काठमाडौं, ५ चैत– तीन राप्रपाका दोस्रो तहका नेता पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न झापा पुगेको खुलेको छ । आइतबार साँझ कमल थापा नेतृत्वको राप्रपा, पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीका दोस्रो तहका नेताहरु ज्ञानेन्द्रलाई भेट्न झापा पुगेका हुन् ।भेटका क्रममा पूर्वराजाले राजतन्त्र र हिन्दुराष्ट्रमा आस्था राख्ने पार्टीहरु कमजोर बन्न पुगेको भन्दै मिलेर अघि बढ्न दवाव दिएका थिए ।भेटमा सहभागि नेताहरुले हिन्दुराष्ट्र र राजतन्त्रको एजेण्डामा जनता रहेको भएपनि पार्टी कमजोर बन्दा सशक्त बनाउन नसकिएको धारणा राखेका थिए ।पुरानै पुस्ताको नेतृत्वमा एकता गर्न सकस हुने अवस्था रहेकाले दोस्रो तहका युवा नेतालाई नेतृत्व दिएर एकता गर्दा जनतामा पनि सकारात्मक सन्देश जाने र पार्टी मिलाउन पनि सहज हुने धारणा पूर्वराजासँगको भेटमा राखेको स्रोतका भनाई छ ।छलफलमा पूर्वराजाले सबै राप्रपा एक भएको हेर्ने आफ्नो चाहना रहेको भन्दै एकतामा लाग्न सुझाव दिएका थिए ।स्रोतका अनुसार कमल थापा नेतृत्वका राप्रपाका बुद्धिमान तामाङ, प्रह्लाद शाह, राणा नेतृत्वको राप्रपाका सुरेश आचार्य, सगुन सुन्दर लावती, लोहानी नेतृत्वको राप्रपाका तारानाथ लुइँटेललगायतका नेताहरु सहभागि थिए ।शाह अहिले झापास्थित आफ्नो हिमालयन चिया बगानमा बस्दै आएका छन् । र, भेट पनि त्यहीँ भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया