रायमाझीको पुनरागमनपछि किन बत्ती गइरहन्छ ?

काठमाडौं । बिजुली बारम्बार जान थालेपछि उपभोक्तामा पुनः लोडसेडिङ फर्किने त्रास बढेको छ । यो बेला यो कारणले यति समय लाइन काटिने छ भनेर विद्युत् प्राधिकरणले पूर्वसूचना नै नदिई बत्ती काटिदिँदा उपभोक्तामाझ शंका बढेको हो । शंका बलियो हुनुको अर्को कारण हो, कार्यकारी प्रमुख कुलमान घिसिङको पदावधि नथपिनु र ऊर्जा मन्त्रालयमा टोपबहादुर रायमाझीको पुनरागमन ।

रायमाझीको ऊर्जा मन्त्रालयबाट बहिर्गमनसँगैको संयोग थियो मुलुक लोडसेडिङमुक्त घोषणा हुनु । विद्युत् आयोजनाहरू थपिए । राष्ट्रिय प्रसारणले बिजुलीको ‘पिक डिमान्ड’ धान्न सक्ने भयो । त्यसबेला घिसिङले बिजुली पर्याप्त हुने मात्रै होइन विदेश निर्यात व्यापार पनि गर्न सकिने बताए । उनले स्वदेशी ऊर्जा छेलोखेलो भयो भन्दै सर्वसाधारणलाई विद्युत्को अधिकतम उपयोग गर्न हौस्याए ।

कार्यकाल सकिएपछि सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा दोहोर्‍याएन । सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि सत्ताधारी नेकपामा विभाजन आयो । ऊर्जामन्त्री वर्षमान पुन राजीनामा दिएर सरकारबाट बाहिरिए । यसै साता प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा मन्त्रालयको जिम्मेवारीमा रायमाझीलाई ल्याए ।

बिजुली बारम्बार झ्यापझ्याप काटिन थाल्यो । लोडसेडिङ फर्किने शंकालु उपभोक्ताहरू यसलाई संयोग मान्न तयार छैनन् । तर यो समस्या विशुद्ध प्राविधिक भएको दाबी प्राधिकरणको छ । विद्युत् अवरुद्ध हुने समस्या अघिल्ला वर्षहरूमा पनि हुने गरेकाले लोडसेडिङ होला कि भन्नु मनोवैज्ञानिक त्रास मात्रै भएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको टिप्पणी छ । गत वर्षको तुलनामा यो वर्ष कुल ऊर्जा माग बढे पनि विद्युत् प्रणालीमा कुनै समस्या नरहेको उनको दाबी छ । ‘सोमबार र मंगलबार धेरै स्थानमा प्राविधिक कारणले विद्युत् अवरुद्ध हुने समस्या देखियो,’ उनले भने, ‘यो नियोजित नभई प्राविधिक कारणले भएको हो र यसको समाधानको उपाय पत्ता लागिसकेको छ ।’

सोमबार साँझ साढे ६ बजे मध्य र मध्यपश्चिम क्षेत्रमा १५ मिनेट विद्युत् अवरुद्ध भएको थियो भने मंगलबार साँझ काठमाडौं उपत्यकाका पाटन, भक्तपुर थिमि, बानेश्वर क्षेत्रमा पटकपटक विद्युत् अवरुद्ध हुने समस्या देखिएको थियो । दुई दिन प्राविधिक कारणले विद्युत् अवरुद्ध भएको र यसको समाधान भइसकेको शाक्यको दाबी छ । योबाहेक पनि मर्मतसम्भारका लागि भन्दै पटकपटक विद्युत् अवरुद्ध हुँदै आएको छ । नियमित मर्मतसम्भार हुने स्थानमा प्राधिकरणले पूर्वसूचना दिएर दैनिक केही घण्टा विद्युत् अवरुद्ध गराउने भए पनि पूर्वजानकारीबिना पटकपटक विद्युत् अवरुद्ध हुन थालेपछि उपभोक्ता आजित बनेका हुन् । कान्तिपुर दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?