु केके हुन्, तपाईको लक्ष्यलाई के ले प्रभावित गर्दछ, कस्ता सम्बन्धहरुले तपाईको आर्थिक अवस्थामा प्रभाव पार्दछ, तपाई कस्ता कुराहरु परिवर्तन गर्न सक्नु हुन्छ र कस्ता कुरा सक्नु हुन्न ।

यदि तपाईको जागिर गयो भने ?

यस्तो अवस्थामा फाइनान्सियल थेरापिस्टहरु शान्तसँग बसेर आफ्नो अवस्थाका बारेमा विश्लेषण गर्नुपर्ने सल्लाह दिन्छन् ।
एउटा सही तरिका के पनि हो भने यस्तो अवस्था आइपर्दा शुरुमै त्यस्ता व्यक्तिहरुलाई जानकारी गराइहाल्नुपर्छ जोसँग आफ्नो आर्थिक लेनदेन वा कारोबार हुने गरेको छ । उदाहरणका लागि, घरबेटी । घरबेटीसँग यस बारेमा कुरा गरेर भाडा दिन केही समय लाग्ने जानकारी गराइहाल्नु पर्दछ ।

यदि आफूले केही रकम बचत गरेको छ भने त्यसले कति दिनसम्म आफ्नो गुजारा चल्छ भनेर योजना बनाउने । यसो गर्दा वैकल्पिक तरिकाबाट कसरी पैसा मिल्न सक्छ भन्ने कुराको आइडिया पनि आउन सक्छ ।

आफ्नो नियमित खर्च पनि कटौती गर्ने । यसो गर्दाखेरि भलै आफ्नो सबै खर्च धान्न मुस्किल नै पर्छ तर, कम्तीमा ऋण र ब्याजबाट त बच्न सकिन्छ ।

यी सबैको माध्यमबाट हामी यो कुरा पत्ता लगाउन सक्छौँ कि कुन कुरामा हाम्रो नियन्त्रण रहन्छ र कुनमा रहँदैन । आफ्नो लक्ष्यतर्फ बढ्न यसले झनै अभिप्रेरित गर्नेछ ।

यसका अलावा अनावश्यक खर्च गर्ने बानी हटाएर बचत गर्ने बानी बसायो भनेपनि यस्तो विषम् परिस्थितिमा तपाईलाई सहज हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?