डढेलोदेखि कोरोनासम्म, के शताब्दीकै अशुभ सन्देश बन्यो सन् २०२० ?

यस वर्षका केही स्मरणयोग्य घटनाहरु...

वर्ष २०२० मा आइपरेका उतारचढावहरु सम्भवतः यस शताब्दीमा शायदै आइपरेका होलान् । त्यसैले धेरैले यो वर्षलाई नै अशुभ मानेका छन् ।

अबको केही दिनमा वर्ष २०२० सकिनेछ । यस वर्षलाई बिदाई गर्दैगर्दा वर्षभरि भएका घटनाक्रमलाई स्मरण गर्ने हो भने विश्वले यसपालि धेरै नराम्रा अनुभवहरु बटुल्नुपरेको कुरा महशुस हुनसक्छ ।

अस्ट्रेलियाको विध्वंशकारी डढेलोबाट शुरु भएको यो वर्ष विश्वलाई नै स्तब्ध बनाउने कोरोना भाइरसको महामारी हुँदै मानवतामाथि प्रश्न उठाउने ‘ब्ल्याक लाइभ्स म्याटर’ सम्म आइपुग्यो । यी घटनाका बीचमा अनेकौँ अपराधिक घटना, प्राकृतिक प्रकोप, राजनीतिक उथलपुथल, आतंककारी गतिविधि पनि भए ।

यस वर्ष यति धेरै नकारात्मक कुराहरु भए कि विभिन्न किसिमका ट्रोल मार्फत् वर्ष २०२० को मजाक उडाइयो, यसबाट आजित भइसकेको छनक देखाइयो । समग्रमा भन्नुपर्दा यस वर्षमा देखिएका उतारचढावहरु सम्भवतः यस शताब्दीमा शायदै आइपरेका होलान् ।

जे होस् वर्ष २०२० विश्वमै गहिरो प्रभाव पारेर जाँदैछ । फर्केर यस वर्षलाई हेर्दा देखिएका केही विश्वव्यापी घटनाहरु यहाँ छोटकरीमा स्मरण गरिएको छ :

कोभिड १९ महामारी

अघिल्लो वर्षको डिसेम्बरताका जब चीनले आफ्नो शहरमा अनौठो किसिमको भाइरस देखिएको भनेको थियो त्यसवेला शायदै कसैले त्यस विषयलाई दोहो-याएर सोचेका थिए होला । आज त्यसको ठीक १ वर्षपश्चात् सो भाइरसले विश्वलाई आतंकित बनाइदिएको छ ।

चीनको वुहान शहरको सानो बजारबाट शुरु भएको भनिएको कोभिड १९ भाइरस अहिले विश्वको प्राय सबै देशमा महामारीका रुपमा फैलिसकेको छ । यस महामारीबाट ८ करोड भन्दा बढी संक्रमित भइसकेका छन् भने १७ लाख भन्दा बढीले ज्यान गुमाउनु परेको छ ।

कोरोना भाइरसले सबैभन्दा बढी जनधनको क्षति पु-याएको राष्ट्र बनेको छ, अमेरिका । यहाँ करिब साढे ३ लाख जनाको मृृत्यु भइसकेको छ भने १ करोड ९५ लाख बढी कोरोनाबाट संक्रमित भइसकेका छन् ।

नेपालको परिप्रेक्षमा भने अहिलेसम्मको संक्रमण सङ्ख्या साढे २ लाख बढी रहेको छ भने १ हजार ८३२ जनाको मृत्यु भइसकेको छ ।
भाइरस फैलिएको करिब १ वर्ष पूरा हुन लाग्दा पनि महामारी अझै नियन्त्रणमा आइसकेको छैन ।

हालै विभिन्न देशमा भाइरस विरुद्धका खोपहरु सञ्चालनमा भने आइसकेका छन् । त्यसैमाथि पछिल्लो समय बेलायतमा देखापरेको कोरोना भाइरसको नयाँ स्ट्रेन यूरोप तथा अन्य देशमा तीव्र गतिमा फैलिनाले मानिसहरु थप सशंकित भएका छन् ।

दुखद कुरा के हो भने कोरोनाले मानिसको ज्यान मात्र लिएको छैन बाँच्ने मानिसको ज्यान पनि कष्टकर बनाइदिएको छ । विश्वभरि यसका बहुआयामिक प्रभावहरु देखिएका छन् । विश्व अर्थ व्यवस्थामाथि ठूलो चोट पु-याएको छ कोभिड १९ ले । कलकारखानाहरु महिनौँ ठप्प रहे, कार्यालय बन्द रह्यो, पर्यटन व्यवसाय धरासायी बन्यो । सूक्ष्म तरिकाले हेर्ने हो भने कराडौँ जनशक्तिले रोजगारी गुमाए ।

पुलिसको हर्कतले शुरु गरेको ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियान

जातिय भेदभावलाई लिएर अमेरिका पहिल्यैदेखि बदनाम छ । काला जाति र गोरा जातिका बीचमा बाँडिएको अमेरिकाको निष्ठाको पल्ला अवश्य पनि गोरा जातिकै पट्टि बढी ढल्किएको छ भनेर विश्वले नै बुझ्दै आएको छ ।

यद्यपि, यस विषयमा व्यापक रुपमा विरोध भने भइरहेको थिएन । सबैले अनुभूति गरेको कुरालाई शब्द र व्यवहार मार्फत् प्रष्फूटन गरिएको थिएन । यही कमीलाई पूरा गरिदियो जर्ज फ्लोएयड नामक ४६ वर्षीय काला जातिका व्यक्तिको निर्मम हत्याले ।

यही वर्ष मे २५ का दिन एक पसलेले फ्लोयडले २० डलरको नक्कली नोट दिएर चुरोट किन्न खोजेको भन्दै पुलिसलाई खबर गरेपछि पुलिसले उनलाई नियन्त्रणमा लिएका थिए । सिसिटिभी फुटेजको सहायताले यो पत्ता लाग्यो कि एक पुलिसले उनलाई भूइँमा लडाएर घाँटीमाथि ८ मिनेट १५ सेकेण्डसम्म घुँडाले थिचेका थिए । जसकारण उनको ज्यान गयो ।

यस घटनाले काला जातिमाथि वर्षौँदेखि भइरहेको ज्यादती र हिंसात्मक व्यवहारका अन्य घटनाहरु पनि ब्यूँताइदियो । अमेरिकाको एउटा शहर मात्र नभएर राज्य, राज्य मात्र नभएर सम्पूर्ण देश र विश्वमै भइरहेको भेदभावको विरोध गर्ने झिल्को सल्काइदियो । सामाजिक सञ्जालमा ह्यासट्याग ब्ल्याक लाइभ्स म्याटर भनेर अभियान नै चल्यो । थुप्रै सेलिब्रेटीहरुले कालो फोटो पोस्ट गर्दै अमेरिकामा हुने जातीय भेदभावप्रति विरोध जनाए ।

सो हत्यामा संलग्न ४ जना पुलिसलाई बर्खास्त गरेर उनीहरु विरुद्ध ज्यानमारेको अभियोगमा कानूनबमोजिमको सजाय सुनाइएको छ ।

अस्ट्रेलियाको विनाशकारी डढेलो

यस वर्षको शुरुवात नै अस्ट्रेलियाको डढेलोबाट भएको थियो । सन् २०१९ को जुनबाट शुरु भएको आगलागी २०२० को मेसम्म नियन्त्रणमा आउन सकेन ।

त्यसो त अस्ट्रेलियामा वेलावेला डढेलो लाग्ने गरेको छ तर, यसपालिको आगलागीलाई इतिहासकै ठूलो मानिएको छ । ४७ मिलियन एकर जमिनमा फैलिएको डढेलोका कारण ३० लाख भन्दा बढी जंगली जनावरहरुले ज्यान गुमाए, ७५ जना व्यक्तिको मृत्यु भयो, हजारौं परिवारहरुको स्थानान्तरण गर्नुप¥यो । उद्धारकर्तादेखि जंगली जनावरहरुको हृदयविदारक तस्वीरले विश्वको ध्यान खिच्यो ।

सो डढेलोका अप्रत्यक्ष असरहरु पनि निकै छन् । यसले मौसम, जल तथा हावापानी र पर्यावरणमा समेत ठूलो असर पु-याएको छ ।

लेबनानको राजधानीमा भएको विस्फोट

सन् २०२० को अगस्ट ४ मा लेबनानको राजधानी बेरुतको बन्दरगाहमा भएको विस्फोट इतिहासमै सबैभन्दा ठूलो गैर आणविक विष्फोट मानिन्छ । करिब २ हजार ७ सय ५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटमा परी १ सय ९० जना भन्दा बढीको मृत्यु भएको थियो भने ६ हजार भन्दा बढी घाइते भएको बताइएको छ ।

विस्फोटपछि पनि निकै लामो समयसम्म त्यस क्षेत्रको वातावरण निकै धूमिल, अँध्यारो रह्यो । सामाजिक सञ्जालमा आएका तस्वीरहरुमा धुवाँको मुस्लो देख्न सकिन्छ साथै त्यहाँ भएको व्यापक जनधनको क्षति पनि देख्न सकिन्छ ।

अमेरिका र इरानबीचको टसल

अमेरिकी सेनाले गरेको हवाइ आक्रमणमा परी इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानीको मृत्यु भएपश्चात् अमेरिका र इरानबीचको द्वन्द्व फेरि ब्यूतिएको थियो । सो हमलापछि इरानका सर्वोच्च नेताले बदला लिने भन्दै अमेरिकालाई चेतावनी समेत दिएका थिए । यता अमेरिकाले भने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकी सेनाले अमेरिकाको सुरक्षाका खातिर यो रक्षात्मक कारवाही गरेको बताएको थियो ।

सुलेमानीको मृत्यु भएपछि इरानले ३ दिनसम्मका लागि देशमा राष्ट्रिय शोकको घोषणा गरेको थियो । यस हमलाले तेस्रो विश्व युद्ध निम्त्याउन सक्ने भन्दै सामाजिक सञ्जालमा ‘तेस्रो विश्वयुद्ध’ ट्रेन्डिङमा आएको थियो ।

इतिहास रच्दै जो बाइडेन बने अमेरिकाका राष्ट्रपति

यसै वर्ष भएको अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पलाई पछार्दै प्रजातान्त्रिक पार्टीका जो बाइडेन अमेरिकाका ४६ औँ राष्ट्रपति बनेका छन् ।
उनको जितले इतिहास कोरेको छ किनकी यसपालि अमेरिकी राष्ट्रपति चुनावमा सन् १९०० देखि यताकै सर्वाधिक नागरिकहरुको सहभागिता रह्यो । चुनावमा १५९ मिलियन भन्दा बढी अमेरिकीहरु सहभागी भएका थिए जुन कूल जनसङ्ख्याको ६६.७ प्रतिशत हुन जान्छ ।

जितका लागि संसदमा २७० इलेक्टोरल कलेज भोट आवश्यक पर्नेमा बाइडेनले २८४ भोट ल्याएर विजयी भएका हुन् । उता उनका प्रतिस्पर्धी तथा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले भने २१४ भोट मात्रै ल्याएका थिए ।

सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाका उपराष्ट्रपति रहेका बाइडेन अनुभवप्राप्त राजनीतिज्ञ, विदेशनीतिका ज्ञाता अनि प्रखर वक्तारूपमा परिचित छन् ।

त्यसैगरी उपराष्ट्रपतिका रुपमा विजयी भएकी कमला ह्यारिसले पनि इतिहास रचेकी छिन् । उनी अमेरिकाको इतिहासमा पहिलो अश्वेत र भारतीय मूलकी महिला उपराष्ट्रपति हुन् ।

‘प्यारासाइट’ ले इतिहास रच्दै जित्यो अस्कर अवार्ड

विश्वमै सर्वाधिक प्रतिष्ठित फिल्म पुरस्कारका रुपमा रहेको अस्कर यसपालि दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ ले जितेको छ । वर्षको सर्वोत्कृष्ट फिल्म घोषणा गरिएको प्यारासाइटले जम्मा ४ वटा विधामा अस्कर हात पारेको थियो ।

गैरअङ्ग्रेजी फिल्मले अस्करमा सर्वोत्कृष्ट फिल्मको उपाधि जितेको यो इतिहासमै पहिलो पटक हो ।

फिल्मका निर्देशक बोङ जून–होले प्यारासाइट फिल्मका लागि सर्वोत्कृष्ट निर्देशकको अवार्ड समेत जितेका थिए ।

केही थप घटनाहरुः

सन् २०२० मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पदको दुरुपयोग गरेको भन्दै महाभियोगको आरोप समेत लागेको थियो । उनीमाथि न्यायमा अवरोध पु¥याएको तथा राष्ट्रपतिको चुनावमा आफ्नो हितका लागि यूक्रेनलाई प्रयोग गरेको आरोप लगाइएका थिए ।
यस वर्ष भएका थप उल्लेख गर्न योग्य घटनामा ईयूबाट बेलायतको बहिर्गमन पनि पर्दछ । सन् २०२० को जनवरीमा बेलायत आधिकारिक रुपमा यूरोपियन यूनियनबाट बाहिरिएको थियो ।

त्यसैगरी, बेलायतका राजकुमार ह्यारी र उनकी श्रीमती मेघन मार्कलले राजपरिवारको जिम्मेवारीबाट अलग हुने निर्णय यही वर्ष लिएका थिए । उनीहरुले राजपरिवारका वरिष्ठ सदस्यहरुको भूमिका त्यागे पनि महारानी, कमनवेल्थ र आफू संरक्षक भएका संस्थासँग सम्बन्धित कर्तव्य निर्वाह गर्दै महारानी एलिजावेथलाई पनि निरन्तर समर्थन गरिरहेने बताएका थिए ।

नागरिकता संशोधन ऐनका विषयमा उत्तरपूर्वी भारतमा गरिएको विरोध प्रदर्शनमा ५३ जनाको मृत्यु भएको थियो ।
अप्रिलमा उत्तर कोरियाली नेता किम जोङ उन एक विशेष समारोहमा उपस्थित नहुँदा उनको मृत्यु भएको अफवाह फैलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?